काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एमाले–कांग्रेसको गठबन्धन सरकार पूर्णतरूपमा असफल भएको निष्कर्ष निकालेको छ । माघ ११, १२ र १३ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सातबुँदे सहमतिमार्फत गठन भएको सरकार आफ्नो उद्देश्यबाटै च्युत भएको निष्कर्ष निकालेको हो ।
"भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने, अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायिक वातावरण तयारी गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त रोजगारी सिर्जना गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने, विकास निर्माणलाई तीव्रता दिने काममा सरकार पूर्णतः असफल भएको छ । भ्रष्टाचारजन्य गतिविधि र भ्रष्टाचारीलाई सरकारबाटै संरक्षण प्राप्त हुनु आपत्तिजनक र उदेकलाग्दो छ," राप्रपाले भनेको छ ।
राप्रपाले कांग्रेस र एमाले बहुदलीय व्यवस्थाको मर्मविपरीत बहुदलीय व्यवस्था मासेर दुईदलीय सर्वसत्तावादतर्फ उन्मुख भएको संकेत देखिएको पनि निष्कर्ष निकालेको छ ।
"राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गरेर मुलुकलाई दुईदलीय व्यवस्थातर्फ लैजाने सत्ता पक्षीय नेताहरूको बारम्बारको धम्की एवं हठात् र अनायास संसद्लाई छलेर अध्यादेश ल्याइनु दुईदलीय सर्वसत्तावादको प्रारम्भिक अभ्यासको रूपमा रहेको छ," राप्रपाको निष्कर्ष छ ।