काठमाडौं । पुष्पसदन विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिताको दोस्रो दिन छात्रा एकलतर्फ सेन्ट मेरिज स्कुलकी सुष्मा शाक्य विजयी भएकी छन् ।
कीर्तिपुरस्थित पुष्पसदन सेकेन्डरी बोर्डिङ स्कुलको आयोजनामा भएको प्रतियोगितामा छात्रा एकलतर्फ प्रगती आर्दश इंगलिस स्कुलकी इशानवी मर्हजन दोस्रो हुँदा पुष्पसदनकी मिचुली मर्हजन र लिटिल एन्जल्सकी प्रमिला जोशी तेस्रो भए । यो इभेन्ट्सको राइजिङ प्लेयर ह्वाइट फिल्ड सेकेन्डरी स्कुलकी बिदिसा मर्हजन भइन् ।
पुष्पसदनको आफ्नै टेबलटेनिस कोर्टमा सम्पन्न भएको यू–१३ छात्रतर्फको उपाधि डिलाइट स्कुलका आरंभराज शाक्यले जिते । उनले आफ्नै स्कुलका निर्भिक शाक्यलाई फाइनलमा पाखा लगाउँदै उपाधि जितेका हुन् । यो इभेन्ट्समा पुष्पसदनका सुसन प्रधान र डिलाइटकै आयनराज शाक्यले तेस्रो स्थान हात पारे । यो इभेन्ट्सकाे राइजिङ प्लेयर पारागन पब्लिक स्कुलका सुचन बढा भए ।
यू–१३ उमेर समूहकै छात्रातर्फको उपाधि प्राइम ग्लोबल स्कुलका प्राज्ना महर्जनले जितिन् । उपविजेता फ्युचर स्टार हाई स्कुलका इमरीन मर्हजन भइन् ।
पुष्पसदनका रिसु ज्ञावली र दाईसी मर्हजनले तेस्रो स्थान हात पारे । यो इभेन्ट्सको राइजिङ प्लेयर क्रियटिभ एकेडेमीकी मेलिना मर्हजन भइन् ।
छात्र एकलतर्फ फाइनलमा प्राइम ग्लोबलका सम्भवराज वन्त र मंगल सेकेन्डरी स्कुलका मनुषलाल श्रेष्ठ पुगेका छन् । यसको फाइनल खेल शनिबार हुने पुष्पसदनका इसीए संयोजक राजु लामाले जानकारी दिए । यो इभेन्ट्समा पुष्पसदनका सफल मर्हजन र आइडियल मोडल स्कुलका सोयम मर्हजन तेस्रो भएका छन् । एकल छात्रमा मागुस इंगलिस स्कुलका सक्रिन मर्हजन राइजिङ प्लेयर बनेका छन् ।
शनिबार यू–११ को छात्रातर्फको फाइनल खेलमा पुष्पसदनकी क्रिष्टल भूषाल र प्राइम स्कुलकी यामिला श्रेष्ठ प्रतिस्पर्धा गर्दै छन् ।
द एक्सेल सायरकी सुप्रिया रोका र युवक वुद्ध मण्डलकी मेरिसा श्रेष्ठ संयुक्त रूपमा तेस्रो हुँदा सम्वृद्धि स्कुलकी एन्ड्रि मर्हजन राइजिङ प्लेयर भइन् ।
यसअघि पहिलो दिन प्राइम ग्लोबल स्कुलले वर्चस्व कायम गरेको थियो । छात्र र छात्रा दुवैतर्फको टिम इभेन्ट्समा प्राइम ग्लोबल विजेता भएको थियो । यू–११ छात्रतर्फको उपाधि वृहस्पति विद्यासदनका विनम्र घिमीरेले जितेका थिए । ।
आइडियल मोडल स्कुलका सत्भीक रत्न शाक्य दोस्रो हुँदा डिलाइट किन्डर गार्डेन स्कुलका रुसन शाक्य र केटीएम ग्लोबल स्कुलका कीर्तन श्रेष्ठ तेस्रो भएका छन् । राइजिङ प्लेयर संस्कृति इन्टरनेसनल स्कुलका संस्कार रत्न बज्राचार्य भए ।
बिहीबारदेखि सुरु प्रतियोगितामा ३० वटा विद्यालयका २३० विद्यार्थीले सहभागिता जनाएका छन् । विजेताले ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।