site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तारविहीन भयो पोखरा, भूमिगत प्रणालीमार्फत विद्युत् आपूर्ति थालियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पर्यटकीय नगरी पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति सुरु गरेको छ । पहिलो चरणमा पोखराको कुँडहर १३२/११ केभी सबस्टेसनदेखि पश्चिमतर्फ अमरसिंह चोक, बुद्धचोक हुँदै सेती नदी पुलखण्डसम्मको वितरण लाइन भूमिगत गरी त्यस क्षेत्रका करिब ३०० ग्राहकलाई विद्युत् आपूर्ति गरिएको हो ।

मुग्लिङ–पोखरा सडक विस्तार आयोजनासँगको समन्वयमा प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत गरी त्यहाँस्थित जमिनमाथिको (ओभरहेड) लाइन र पोलहरू हटाइएको छ । त्योसँगै गुजुल्टिएको तारले बनाएको कुरूपता हटी उक्त क्षेत्र सुन्दर देखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वितरण प्रणाली भूमिगत बनाउने कार्यको अनुगमन गरी काम सम्पन्न भएको क्षेत्रमा क्रमशः विद्युत् आपूर्ति गर्न र ओभरहेड संरचना हटाउन निर्देशन दिएका छन् । उनले पोखराका मुख्य पर्यटकीय क्षेत्र लेकसाइड, एयरपोर्टलगायत स्थानमा भइरहेको कामको अनुगमन गरेका थिए ।

महानगरपालिका, सडक कार्यालयलगायत निकायसँग समन्वय गरी लेकसाइडको बाँकी काम तत्काल सम्पन्न गरी भूमिगत प्रणालीमार्फत विद्युत आपूर्ति गर्न प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय प्रमुख र आयोजनालाई कार्यकारी निर्देशक घिसिङले निर्देशन दिए ।

पोखरा वितरण केन्द्रअन्तर्गत पर्ने पोखराका मुख्य सहर तथा सडकमा रहेका ११ केभी एवम् ४०० भोल्ट लाइनलाई भूमिगत गर्ने र उक्त क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ । हालसम्म पोखरा क्षेत्रको समग्र निर्माण प्रगति ५४ प्रतिशत रहेको आयोजना प्रमुख आनन्द सुवेदीले जानकारी दिए ।

लेकसाइडस्थित अधिकतम स्ट्रिट क्षेत्रमा काम सम्पन्न भएकाले अब त्यहाँ पनि छिट्टै भूमिगत प्रणालीमार्फत विद्युत् आपूर्ति गरिने प्रमुख सुवेदीले बताए ।

विद्युतीय तारसँगै अप्टिकल फाइबर बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवाप्रदायकले त्यसको प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् । ओभरहेडभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको चालो हटी सौन्दर्य कायम राख्न सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।

हावाहुरी, पानी, चट्याङका कारणले विद्युत् प्रणालीमा अवरोध नहुने हुँदा यसबाट प्रदान गरिने बिजुली भरपर्दो, गुणस्तरीय र सुरक्षित हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro