काठमाडौं । चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको मुद्दामा गोरखा मिडियाका सञ्चालकहरू रवि लामिछानेबाहेक तीनजनालाई मात्र संगठित अपराधमा मुद्दा चलेको छ । ३२ व्यक्ति र क्षतिपूर्ति प्रयोजनका लागि ६ कम्पनीलाई प्रतिवादी बनाएर मंगलबार जिल्ला सरकारी वकिल कार्यालय चितवनले अदालतमा मुद्दा दायर गरेको हो ।
जिल्ला अदालतमा दायर मुद्दामा साहारा चितवनका बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा गार्खा मिडिया नेटवर्क प्रालिका तीनजना सञ्चालकहरू अध्यक्ष जीबी राई र सञ्चालकहरू छविलाल जोशी र कुमार रम्तेलविरुद्ध मात्र सरकारी संगठित अपराधको मुद्दा चलाइएको हो । प्रहरीले भने अरु तीनजनासहित लामिछानेलाई पनि संगठित अपराधमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन बुझाएको थियो ।
प्रहरी अनुसन्धान प्रतिवेदनले साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा १० करोड ८० लाख एक हजार १५१ रुपैयाँ गएको देखाएको छ । उक्त रकम चार सेयर सदस्यलाई दामासायीले हुनेगरी बिगो तोकिएको छ । जिल्ला न्यायाधिवक्ता शान्तिराज लुईंटेलका अनुसार प्रतिवादी बनाइएको ६ कम्पनीमध्ये एकभन्दा बढी कम्पनीमा सञ्चालक रहेकाहरूलाई मात्र संगठित अपराधमा मुद्दा चलाउने मापदण्ड बनाएर अभियोजन गरिएको हो । त्यही मापदण्डका आधारमा लामिछानेविरुद्ध संगठित अपराधमा मुद्दा नचलेको उनको भनाइ छ ।
“रविजीको हकमा उहाँ गोर्खा मिडियामा मात्र सञ्चालक रहेको देखिएकाले संगठित अपराधमा मुद्दा नचलाइएको हो,” लुईंटेलले बाह्रखरीसँग भने, “गोरखा मिडियाका अन्य तीनजनाविरुद्ध मापदण्डमा परेकाले संगठिन अपराधमा मुद्दा चलेको हो ।”
उनीहरू तीनजनासहित दुई वा सोभन्दा बढी संस्थामा सञ्चालक रहेका १२ जनाविरुद्ध संगठित अपराधमा मुद्दा दर्ता भएको जानकारी दिए । जीबी राईसहितका १७ जनाविरूद्ध गत असोज ८ गते नै मुद्दा दर्ता भई विचाराधीन छ । सरकारी वकिल कार्यालयले थप अनुसन्धानका गरी पूरक अभियोजन गर्ने प्रतिबद्धता त्यसबेला नै जाहेर गरे अनुरुप पूरक अभियोजन गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले लामिछानेसहित थप १५ जना र ६ वटा कम्पनीसहित पूरक अनुसन्धानको प्रतिवेदन बुझाएको थियो । साहारा चितवनको ५२ करोड ३२ लाख ८५ हजार अपचलन भएकोमा अधिकांश रकम गोरखा मिडिया, नेचर हब्र्स इन्टरनेसनल प्रालि, जीबी ग्रुप अफ कम्पनी, स्प्रिङ उड रियल स्टेट र नेचर नेस्ट प्रालिमा गएको भेटिएको छ ।