site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आगामी भदौदेखि यस्तो हुनेछ सुर्तीजन्य पदार्थको प्याकेट
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ निर्देशिका जारी गरेसँगै सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश र तस्बिर छाप्नुपर्ने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी, पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१ स्वीकृत गरेसँगै नयाँ व्यवस्था लागु हुने भएको हो ।

यसअघि, सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र तस्बिर छाप्नुपर्ने व्यवस्था थियो । तर, अब ०८२ भदौ १ गतेदेखि शतप्रतिशत चेतावनीमूलक सन्देश र तस्बिर छाप्नुपर्नेछ ।

क्यान्सरको उपचारमात्र नभई रोकथामका उपायको खोजी गर्न चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

शतप्रतिशत चेतावनीसहित छापिनुपर्ने निर्देशिकाले सुर्ती–चुरोटका प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगहरूमा कमी हुने मन्त्रालयको अपेक्षा छ । 

अब कस्तो चित्र र सन्देश छापिन्छ ?

निर्देशिका अनुसार, घातक रंगीन चित्र तथा सन्देशमूलक चेतावनीहरू चुरोट, बिँडी , खैनी, सुर्ती र गुट्खामा छाप्नुपर्नेछ । यो व्यवस्था तिनका बट्टा, प्याकेट, र्‍यापर्स, पेटी, पार्सल र प्याकेजिङमा लागु हुनेछ ।

नयाँ निर्देशिकामा चुरोटको बट्टा, र्‍यापर्स, प्याकेटमा मुख्य अर्थात् अगाडिको भागमा घाँटीको क्यान्सर झल्काउने चित्र थप गरिएको छ । जसमा ८० प्रतिशत चित्र र बाँकी २० प्रतिशत भागमा 'धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले घाँटीको क्यान्सर हुन्छ' लेखिएको हुनुपर्छ ।

यस्तै, ८० प्रतिशत घातक चित्रको ठाउँमा यसअघि प्रयोग भएका अपांगता भएको शिशु, हृदयघात, मुखको क्यान्सर, फोक्सोको क्यान्सर देखाउने चित्र नै छाप्ने निर्देशिकामा उल्लेख छ ।

यी चित्रसँगै २० प्रतिशत भागमा 'धूम्रपान तर्था सुर्ती सेवनले कम तौल भएको अपांगता भएको वा मरेको बच्चा जन्मन्छ', 'धूम्रपान तथा सुर्ती सेवनले हृदयघात हुन्छ', 'धूम्रपान तथा सुर्ती सेवनले फोक्सोको क्यान्सर हुन्छ’ भन्ने सन्देश लेख्नुपर्नेछ ।

यस्तै, प्याकेटमा 'धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले मुखको क्यान्सर हुन्छ’ भन्ने सन्देश पनि २० प्रतिशत भागमा उल्लेख गर्नुपर्नेछ ।

बिँडीको बट्टा, प्याकेट र र्‍यापर्समा मुख्य अर्थात् अगाडिको भागमा घाँटीको क्यान्सर झल्काउने चित्र ८० प्रतिशत र सन्देश २० प्रतिशत भागमा 'धूम्रपान तथ सुर्तीजन्य पदार्थको सेवनले घाँटीको क्यान्सर हुन्छ' लेख्नुपर्नेछ ।

यस्तै, अपांगता भएको शिशुको चित्रसहित 'धूम्रपान तथा सुर्ती सेवनले कम तौल भएको अपांगता भएको वा मरेको बच्चा जन्मन्छ' लेख्नुपर्नेछ । 

खैनी सुर्ती, गुट्खाजस्ता सुर्तीजन्य पदार्थको बट्टा प्याकेट र र्‍यापर्समा अगाडि र पछाडिको ६० प्रतिशतमा मुख र घाँटीको क्यान्सर झल्काउने तस्बिर छाप्नुपर्नेछ ।

त्यसको माथि २० प्रतिशत भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, यसको सेवनले ज्यान लिन्छ' लेख्नुपर्नेछ । यस्तै, पछाडिको १० प्रतिशत भागमा 'सुर्तीजन्य पदार्थ सेवनले मुख तथा घाँटीको क्यान्सर हुन्छ, सुर्ती सेवन छोडौँ' भन्ने सन्देश लेखेको हुनुपर्छ ।

प्याकेटको दायाँबायाँको भागमा 'धूम्रपानमा नाइट्रोसोमाइन र बेन्जोपाइरिनजस्ता क्यान्सरको कारक तत्वहरू हुन्छन्, धूम्रपान गर्न छोडौँ' भन्ने सन्देश राखिएको हुनुपर्छ । 'धूम्रपानमा हुने निकोटिन टार, काबर्नमनोक्साइडले मुटु र फोक्सोको रोग लाग्छ धूम्रपान गर्न छोडौँ' भन्ने सन्देश पनि उल्लेख गर्नुपर्नेछ । यस्तै, १० प्रतिशत भागमा उत्पादकको नाम ठेगाना उल्लेख गर्नुपर्नेछ ।

पछाडिपट्टिको तल्लो भागमा सुर्तीजन्य पदार्थमा भएको निकोटिनको मात्रा, ब्रान्ड र उत्पादन मिति उल्लेख गर्नुपर्नेछ । सुुर्तीजन्य पदार्थको पेटी, पार्सल र प्याकेजिङमा पनि सोही प्रकृतिको चित्र र सन्देश राख्नुपर्नेछ । सन्देश नेपाली भाषामा चित्र नछोपिने गरी, स्पष्ट लेखिएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिका अनुसार, सुर्तीजन्य पदार्थको प्रवर्धन हुने गरी लेबलिङ वा प्याकेजिङ गर्न पाइने छैन । हल्का, अति हल्का, मध्यम, कम टार, सुरक्षित पातलोजस्ता कुनै पनि शब्द वा यस्तै अर्थ लाग्ने चित्र, चिह्न लेबलिङमा राख्न पाइने छैन ।

हेर्नुहोस् निर्देशिका

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro