site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघका कारण प्रदेशले जनअपेक्षा अनुरुपको काम गर्न सकेन : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारका कारण जनताको अपेक्षा अनुरुपको काम गर्न नसकिएको बताएका छन् ।

गण्डकी प्रदेश स्थापनाको आठौँ वर्ष प्रवेश कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संघसँग अहिले पनि जुधिरहनुपर्ने अवस्था रहेको बताए ।

“संघीय शासन व्यवस्थाको सबलीकरणका लागि गण्डकी प्रदेश सरकारले सुरुदेखि नै अगुवाइ गर्दै आएको छ । गण्डकी प्रदेश सरकारको अग्रसरतामा राष्ट्रिय समन्वय परिषद् र अन्तरप्रदेश मुख्यमन्त्रीको पहिलो बैठक २०८० असारमा पोखरामा भयो । जसमा प्रहरी समायोजन, वित्तीय समानीकरण, निजामती कर्मचारी ऐन, विद्यालय शिक्षा ऐन, जग्गा प्राप्तिलगायत विषयमा साझा धारणा तय भएको थियो । तर कार्यान्वयनमा खाशै प्रगति हुन सकेको छैन । जसका कारण जनअपेक्षा अनुरुप कार्य गर्न कठिनाइ रहेको छ ।” उनले भने ।

नागरिकका चाहना असीमित रहेको तर प्रदेशको स्रोत साधन सीमित रहेको उनले बताए । संविधानले दिएको अधिकार पनि संघले नदिएको संकेत उनले गरे ।

“सीमित स्रोत र साधनको दायरमा रही नागरिकका असीमित चाहना पूरा गर्न त्यति सहज छैन । तर पनि प्राथमिकता निर्धारण गर्दै समन्यायिक विकासलाई गण्डकी प्रदेशले जहिल्यै प्राथमिकतामा राखेको छ,” मुख्यमन्त्री पाण्डेले भने, “यो सात वर्षको अवधिमा भौतिक र कानुनी आधार निर्माण गर्दै अधिकारका लागि संघ सरकारसँग जुधिरहनुपरेको छ ।”

गण्डकी प्रदेशबाट ७२ कानुन २५ नियमावली र मापदण्ड जारी भइसकेको र कानुनी तथा सांगठनिक पूर्वाधारको स्वरुप निर्माण भएको उनले बताए ।

मुख्यमन्त्री पाण्डेले दोस्रो पञ्चवर्षीय योजनामा सरकारले प्रादेशिक विकास तथा रूपान्तरणका १४ प्रमुख क्षेत्रको पहिचान गरी कार्यान्वयनमा ल्याइएको बताए ।

“गण्डकी प्रदेशको पहिलो योजनाको सिकाइ र भोगाइलाई केन्द्रविन्दुमा राखेर तर्जुमा गरिएको यस योजनाले राष्ट्रिय कार्यभारका अतिरिक्त प्रदेशको प्राथमिकता र आवश्यकताप्रति स्पष्ट मार्गचित्र पहिचान गरेको मैले ठानेको छु,” उनले भने ।

प्रदेशमा जनशक्ति व्यवस्थापन सुधारका लागि प्रदेश किताबखाना बनाइएको र स्थानीय तह समेतको पद दर्ता र कर्मचारी संकेत नं. सहितको अभिलेख व्यवस्थित गर्ने काम थालनी भएको उनले जानकारी दिए । प्रदेश लोकसेवा आयोगमार्फत हालसम्म तीन हजार जनशक्ति सिफारिस भई पदपूर्ति गरिएको उनले बताए ।

गण्डकी प्रदेशसभा बैठक तत्कालीन नगर उपत्यका विकास समितिको कार्यालयमा भइरहेको छ । प्रदेश सरकारले नयाँ प्रदेशसभा भवन बनाउने भनेता पनि त्यसको थालनी भएको छैन । यही वर्षदेखि उक्त भवन निर्माण प्रक्रिया सुरु हुने उनले बताए ।

“लामो समयदेखि अन्योलमा रहेको प्रदेशसभा भवन निर्माण प्रक्रिया यस वर्षदेखि सुरु गरिएको छ । प्रदेश सरकारले चालु वर्ष विनियोजन गरेको बजेटबाट ठेक्का सम्झौता भई प्रदेशसभाको भवन निर्माण प्रक्रिया अघि बढेको जानकारी गराउन चाहन्छु,” मुख्यमन्त्री पाण्डेले भने ।

 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro