site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्पको कार्यकालसँगै विश्व तरंगित : एक सातामा गरे यस्ता निर्णय

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता एकपछि अर्काे ‘कडा’ निर्णय गरेका छन् । ट्रम्पका निर्णयले अमेरिकाभित्र मात्र नभएर विश्वमा नै असर पार्न थालेको छ ।

गएको नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित ट्रम्पले जनवरी २० मा कार्यभार सम्हालेका थिए । कार्यभार सम्हालेलगत्तै उनले विभिन्न कार्यकारी आदेश जारी गरेका थिए ।

ट्रम्पका सुरुआती निर्देशनले व्यापार, अध्यागमन, अमेरिकी वैदेशिक सहायता, जनसांख्यिकीय विविधता, मानवअधिकारदेखि कर्मचारी भर्नासम्मका मुद्दामा परिवर्तन ल्याएको छ ।

Dabur Nepal
NIC Asia

खासगरी अवैध रूपमा अमेरिका प्रवेश गरिरहेका र लाखौँ आप्रवासीलाई फिर्ता पठाउन ट्रम्प प्रशासनले पूर्ण प्रयत्न गरिरहेको छ । यसबाट विभिन्न देशका हजारौँ नागरिक फिर्ता हुन सक्ने देखिन्छ ।

यसबाहेक ट्रम्पले विदेशी सहायता रोक्न गरेको निर्णयले कैयौँ देशका यस्ता कार्यक्रम खारेज हुन सक्ने देखिन्छ ।

दोस्रोपल्ट राष्ट्रपति बनेपछि एक सातामा यस्ता छन् ट्रम्पले गरेका निर्णय–

आप्रवासन
ट्रम्पले दक्षिणी सीमाबाट आप्रवासीको आगमन रोक्ने, त्यसका निम्ति सेनालाई सीमामा खटाउनेसहित जनवरी २७ देखि लागु हुने गरी शरणार्थी प्रवेश रोक्ने निर्णय गरे ।

आइतबार मात्र अमेरिकाले सेनाका दुई विमानबाट कोलम्बियामा मानिस फिर्ता पठाउने निर्णय ग¥यो । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्ना नागरिकलाई स्वदेश फिर्ता पठाउन अपराधीजस्तो व्यवहार गरेर सैन्य विमान प्रयोग नगर्न भन्दै अवतरण अस्वीकार गरेका थिए । तर, ट्रम्पले कोलम्बियाबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि उनी सहमत भइसकेका छन् ।

यस्तै, ट्रम्पले आमाबुवा अमेरिकी नागरिक नभएको र कानुनी रूपमा नभई अवैध तरिकाले बसेकाका सन्तानलाई जन्मका आधारमा नागरिकता नदिने निर्णय गरे । तर, यो निर्णयलाई अमेरिकी अदालतले असंवैधानिक भन्दै रोकेको छ ।

उनले मेक्सिकोको सीमामा पर्खाल लगाउने कामलाई पनि निरन्तरता दिएका छन् ।

ट्रम्पले महान्यायाधिवक्ता र गृहमन्त्रीलाई ५० वटै राज्यमा संघ र स्थानीय कानुन प्रवर्तकसहितको ‘टास्क फोर्स’ बनाउन निर्देशन दिएका छन् । ती टास्क फोर्सलाई आपराधिक कार्टेल, विदेशी गिरोह र अन्तर्राष्ट्रिय आपराधिक संगठन समाप्त पार्न निर्देशन दिइएको छ ।

यस्तै, स्थानीय अध्यागमन अधिकारीलाई संघीय अध्यागमन अधिकारीकै स्तरको अधिकार दिने गरी काम गर्न ट्रम्पले गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।

ट्रम्प प्रशासनले अमेरिकी सिमाना पार गर्ने सबै आप्रवासीको डीएनए र फिंगरप्रिन्ट संकलनको कामलाई पूर्णस्तरमा सञ्चालन गर्न निर्देशन दिएको छ । यो विवरण संघीय अनुसन्धान ब्युरो (एफबीआई)द्वारा सञ्चालित ठूलो आपराधिक डाटाबेसमा राखिने भएको छ ।

अन्तर्राष्ट्रिय व्यापार तथा अर्थतन्त्र
ट्रम्पले सम्पूर्ण कार्यकारी निकायलाई उपभोक्ता मूल्य अथवा महँगी घटाउन नीतिगत काम गर्न निर्देशन दिएका छन् । उनले ह्वाइट हाउसका आर्थिक सल्लाहकारबाट प्रत्येक ३० दिनमा यसको रिपोर्ट माग्ने बताएका छन् ।

ट्रम्पले अर्थ र वाणिज्यमन्त्री, व्यापारिक क्षेत्रका प्रतिनिधिलगायत अधिकारीलाई अमेरिकी व्यापार घाटाको कारण पत्ता लगाउन निर्देशन दिएका छन् । अवैध व्यापारिक गतिविधि पत्ता लगाएर कुनै किसिमको पूरक वैश्विक करको सुझाव दिन उनले भनेका छन् ।

ट्यारिफ (महसुल), शुल्क तथा अरू वैदेशिक व्यापारसँग सम्बन्धित राजस्व संकलन गर्न विदेशमा राजस्व सेवाको स्थापना थालिएको छ ।

उनले चीनसँगको व्यापार सम्झौताका विषयमा थप करको सम्भावना हेर्न निर्देशन दिएका छन् ।

यस्तै, हेरोइनभन्दा ३० देखि ५० गुणा र मोर्फिनभन्दा १०० गुणा शक्तिशाली फेन्टानाइल ड्रग्स (लागुऔषध)को क्यानडा, मेक्सिको र चीनबाट हुने आयातमा करदेखि प्रतिबन्ध लगाउने विषयमा निर्देशन दिएका छन् ।

ठूला कर्पाेरेसनलाई कर छल्नबाट रोक्ने गरी बनाइएको ग्लोबल ट्याक्स डिलबाट बाहिरिने, टिकटकको प्रतिबन्ध तत्कालका निम्ति रोक्नेजस्ता निर्णय ट्रम्पले गरिसकेका छन् ।

जलवायु, ऊर्जा तथा वातावरण
जलवायु परिवर्तन न्यूनीकरण तथा वैश्विक तापमान वृद्धि रोक्नेबारेका केही विषयमा समेत ट्रम्पले कार्यकारी निर्देशन जारी गरेका छन् । उनले पेरिस जलवायु सम्झौताबाट अमेरिकाको बहिर्गमन, राष्ट्रिय ऊर्जा आपत्काल घोषणा गर्नेदेखि जसरी भए पनि ऊर्जा परियोजना अघि बढाउन निर्देशन दिएका छन् ।

उनले निवर्तमान राष्ट्रपति जो बाइडेनले ल्याएका विद्युतीय सवारी विकास तथा खरिदलाई प्रोत्साहन गर्ने नीति हटाएका छन् ।

यस्तै, कोइला, तेल, प्राकृतिक ग्यास, जलविद्युत्, जैविक इन्धन, महत्त्वपूर्ण खनिज र आणविक ऊर्जाको उपभोगलाई निरुत्साहित गर्ने नीति हेरफेर गर्न सरोकारवाला निकायलाई ३० दिनको ‘अल्टिमेटम’ दिएका छन् ।

यसबाहेक उनले अलास्कामा खनिज उत्खनन गर्न दिनेदेखि ‘हन्टिङ’ र ‘फिसिङ’का निम्ति संघीय कानुन मान्न निर्देशन दिएका छन् ।

यस्तै, बाइडेनको कार्यकालका जीवाश्म इन्धनको सीमिततालाई रोक्ने नीति खारेज गरेका छन् ।

समावेशिता, ट्रान्सजेन्डर तथा नागरिक अधिकार
ट्रम्पले सबै शाखा, विभाग र एजेन्सीलाई सामान्यदेखि कार्यकारीस्तरका कर्मचारी भर्ना गर्दाको समावेशी कार्यक्रम खारेज गर्न ६० दिनको समयसीमा दिएका छन् ।

एक अर्काे ओएमबी मेमो (निर्देशन)बाट यस्ता कार्यक्रममार्फत भर्ना भएका सबै संघीय कर्मचारीलाई तत्काल बिदामा बस्न भनिएको छ । सम्भवतः उनीहरू हटाइनेछन् ।

जातीय रूपमा लागु गरिएका बाइडेन कार्यकालका विभिन्न निर्देशन ट्रम्पले खारेजका गरेका छन् । उल्ट्याइएका ती निर्णयमा लैंगिक पहिचान तथा लिंगका आधारमा प्राप्त हुने सुविधा, नेटिभ अमेरिकी, हिस्पैनिक र काला अमेरिकीका निम्ति उपलब्ध शैक्षिक पहलदेखि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सेनामा भर्ती हुन दिनेलगायत छन् ।

पासपोर्ट, भिसा, ग्लोबल एन्ट्री कार्ड र अरू सबै फाराम तथा कागजातमा पुरुष र महिला गरी दुई लिंग मात्र पहिचान गर्न उनले निर्देशन दिएका छन् । उनले संघ सरकारबाट लैंगिक विचारधारा प्रवर्द्धन गर्न गरिने खर्चमा पनि रोक लगाएका छन् ।

परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा र ‘अमेरिका फर्स्ट’
उनले वेस्ट बैंकमा रहेका प्यालेस्टाइनीविरोधी अति दक्षिणपन्थी समूहमाथि बाइडेन प्रशासनले लगाएको प्रतिबन्ध हटाएका छन् ।

उनले परराष्ट्रमन्त्री मार्को रुबियोलाई राजनीति, कार्यक्रम, सेना तथा अपरेसनलगायत सबै विषयमा देशको हितलाई पहिलो स्थानमा राख्दै ‘अमेरिका फर्स्ट’ नीति अँगाल्न निर्देशन दिएका छन् ।

ट्रम्पले यमनको हुथी समूहलाई आतंकवादी संगठनको सूचीमा राखेका छन् ।

यस्तै, ९० दिनभित्र मूल्यांकन गरी थप निर्णय गर्न सक्ने गरी सम्पूर्ण अमेरिकी वैदेशिक विकास सहायता रोक्न उनले कार्यकारी निर्देशन जारी गरेका छन् ।

एआईको विकासका क्षेत्रमा बाइडेनले ल्याएको कार्यकारी निर्देशन उनले खारेज गरेका छन् ।

यसबाहेक ट्रम्पले संघीय कर्मचारी भर्ना एवं सरकारी संयन्त्र सुधारका निम्ति जुलाई ४ सम्म डिपार्टमेन्ट अफ गर्भमेन्ट इफिसिएन्सीको स्थापना गर्न निर्देशन दिएका छन् ।

स्वास्थ्य क्षेत्रका बाइडेन प्रशासनका विभिन्न नीति उनले खारेज गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अमेरिकालाई हटाउँदै भविष्यमा थप रकम डब्ल्यूएचओलाई नदिन निर्देशन दिएका छन् ।

उनले अलास्कास्थित उत्तरी अमेरिकाको सबैभन्दा अग्लो हिमाल वा चुचुरोको नाम माउन्ट म्याककिन्लेका रूपमा पुनर्स्थापित गरेका छन्, त्यो २५औँ अमेरिकी राष्ट्रपति विलियम म्याककिन्लेको स्मृतिमा राखिएको हो । ट्रम्पले म्याककिन्लेलाई अमेरिकी अर्थतन्त्रको सुधार र सीमा विस्तारका निम्ति आदर्श पात्र मान्छन् ।

उक्त चुचुरोको नाम सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले डेनाली राखेका थिए ।

बाइडेनले मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिणत गरेका ३७ संघीय कैदीलाई आपराधिक आरोपमा मुद्दा चलाउन सकिन्छ कि भनेर अनुसन्धान गर्न महान्यायाधिवक्तालाई ट्रम्पले निर्देशन दिएका छन् ।

ट्रम्पले सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटल हिलमा आक्रमण गरेको मुद्दामा सजाय खेपिरहेका सयौँलाई माफी दिएका छन् ।

उनले क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने भने पनि यसबारे निर्णय गरेका छैनन् ।

ट्रम्पले ग्रीनल्यान्ड किन्ने भनेर गरेको टिप्पणी विवादित बनेको छ । विश्वकै ठूलो अर्थतन्त्र अमेरिकाको जीडीपी २७.७ ट्रिलियन अमेरिकी डलर छ । ग्रीनल्यान्डको जीडीपी ३.२४ अर्ब अमेरिकी डलर छ ।

ट्रम्प प्रशासनको आन्तरिक विभागले गएको शुक्रबार मेक्सिकोको खाडीको नाम आधिकारिक रूपमा अमेरिकाको खाडी नामकरण गरेको जनाएको छ । यीलगायत ट्रम्पले गरेका विभिन्न निर्णयले अमेरिका र विश्वभर प्रभाव पार्न थालेको छ । एपीसहितका समाचार एजेन्सीको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro