site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धर्मभक्तले राणा शासकसँग माफी मागेका थिए त ?

काठमाडौं । राणा शासनको विरोध गरेको आरोपमा १९९७ को माघमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई फाँसीको सजाय दिइयो ।

इतिहासका विवरण अनुसार, यी चार सहिदमध्ये शारीरिक रुपमा सबैभन्दा बलिया थिए, धर्मभक्त माथेमा । भारतको कलकत्तामा व्यायाम (जिम) प्रशिक्षण लिएका माथेमा राजा त्रिभुवनका पनि जिम शिक्षक थिए ।

उनी कलकत्तामै रहँदा शारीरिक सुगठनमा बंगाल च्याम्पियन पनि भएको इतिहासकारहरूले लेखेका छन् । धर्मभक्त उनी कति बलिया थिए भन्ने कुराको विवरण प्राध्यापक भवेश्व पंगेनीको किताब ‘सन्दर्भ शहीद धर्मभक्त चर्चा भाइ ध्रुवभक्त’ किताबमा लेखिएको छ ।

Dabur Nepal
NIC Asia

१९९० सालको घोडेजात्रामा आफ्नो शारीरिक सुगठन देखाएर माथेमाले टुँडीखेलका दर्शकलाई चकित पारेको पंगेनीले किताबमा लेखेका छन् । पंगेनीले धर्मभक्त माथेमाको तागतबारे लामै वर्णन गरेका छन् । 

पंगेनीले किताबमा लेखेका छन्, “खर्पन बोक्ने ज्यापुले जस्तै मोटो, लामो एउटा डन्डी आफ्नो काँधमा दुवैतिर बराबर हुनेगरी सन्तुलन मिलाई अड्याए । डन्डीको दुवै छेउमा तीन–तीन, चार–चार जना मान्छे झुण्डिएर बस्न लगाई जुरुक्क उचालेर आफू पनि उफ्रिउफ्री देखाए । त्यतिकैमा डन्डी बाङ्गिइहाल्यो ।”

यतिमात्र होइन धर्मभक्तले घोडेजात्राकै दिन टुँडीखेलमा ‘आफ्नो छातिमा घन ठोक्न’ लगाएका थिए । ‘सैनिकलाई बुटले छातिमा हान्न’ लगाएको । ‘फलामको डन्डी काँधमा राखेर बंङ्ग्याएको’ । ‘दौडिरहेको गाडी पनि पछाडिबाट समातेर रोकेको’ विवरण सविस्तार पंगेनीले किताबमा लेखेका छन् ।

धर्मभक्तको माफी प्रसंग

तर, यति बलिया, तागतिला धर्मभक्त माथेमाले आफूलाई मार्नुअगाडि राणा शासकसँग माफी मागेको विवरण इतिहासकार र प्रत्यक्षदर्शीले उल्लेख गरेका छन् ।

धर्मभक्त माथेमा २ कात्तिक १९९७ मा पक्राउ परेका थिए । उनलाई पक्राउ गर्न तत्कालीन प्रहरी प्रमुख नरशमशेर गएका थिए । पक्राउ परेको तीन महिनापछि १० माघमा सिंहदरबारको आँगनमा सजाय सुनाइयो ।

धर्मभक्तले राणाहरूसँग माफी मागेको कुरा पहिलोपटक दमनराज तुलाधरको किताबमार्फत सार्वजनिक भएको थियो । २०३९ मा प्रकाशित तुलाधरको आत्मकथामा धर्मभक्तले माफी मागेको उल्लेख छ ।

तुलाधर पनि १९९७ मा राणाविरोधी अभियानमा लागेको अभियोगमा पक्राउ परेका थिए । धर्मभक्त २ कात्तिक १९९७ मा पक्राउ परेका थिए तुलाधर १८ कात्तिकमा पक्राउ परेका थिए । 

सजाय सुनाइने दिन १० माघमा धर्मभक्तले माफी मागेको भन्दै तुलाधरले लेखेका छन्, “सर्वप्रथम शुक्रराजलाई अगाडि उभ्याईयो । ज्यान सर्वस्व भन्ने फैसला भयो । शुक्रराज शास्त्रीले ‘ॐ शान्ति’को आवाज निकाली मौन भए । अनि धर्मभक्तको पालो आयो । उनलाई पनि ज्यान सर्वस्व सुनाइयो । उनी भुइँमा लडीबुडी खेल्दै ज्यान नजाओस् भनी रुन थाले । त्यो देखी जुद्धशमशेरले ‘कसुर गर्ने तेरो हक, सजाय दिने हाम्रो अधिकार’ भने ।” 

धर्मभक्तले माफी मागेको कुरा लेख्ने तुलाधर एक्ला होइनन् । धर्मभक्तले माफी मागेको कुरा नरशमशेरले पनि लेखेका छन् । शाश्त्री, माथेमा, चन्द र श्रेष्ठ चारै जनालाई फाँसी दिने कामको नेतृत्वकर्ता उनै नरशमशेर थिए । हेमन्त शमशेर राणाले लेखेको ‘जनरल नरशमशेर जंगबहादुर राणाको जीवनी (उहाँकै जुवानी)’मा नरशमशेरले धर्मभक्तले आफूसँग ‘ज्यानको बक्सिस’ मागेको कुरा लेखेका छन् ।

नरशमशेरले किताबमा उल्लेख गरेअनुसार, उनको धर्मभक्तसँग घनिष्ट सम्बन्ध थियो । आफ्नी आमाको उपचारका लागि कलकत्ता जाँदा धर्मभक्तको घरमा नै बस्ने गरेका थिए । धर्मभक्तले नै उनलाई व्यायाम सिकाएका थिए ।

धर्मभक्तलाई पक्राउ गर्नुअगाडि नै आफूले उनलाई ‘भगाउन’ संकेत गरेको कुरा पनि नरशमशेरले बताएका छन् । उनको जीवनीमा लेखिएको छ, “मैले अरूलाई नभएपनि धर्मभक्तलाई संकेत दिई उम्काउने विचार गरिरहेकै थिएँ । एकदिन म घोडा चढी बहादुर भवनबाट निस्कँदा नारायणहिटी राजदरबारको ढोकाबाहिर ऊ हातमा छाता लिई निस्किन लागेको देखें । अनि सुस्तरी ऊ हिँडेको बगलबाट घोडा हिँडाई ‘तिमी अझै पनि यहाँ के गरिरहेको हँ ? बुबालाई भेट्न कलकत्ता नजाने ? चाँडै बूढालाई भेट्न जाऊ,’ भने ।”

आफूले संकेत दिँदा पनि धर्मभक्तले नबुझेको नरशमशेरले लेखेका छन् । त्यसपछि  पक्राउ परेर बयान दिने क्रममा धर्मभक्तले आफ्नो घुँडा समातेर दुःखेसो पोखेको नरशमशेरको जीवनमा लेखिएको छ । “केरकार गर्न मेरो सामु उसलाई ल्याउँदा मेरो घुँडा समाई ‘हजुरले मलाई केही दिनअघि नै भाग् भनी संकेत बक्सँदा पनि मैले बुझिनँ’ भनी फलाक्न थाल्यो,” जनरल नरशम्शेर जंगबहादुर राणाको जीवनी (उहाँकै जुवानी)’मा लेखिएको छ ।

धर्मभक्तले बयानका क्रममा भनेका कुरा भने बयानमा नलेखिएको नरशमशेरको दाबी छ । नरशमशेरले आफ्नो जीवनीमा भनेका छन्, “सुब्बा महेन्द्रबहादुरले बयान लेख्ने क्रममा कलम ठप्प रोकी मलाई पुलुक्क हेर्‍यो । मैले आँखा झिम्क्याई ईशारा गरेको उसले बुझिकन धर्मभक्तको सो कुरा बयानमा पारेन ।”

धर्मभक्तले माफी मागेको कुरा इतिहासकार डा. राजेश गौतमले आफ्नो किताब ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा–परिषद्को भूमिका’ मा पनि लेखेका छन् । धर्मभक्तले माफी मागेको कुरालाई थप प्रष्ट विवरणसहित लेख्ने गौतम नै हुन् ।

२०४६ सालमा प्रकाशित उक्त किताबमा डा. गौतमले धर्मभक्तकी फुपुकी छोरी सूर्यलक्ष्मी र धर्मभक्तलाई रुखमा झुन्ड्याउनेमध्येका एकजना लप्टन कृष्णबहादुर थापासँग भएको कुराकानीको हवाला दिँदै धर्मभक्तले माफी मागेको लेखेका छन् ।

डा. गौतमको अनुसन्धान अनुसार, धर्मभक्तले फाँसीको सजाय सुनाइएको दिन, अर्थात् १० माघमा नभई त्यसअघि नै माफी मागेका थिए ।

धर्मभक्तका सम्पूर्ण परिवार भारतको कलकत्तामा थियो । नेपालमा उनी फुपुको घरमा बस्थे । फाँसीको सजाय सुनाएपछि धर्मभक्तलाइ भेट्न उनकी फुपुकी छोरी सूर्यलक्ष्मी गएकी थिइन् । डा. गौतमले किताब लेख्नुअगाडि धर्मभक्तलाई अन्तिमपटक जिउँदै भेट्ने सूर्यलक्ष्मीसँग कुराकानी गरेका थिए । उनले आफ्नो किताबमा सूर्यलक्ष्मीको भनाई राखेका छन् ।

सूर्यलक्ष्मीले गौतमसँग भनेकी छिन्, “हामीहरू भेट्न गयौं । मैले उनलाई (धर्मभक्त) माफी मागेको भए छुट्नेमा किन नमागेको भनि सोध्दा, उनले, ‘मैले माफी मागे तर, दिएनन् । त्यसैले पछि फेरि मैले माफी मागिनँ’ भने ।” सूर्यलक्ष्मीका अुनसार, माफी मागेपछि पनि राणा सैनिकहरूले झन् धेरै कुटपिट गरेको धर्मधक्तले सुनाएका थिए ।

१३ माघको राति धर्मभक्तलाई सिफलमा झुन्ड्याइयो । तर, पहिलोपटक झुन्ड्याउँदा रुखको हाँगा लच्किएर उनको ज्यान गएन । दोस्रोपटक झुन्ड्याउँदा रुखका हाँगा भाँचियो ।

तेस्रो पटक झुन्ड्याउन खोज्दा धर्मभक्तले ज्यान बकस मागेको कुरा डा. गौतमले आफ्नो किताब ‘नेपालको प्रजातिान्त्रिक आन्दोलनमा नेपाल प्रजा–परिषद्को भूमिका’मा लेखेका छन् ।

धर्मभक्तलाई झुन्ड्याउन गएका लप्टन कृष्णबहादुर थापाको हवाला दिँदै डा. गौतमले लखेका छन्, “उभ्याएर फाँसी दिन जमिनमा लगाइएको गाह्रोमा उभ्याइयो र फाँसी लगाइयो । त्यसपछि जमीनमा लगाइयो गाह्रो भत्काइयो तर धर्मभक्त झुन्डिएनन् । रूखको उक्त हाँगा लच्किन पुग्यो र धर्मभक्तले जमिन टेक्न पुगे । यसरी उनलाई झुन्ड्याउने कार्य असफल भयो ।”

दोस्रोपटक झुन्ड्याउँदा रुखको हाँगा भाँचिएको कुरा नरशमशेरले आफ्नो जीवनीमा बताएका छन् । दोस्रोपटक झुन्ड्याउने प्रयास असफल भएपछि धर्मभक्तले माफी मागेको र नरशमशेरले धर्मभक्तको घाँटीको पासो काट्ने क्रममा उनको गाला पनि काटेको कुरा लप्टन कृष्णबहादुर थापाले डा. गौतमलाई सुनाएका छन् ।

गौतमले आफ्नो किताबमा लेखेकाछन्, “फेरि तेस्रोपटक उनलाई (धर्मभक्त) झुन्ड्याउन तयार गर्ने आदेश नरशमशेरले दिए । त्यस्तो अवस्थामा धर्मभक्तले ‘म हजूरको गुरु हुँ, दुई पटकसम्म फाँसीबाट बाँचिसके यस्तो अवस्थामा फेरि फाँसी दिनु न्यायसंगत होइन’ भन्दा नरशमशेरले ‘तँलाई के को न्याय, झन्डै मलाई समेत मुछेको थिइस्’ भनी हातमा लिएको चक्कुले धर्मभक्तको गालादेखि चिउँडोसम्म काटी–दिए ।”

यसपछि रिसाएका धर्मभक्तले नरशमशेरलाई लात्ती हाने । त्यसपछि नरशमशेरले आफ्नो साथमा रहेका सैनिकहलाई धर्मभक्तलाई कुट भनेर आदेश दिए । 

डा. गौतम लेख्छन्, “नरशमशेरले सिपाहीहरूलाई कुट्ने आदेश दिए । त्यहाँ उपस्थित १०–१५ जना सिपाहीहरू सबै मिलेर धर्मभक्तलाई पिट्न थाले । धेरै कुटाई खाएपछि उनी मूर्छा परे । त्यसपछि उक्त रूखको पश्चिमपट्टिको हाँगामा फेरि फाँसीको डोरी झुन्ड्याइयो । मुर्छा परेका धर्मभक्तलाई ८–६ जना सिपाहीहरूले समातेर उभ्याएर फाँसीको डोरी उनको घाँटीमा लगाई तेस्रोचोटि उनलाई झुन्ड्याइयो ।”

टंकप्रसादले सुनाए माफी मागेको कुरा

धर्मभक्तले माफी मागेको कुरा सविस्तार लेख्ने डा. गौतमका अनुसार, उनलाई यो कुरा सबैभन्दा पहिलोपटक प्रजा परिषदका अध्यक्ष टंकप्रसाद आचार्यले सुनाएका हुन् । ब्राह्मण भएकै कारण १९९७ मा आचार्य फाँसीबाट जोगिएका थिए आचार्य । 

डा. गौतम भन्छन्, “२०३८ सालतिर म टंकप्रसाद आचार्यको अन्तर्वार्ता लिन गए । उहाँले त्यतिखेर बोल्दै जाँदा ‘धर्मभक्तले माफी मागेको थियो’ भन्नुभयो । यो कुरा त मेरा लागि बडो महत्वपूर्ण भयो ।”

‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रजा परिषद्को भूमिका’ किताब तयार पार्न डा. गौतमले आचार्यसहित करिब २ सय ५० जनासँग कुराकानी गरेका थिए । डा. गौतम भन्छन्, “त्यसपछि दमनराज तुलाधरको किताबमा पनि त्यो देखियो । अनि मैले धर्मभक्ततलाई अन्तिम पटक भेट्ने उनकी फुपुकी छोरी सूर्यलक्ष्मीसँग पनि अन्तर्वार्ता गरे । उनले पनि माफी मागेको कुरा सुनाइन् ।” यसबाहेक धर्मभक्तलाई झुण्ड्याउन गएका लप्टन कृष्णबहादुर थापासँग पनि डा. गौतमले कुराकानी गरे ।

धर्मभक्तले माफी मागेको लेखेपछि डा. गौतमको आलोचना पनि भयो । उनी सुनाउँछन्, “मैले लेखेपछि यो विषय ठूलो इस्यू भयो । ठूलो विरोध भयो । मैले बाहुन भएर धर्मभक्तले माफी मागेको कुरा लेखेको समेत भनियो ।”

धर्मभक्तले माफी माग्नुको सम्भावित कारण पनि अनुमान गर्छन् डा. गौतम । उनको अनुमान छ, “धर्मभक्त त बालियो मान्छे । पक्राउ गरेपछि राणा सैनिकहरू उनलाई कमजोर बनाउन इजेक्सन, अफिम दिने गरिएको थियो । यहीकारण उनी कमजोर भए । अर्कोतिर जेल परेको मान्छे, जसको जीवनको ठेगान छैन । कुटपिट गरेका छन् । यस्तोमा यतान र दबाबले माफी मागेका हुन सक्लान् ।”

पक्राऊ परेपछि धर्मभक्तलाई इन्जेक्शन दिने गरेको धेरै इतिहासकारहरूले लेखेका छन् । नरशमशेरले पनि आफ्नो जीवनीमा धर्मझक्तलाई फाँसी दिन लरीमा चढाउँदा उनी अर्धचेत अवस्थामा रहेको लेखेका छन् । 

डा. गौतमको विचारमा धर्मभक्तले माफी मागेको कुरा महत्वपूर्ण होइन । 

धर्मभक्तको योगदान र बलिदान महत्वपूर्ण हो । डा. गौतम भन्छन्, “उनले माफी मागेको विषय नभइ उनको योगदानलाई हेर्नुपर्छ । माफी मागेको कुरा इतिहासको एक घटना हो । तर, त्यो  महत्वपूर्ण होइन । यो भन्दा निकै ठूलो कुरा उनको योगदान हो । उनले दिएको बलिदान महत्वपूर्ण हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro