गण्डकी । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा सूचना प्रविधि (आईटी) महोत्सवको उद्घाटनका अवसरमा मिथिलाको झिझिया नाचबाट गरिएको स्वागतलाई यहाँका स्थानीयले बिर्सेका छैनन् ।
यही माघ १० गतेदेखि पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा थारू र भोजपुरी नृत्यप्रति स्थानीयको विशेष आकर्षण थियो । महोत्सव किनमेलको गन्तव्य पनि बनेको थियो । महोत्सव सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकासले ल्याएको क्रान्ति झल्काउने आईटी उपकरण अवलोकन गर्ने थलो बनेको छ ।
महोत्सवमा मधेस प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले राखेको ‘घुमौँ मधेसः बुझौँ मधेस’ कक्ष मधेसलाई बुझ्न महत्त्वपूर्ण बनेको छ । हरेक दिन महोत्सवका सहभागी करिब पाँच सय जनासम्मले यस कक्षमा आएर मधेस प्रदेश र यहाँको धार्मिक एवं पर्यटकीय गन्तव्यबारे बुझ्ने गरेको ‘घुमौँ मधेस, बुझौँ मधेस’ अभियानका संयोजक विकासकुमार ठाकुरले बताए ।
सहभागी जिज्ञासुलाई संयोजक ठाकुर, चन्द्रपुर उद्योग वाणिज्य संघका अध्यक्ष उदय सापकोटालगायतले मधेस प्रदेशको पर्यटन, त्यहाँको वास्तविकताका साथै मधेसीहरूले गर्ने न्यानो आतिथ्यता आदिबारे जानकारी गराएका छन् ।
मधेस प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ पर्यटनको राजधानी पोखरामा जारी महोत्सवका अवसरमा ‘घुमौँ मधेसः बुझौँ मधेस’को प्रवर्द्धनात्मक कक्ष राखिएको संयोजक ठाकुरले बताए ।
प्रवर्द्धनात्मक सामग्रीका रुपमा महोत्सवका सहभागीलाई मधेस प्रदेशका पर्यटकीय गन्तव्यबारे सचित्र जानकारी समेटिएको पुस्तिका वितरण गरिएको छ । पुस्तिकामा प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिरसहितका धार्मिक महत्वका स्थलबारे जानकारी गराइएको छ । रासस