
काठमाडौं । पर्सास्थित नेपाल राष्ट्रिय मावि भीखमपुरमा बालविकास सहजकर्ताको रूपमा कार्यरत पुनमदेवी कुर्मीको शैक्षिक प्रमाणपत्र नक्कली ठहर भएको छ । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार कुर्मीको शैक्षिक प्रमाणपत्र नक्कली भएको फैसला गरेको हो ।
कुर्मीले बिहार संस्कृत शिक्षा बोर्ड पटनाबाट माध्यामिक तह उत्तीर्ण भएको भन्दै प्रमाण पत्र पेस गरेर जागिर खाएकी थिइन् । उनको प्रमाणपत्रबारे पत्राचार गर्दा बोर्डले सबै विषयमा अनुत्तीर्ण रहेको जवाफ पठाएको थियो । बोर्डले परीक्षामा ‘सभी विषममे अनुपस्थित है,’ भनी जवाफ पठाउँदै उनले पेस गरेको प्रमाणपत्रमा “अनुत्तीर्ण है । प्रमाणपत्र फर्जी है” भन्ने जवाफ पठाएको थियो ।
नक्कली प्रमाणपत्र पेस गरी ०६६ असार १२ मा नियुक्ति भई सरकारी लाभ तथा सुविधा लिएको पुष्टि भएको भन्दै विशेष अदालतले ६ महिना कैद र १० हजार जरिवाना हुने फैसला सुनाएको छ ।