
काठमाडौं । अमेरिकाको चर्चित अखबार द युयोर्क टाइम्सका पत्रकार डेभिड ब्रुक्सले अमेरिकी अर्बपति व्यापारी एलन मस्कलाई विश्व इतिहासका सबैभन्दा ठूलो नरसंहारकर्ताको सूचीमा राख्न सुझाव दिएको छ । उनको यो आरोप मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डोज)ले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)मा गरेका व्यापक सहयोग र कर्मचारी कटौतीलक्षित हो ।
इतिहासका ठूलो नरसंहारकर्ताको सूचीमा पोल पट, माओ र स्टालिन पर्छन् । स्तम्भकार डेभिड ब्रुक्सले भनेका छन्, “ट्रम्प निर्वाचित भएको चार महिनामा ५५ हजार वयस्कको एचआईभी एड्सका कारण मृत्यु भयो । डोजका कारण ६ हजार बालबालिकाको मृत्यु भयो । यो केवल एचआईभीसँग सम्बन्धित पेपफार (पीईपीएफआर)को हो । यी सबै जोड्दा कुल तीन लाख पुग्छ र हामी ट्रम्पको कार्यकालको चार महिनामा मात्र छौँ । यसलाई चार वर्षसम्म जोड्दा मृतकको संख्या धेरै बढ्नेछ ।”
शनिबार ब्रुक्सले पीबीएस न्युज आवर कार्यक्रममा भने, “संसारमा ठूला नरसंहारकर्तामा पोल पट, माओ त्से तुङ, स्टालिन पर्छन् । हामीसँग अमेरिकाको सूचीमा कसैको नाम छैन ।”
मस्कले यूएसएआईडी बन्द गरेकाले उनी ठूलो मात्रामा मृत्युका निम्ति आंशिक रूपमा जिम्मेवार भएको उनले बताए ।
ब्रुक्सले उल्लेख गरेका मृत्यु संख्या बोस्टन विश्वविद्यालयको एक डिजिटल ट्रयाकरले उपलब्ध गराएको हो, जसले अमेरिकी विदेशी सहयोगमा गरिएको परिवर्तनका कारण भएका मृत्युको मोनिटर गर्ने दाबी गर्छ । यो ट्रयाकर ग्लोबल हेल्थ प्रोफेसर ब्रुक निकोल्सले बनाएका हुन् ।
ब्रुक्सलाई न्युयोर्क टाइम्सका थोरै कन्जरभेटिभ आवाजमध्ये एक मानिन्छ । तर, उनी धेरै विषयमा उदारवादी विचार राख्छन् । उनले अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनको प्रशंसा गरेका छन् । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक प्रखर आलोचक पनि हुन् ।
“ट्रम्पवादलाई मानव आत्माको उच्च आकांक्षा काट्ने र हामीलाई आदिम, पूर्वजीय प्रवृत्तिमा फर्काउने ठूलो प्रयासका रूपमा हेर्न सकिन्छ,” ब्रुक्सले हालैको आफ्नो एक लेखमा लेखेका छन् ।
यूएसएआईडी सन् १९६० को दशकको सुरुमा अमेरिकाका तर्फबाट विश्वभर, विशेष गरी गरिब र अविकसित क्षेत्रमा सहयोग पुर्याउन स्थापना गरिएको हो । हाल यो एजेन्सी ६० देशमा सञ्चालित छ । र, करिब १० हजार कर्मचारी छन् । उनीहरूमध्ये दुईतिहाइले विदेशमा काम गर्छन् ।
ट्रम्प प्रशासनले यूएसएआईडीलाई एक भ्रष्ट संस्था भन्दै अमेरिकी करदाताको पैसा गलत तरिकाले खर्च गरेको आरोप लगाएको छ । ट्रम्पले पदभार ग्रहण गरेपछि यूएसएआईडीको रकम जफत गर्दै धेरै कर्मचारीलाई घर पठाइएको थियो । ट्रम्प प्रशासनले अप्रिलमा यूएसएआईडीका ९० प्रतिशत ठेक्का कटौतीको घोषणा गरेको थियो ।
जो रोगनको पोडकास्टमा यू२ ब्यान्डका बोनोले ब्रुक्सले जस्तै दाबी गर्दै भनेका थिए कि यूएसएआईडीको सहयोग कटौतीले तीन लाख मानिसको मृत्यु भएको छ । मस्कले सामाजिक सञ्जालमा त्यसबारे प्रतिक्रिया दिँदै आइरिस रक स्टारलाई मूर्ख भने । र, यूएसएआईडीको सहयोग कटौतीबाट कुनै मृत्यु नभएको बताएका थिए । फक्स न्युजबाट ।