काठमाडौं । चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका आरोपीमाथि मुद्दा दायर भएको छ । कास्की, काठमाडौं र रूपन्देही जिल्ला अदालतपछि चितवनको साहारा सहकारी ठगी प्रकरणमा लामिछानेमाथि मुद्दा दायर भएको हो ।
चितवनमा रविविरुद्ध ठगी मुद्दा दर्ता भएको हो । अन्य अदालतमा भने संगठित अपराध मुद्दा दायर भएको थियो । ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईसहितलाई भने संगठित मुद्दा दायर भएको छ ।
अदालतमा दायर अभियोगपत्रमा सहकारीमा बचतकर्ताले राखेको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ आएको खुलेको छ ।
त्योबाहेक जीबीको अन्य विभिन्न कम्पनीमा समेत रकम आएको देखिएको छ । रविबाहेक चितवनको साहारा सहकारीबाट रविकी श्रीमती निकिता पौडेल र गोपीकृष्ण मुभी कम्पनीमा समेत रकम आएको देखिएको छ ।
निकिताको खातामा ५९ लाख ३८ हजार २५१ र गोपीकृष्ण मुभीको खातामा ८१ लाख २५ हजार रुपैयाँ खाएको खुलेको हो ।
चितवनको साहारा सहकारीमा कुल ४२ जनालाई प्रतिवादी बनाइएको छ । पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी र रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने धरौटीमा छुटिसकेका छन् ।