
काठमाडौं । भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा शनिबार (जुन ७) दिउँसो एक हेलिकोप्टर सडकमा आपत्कालीन अवतरण गरिएको छ । केस्ट्रेल एभिएसन प्रालिको उक्त हेलिकोप्टर पाँच यात्री लिएर केदारनाथतर्फ जाँदै थियो ।
उडान भरेपछि हेलिकोप्टरमा प्राविधिक गडबडी देखिएको थियो । त्यसपछि पाइलटले हेलिकोप्टर सडकमा उतारेका हुन् ।
घटनाको जानकारी पाउनेबित्तिकै प्रशासनले घटनास्थलमा टोली पठाएको थियो । र, सडकबाट हेलिकोप्टर हटाइएको बीबीसी हिन्दीले जनाएको छ ।
जिल्ला पर्यटन विकास अधिकारी तथा हेली सेवाका नोडल अधिकारी राहुल चौबेले भने, “केस्ट्रेल एभिएसन प्राइभेट लिमिटेडको एक हेलिकोप्टर बडासूस्थित बेसबाट केदारनाथ धामका निम्ति पाँच यात्रीका साथ टेकअफ गरिरहेको थियो । यहीक्रममा हेलिकोप्टरमा केही प्राविधिक गडबडी भयो ।”
उनले अगाडि भने, “पाइलटले समयमै समस्या महसुस गरे र नजिकै खाली सडक देखेर आपत्कालीन अवतरण गरे । हेलिकोप्टरमा सवार सबै पाँच यात्री सुरक्षित छन् । पाइलटलाई सामान्य चोट लागेको छ ।”
हेलिकोप्टर आपत्कालीन अवतरणका क्रममा सडकमा पार्क गरिएको एउटा कार क्षतिग्रस्त भएको उनले बताए ।