काठमाडौं । टिप टप इन्डो नेपाल एकेडेमी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि टिपटप डीएभी क्रिकेट एकेडेमीले जितेको छ ।
मूलपानी (तल्लो) मैदानमा सम्पन्न फाइनलमा टिपटप डीएभी क्रिकेट एकेडमीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई ३४ रनले पराजित गरेको हो ।
दोस्रो इनिङमा १४० रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयन क्रिकेट एकेडेमीले १९ ओभरमा १०५ रनमा सबै विकेट गुमायो ।
ग्रेट हिमालयका सुप्रिम सुनारले सर्वाधिक ६१ रन बनाए । जुन क्रममा उनले ४९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । अभि थपलियाले ११ तथा प्रवल श्रेष्ठले १० रन बनाए ।
डीएभीको बलिङमा प्रसिद्ध जैसीले सर्वाधिक तीन विकेट लिए जुन क्रममा चार ओभरमा २८ रन खर्चिए । केशव अग्रवाल र तनिश्क कुमार शाहले समान २ विकेट लिए । कमल शाही र प्रसंग पौडेलले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको टिपटप डीएभीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
डीएभीको ब्याटिङमा ओपनर श्रेयश अग्रवालले सर्वाधिक ३९ रन बनाए । प्रसंग पौडेलले ३३, प्रसिद्ध जैसीले ३१ रन बनाए । कमल शाहीले अविजित १३ रन तथा कप्तान आरुष झाले ११ रन योगदान दिए ।
ग्रेट हिमालयको बलिङमा वंश क्षेत्री र सामिप्य सापकोटाले समान २ विकेट लिए ।
अलराउन्ड प्रदर्शन गरेका डीएभीका प्रसिद्ध जैसी फाइनलको प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा उत्कृस्ट ब्याटर ग्रेट हिमालय क्रिकेट एकेडेमीका वंश क्षेत्री घोषित भए । उत्कृस्ट बलर ग्रेट हिमालय क्रिकेट एकेडेमीका सामिप्य सापकोटा तथा उदयमान खेलाडी अभिषेक कडायत घोषित भए । यस्तै, उत्कृष्ट विकेटकिपर बोलपुर युथ टाउन क्लब, बंगाल भारतका अत्रिजो रोय घोषित भए ।
विजेता खेलाडीहरूलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशनकुमार सिंहले पुरस्कार प्रदान गर्नु भयो ।
डीएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा माघ १६ गते देखि सुरु भएको प्रतियोगितामा कुल ६ टिम सहभागी रहेका थिए । टिपटपको मुख्य प्रायोजन रहेको प्रतियोगितामा १६ वर्ष मुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाए ।