काठमाडौं । बक्स अफिस इन्टरनेशनल ग्रुपले माघ २५ र २६ गते ओपन च्यालेन्ज फिल्म फुटबल कप, सेभेन–ए साइड फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ ।
बिहीबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलनको आयोजना गर्दै बक्स अफिसका अध्यक्ष आरके सुवेदीले टुर्नामेन्टमा ४६ टिमले सहभागिता जनाउने जानकारी दिए । प्रत्येक वर्ष हुँदै आएको यो प्रतियोगिता यस वर्ष फिल्म फेयर अवार्डको प्रवर्द्धन अभियानको रूपमा आयोजना गरिएको हो । यस वर्ष फिल्म फेयर अवार्ड फागुन २८ गते हुनेछ ।
सुवेदीका अनुसार यस खुला प्रतियोगिता जुनसुकै टोलीले सहभागिता जनाउन सक्नेछ र नकआउट ढाँचामा खेलाइनेछ । प्रतियोगिता महांकाल, बौद्धस्थित एलिट फुटसलमा आयोजना हुनेछ । कार्यक्रममा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र फेयर प्ले टिमलगायत १४ वटा व्यक्तिगत पुरस्कार वितरण गरिनेछ ।
विजेताले एक लाख एक हजर १०० रुपैयाँ र उपविजेताले ५१ हजार ५५० रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमको अनुमानित लागत पाँच लाख रुपैयाँ रहेको छ ।
प्रतियोगिताका दौरान फिल्म फेयर अवार्ड ३२ मनोनयनमध्येबाट उत्कृष्ट पाँच मनोनीतलाई पनि टूर्नामेन्टको समापन समारोहमा सम्मान गरिनेछ । यसैबीच, पोखरामा हालै सम्पन्न भएको सर्ट फिल्म फेस्टिवल विजेताहरूलाई पनि टुर्नामेन्टकै दौरान ट्रफी प्रदान गरिनेछ ।