काठमाडौं । हेफर इन्टरनेशनल नेपालले ‘अनलकिङ इम्प्याक्ट इन्भेस्टमेन्ट इन एग्रिबिजनेस फर नेपाल’ कार्यक्रम आयोजना गरेको छ । महिला नेतृत्वमा रहेका सहकारी संस्था र लघु तथा मझौला उद्यम (एसएमई)लाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।
नेपालको कृषि क्षेत्रको लगानी बढाउन सरकार, वित्तीय संस्था, नीति निर्माता र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू छलफल भएको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टले कृषि क्षेत्रमा नीतिगत सुधार र इम्प्याक्ट इन्भेस्टमेन्टको महत्त्व बुँदागत रूपमा राखेका थिए । उनले कृषिलाई आर्थिक विकासको मुख्य धारा बनाउन सार्वजनिक–निजी साझेदारी बढाउनु आवश्यक रहेको बताए ।
साना किसानहरूको उन्नतिले नेपालको कृषि क्षेत्र र अर्थतन्त्रको निर्माण हुनसक्ने हेफर नेपालका कन्ट्री निर्देशक डा. तीर्थराज रेग्मीले बताए ।
हिमालयन बैंकका प्रमुख अशोक राणाले ब्लेन्डेड फाइनान्स मोडेलबाट साना किसानलाई ऋण पहुँच गराउन बैंक तयार रहेको बताए । एएनडीइकी क्षेत्रीय निर्देशक सुचरिता कामतले जलवायु परिवर्तनको चुनौतीमा कृषि उद्यमलाई अनुकूल बनाउन निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको बताइन् । कार्यक्रममा सहभागी विशेषज्ञहरूले नेपालले कृषि क्षेत्रमा इम्प्याक्ट इन्भेस्टमेन्ट बढाउन कृषि उद्यमलाई बैंक तथा निवेशकको लागि आकर्षक बनाउन प्रशिक्षण र बजार व्यवस्था गर्नुपर्ने बताए ।