काठमाडौं । त्रिदेशीय महिला क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाली टिमले नेदरल्यान्ड्सबाट १५८ रनको लक्ष्य पाएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको डच टोलीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको हो ।
नेदरल्यान्ड्सकी राविन रिकेले सर्वाधिक ५९ रन बनाइन् । अविजित रहेकी रेकीले ४८ बलमा आठ चौका प्रहार गरिन् ।
हिथर सिगर्सले १९ बलमा एक चौका र एक छक्कासहित २३ रन बनाइन् । ओपनर स्टेरे कालिसले २९ रन थपिन् । इरिस ज्विलिङले १३ बलमा पाँच चौकासहित ३१ रन जोडिन् ।
नेपालकी कविता कुवँर, पूजा महतो, ईश्वरी विष्ट र सीता रानामगरले समान एक विकेट लिइन् ।
ट्वान्टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपाल र नेदरल्यान्ड्सबीचको यो पहिलो खेल हो । आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्ससँगै थाइल्यान्डको सहभागिता छ ।
प्रतियोगिताका सबै खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तालिका छ । प्रतियोगिताका निम्ति दर्शकलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।