site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन् : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनमा उनले यस्तो बताएका हुन् ।

उनले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै विरोध गरे । ओली दुनियाँलाई ठग्नका निम्ति प्रधानमन्त्री बनेको आरोप समेत उनले लगाए । ओली सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नमा केन्द्रित भएको उनको भनाइ थियो ।

उनले संख्याको मात नदेखाउन पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिए ।

कार्यक्रममा माधव नेपालको भनाइ पढ्नोस्–  
अहिले तपाईंले सुन्नुभयो, अध्यादेशको कुरा । अध्यादेश ६/६ वटा अध्यादेश ल्याइयो । हुन त त्योभन्दा पहिला पनि तपाईंहरूले सुन्नुभयो, एउटा सरकार चलिरहेको थियो, त्यो सरकार रातारात बदलियो । बदल्नुपर्ने कारण के थियो ? त्यसको औचित्य के थियो ? दुईवटा कम्युनिस्ट पार्टी मिलेर सरकार चलाइरहेको अवस्थामा त्यो सरकार हटाउनुपर्ने कारण के परेको थियो ? प्रधानमन्त्री पद नै चाहिएको थियो भने प्रचण्डजीसँग कुरा गरेको भए त्यो पद पनि दिनुहुन्थ्यो कि क्या हो, बार्गेनिङ गरेको भए ! नछोडेको भए हामीलाई पनि भनेको भए, फेरि एउटा प्रधानमन्त्रीको संख्या थप्नु छ भनेको भए, बनाइदिनुस् भनेको भए मान्थ्यौँ होला । त्यही प्रधानमन्त्री बनेर दुनियाँ ठग्नको लागि संविधान संशोधन गर्नु छ भनेर गफै हाँक्ने हो भने त्यो गफको के काम ? अब संविधान संशोधनको विषय पनि ०८७ को विषय बन्यो । अब ०८४ देखि चुनाव हुने कुरा सुनेका छौँ । ०८४ मा चुनाव हुने अनि ०८७ मा संविधान संशोधन गर्ने भनेपछि योबीचको अवधिमा को हुने हो प्रधानमन्त्री ? यसको केही छ जवाफ ? मुखबाट त्यो निस्किएको हो कि नबोल्नुपर्ने कुरा ! अर्थात्, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यो मुलुक सञ्चालन गर्ने कुरामा गम्भीर हुनु हुन्न । उहाँ वास्तवमा देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि होइन, कसरी हुन्छ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने कुरामा केन्द्रित भएर लाग्नुभएको छ । यसले हाम्रो देशको भविष्यलाई बढो संकटग्रस्त बनाएर जाने सम्भावना छ । उहाँहरूले अहिले नयाँ भाष्य ल्याएको छ । नेपालमा दुईवटा ठूला पार्टीको मात्रै उपस्थिति हुनुपर्छ । भन्नुको मतलब दुईदलीय व्यवस्था नेपालमा स्थापित गर्नुपर्छ, बहुदलीय व्यवस्था होइन । त्यसो भए उहाँहरूको एजेन्डा संविधान संशोधन गरेर बहुदलीय होइन, दुईदलीय शासन प्रणाली स्थापित गर्ने कुरा राख्नुभएको छ कि ! हामी त्यो पर्खिएर बसिरहेका छौँ । उहाँहरू त्यो घोषणा गर्न गइरहनुभएको छ भने आउनुस् आउनुस्, सामना हामी गर्दछौँ । संख्याको मात लागेको छ भने हाम्रो छिमेकी देशहरूको घटना हेर्नुस्, सम्झनुस् । संख्याले मात्रै केही गर्दैन, संख्याको मात लाग्यो भने, त्यसको दुरुपयोग गर्नुभयो भने, त्यसको प्रतिकार गर्न जनता उभिन्छन् ।

अध्यक्ष नेपालले नेकपा (एमाले)सँग एकता गर्ने कुनै सम्भावना नरहेको बताए । नेकपा (माओवादी केन्द्र)सँग पनि धेरै विषयमा मतभिन्नता रहेकाले मिल्ने सम्भावना नरहेको उनले उल्लेख गरे । उनले नेता वामदेव गौतम र डा. भीम रावललाई स्वागत गर्न आफूहरू तयार रहेको बताए । न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro