site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रानीमहलमा गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीले के विषयमा छलफल गर्नेछन् ?

पोखरा । प्रसिद्ध ऐतिहासिक पर्यटकीयस्थल पाल्पाको रानीमहलमा बुधबार गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीहरूले छलफल गर्ने भएका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनीका चेतनारायण आचार्यले दुई प्रदेशका हितमा हुने बृहत् विषयमा छलफल गर्नेछन् ।

मुख्यमन्त्रीद्वय भेटेर अन्तर प्रदेशका विषयमा छलफल हुन लागेको पहिलोपटक हो ।

छलफल हुने विषयको तयारीका लागि दुवै प्रदेशका नीति तथा योजना आयोगलाई जिम्मा दिइएको छ । नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाका अनुसार प्रादेशिकत हितका विषयमा छलफल हुनेछ । यसमा कृषि, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रहरू परेका छन् ।

बैठकमा मुख्यमन्त्रीसहित प्रदेशका मन्त्री, मुख्य सचिव, सचिवहरूको समेत बैठकमा सहभागिता हुनेछ । बैठकपछि दुई प्रदेशबीच साझा प्रतिबद्धता घोषणापत्र जारी हुने उपाध्यक्ष देवकोटाले जानकारी दिए ।

दुई प्रदेशलाई नै फाइदा हुने योजनाहरूलाई आगामी बजेटमा ध्यान दिने, कर प्रणाली, राजस्व, रोयल्टी, पर्यटनका क्षेत्रमा पनि छलफल हुनेछ ।

दुवै प्रदेशको बृहत्तर हित गर्ने सहलगानीमा सञ्चालन हुन सक्ने सम्भावित ठूला आयोजनाको पहिचान गर्ने उद्देश्य छलफलको छ । जसमा कालीगण्डकी बहुउद्देश्यीय ताल योजना पनि पर्नसक्ने सम्भावना छ ।

सीमाक्षेत्रमा ताल बनाउने र दुवै प्रदेशले फाइदा लिन सकिने योजनामा छलफल हुने देवकोटाको भनाइ छ । तर, दुई प्रदेशका बीचमा रहेको दुईवटा विवादित विषय चाहिँ छलफलमा विषय प्रवेश नै हुनेछैनन् । गण्डकी प्रदेशले हाल लुम्बिनीमा रहेको सुस्ता गाउँपालिकालाई आफ्नो मान्छ । नवलपुरको यो गाउँपालिका गण्डकीमा नै हुनुपर्छ भनेर गण्डकी प्रदेशसभामा नेकपा एमालेले सरकार बाहिर रहँदा संकल्प प्रस्ताव समेत दर्ता गराएको थियो । यो विषय छलफलमा उठ्ने छैन ।

यसबाहेक दुई प्रदेशको द्वन्द्व बढाउने अर्को आयोजना हो, ‘कालीगण्डकी–तिनाउँ डाइभर्सन’ आयोजना । सर्वोच्च अदालतले यो परियोजना अगाडि बढाउन बाटो खुला गरिदिइसकेको छ । संघीय सरकारको यो महत्त्वाकांक्षी परियोजनामा कालीगण्डकी नदीको बहाव मोडेर तिनाउँमा खसाउने, उक्त पानीलाई जलविद्युत् र सिँचाइमा उपयोग गर्ने उद्देश्य छ ।

गण्डकीको अघिल्लो सरकारले यो परियोजनाको चर्को आलोचना गर्‍यो । कालीगण्डकी तटीय क्षेत्रका पालिकाहरुले समेत यो परियोजनाको विरोध गरे । तर, अहिलेको सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले भने यसबारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । यो विवादित परियोजना पनि दुई मुख्यमन्त्रीको बैठकमा उठ्नेछैन ।

“सुस्ताको विषय र कालीगण्डकी डाइभर्सन आउँदैन । कालीगण्डकीमा बहुउद्देश्यीय ताल बनाउने विषय आउन सक्छ । तिनाउँ र कालीगण्डकी डाइभर्सनमा छलफल हुँदैन,” उपाध्यक्ष देवकोटाले भने ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro