काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा निर्यात बढेको छ । भन्सार विभागको तथ्यांकले गत आर्थिक वर्षको तुलनामा यस वर्षको ६ महिनामा निर्यात ३१.७८ प्रतिशतले बढेको हो ।
६ महिनाको अवधिमा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबरको मालसामान निर्यात भएको भन्सार विभागको पछिल्लो तथ्यांक छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको थियो । आयात पनि ७.०६ प्रतिशतले बढेर सात खर्ब ६८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष रोल्ड आइरन रड र स्टिलको निर्यात घटेको छ । तर अन्य प्रमुख वस्तुहरूको निर्यात भने सकारात्मक छ ।
नेपालबाट सबैभन्दा बढी निर्यात हुनेमा पाम तेल भए पनि यो विदेशबाट आयात गरेर प्रशोधन गरी निर्यात हुने वस्तु हो । यसबाहेक बढी जसो स्थानीय रूपमा उत्पादन हुने वस्तुको निर्यात गत वर्षको तुलनामा यस वर्षको पछिल्लो ६ महिनामा बढेको देखिन्छ ।
तेलबाहेक बढी निर्यात हुनेमा कार्पेट र भुँइमा प्रयोग हुने अन्य टेक्सटाइल छ । यसको निर्यात रकम पाँच अर्ब ६१ करोड ४२ लाख रुपैयाँ छ । गत वर्षको ६ महिनामा भने पाँच अर्ब २३ करोड रुपैयाँ बराबरको कार्पेटलगायत टेक्सटाइल निर्यात भएको थियो ।
यस्तै, पछिल्लो ६ महिनामा चार अर्ब ५६ करोड ६५ लाख रुपैयाँभन्दा बढीको अलैँची निर्यात भएको छ । गत वर्षको यसअवधिमा तीन अर्ब ९० करोड ७६ लाख रुपैयाँको अलैँची निर्यात भएको थियो ।
तेस्रोमा दुई अर्ब ९६ करोड ९२ लाख रुपैयाँ बराबरको कालो चिया निर्यात भएको छ । गत वर्षको तुलनामा चियाको निर्यात पनि बढेको छ । गत वर्षको ६ महिनामा दुई अर्ब एक करोड रुपैयाँ बराबर चिया निर्यात भएको थियो ।
यस्तै, दुई अर्ब ७९ करोड २९ लाख रुपैयाँको धागोजन्य वस्तु निर्यात भएको छ । गत वर्षको यस अवधिमा यो निर्यात दुई अर्ब एक करोड रुपैयाँ थियो । दुई अर्ब ४९ करोड ७१ लाख रुपैयाँ बराबरको फेल्ट जन्य वस्तु निर्यात भएको छ । गत वर्षको ६ महिनामा भने यसको निर्यात दुई अर्ब ३१ करोड ५० लाख रुपैयाँ थियो ।
यी नेपालबाट दुई अर्ब ४७ करोडको रोल्ड आइरन तथा स्टिल, दुई अर्ब ३० करोड रुपैयाँ बराबरको जुटको फेब्रिक्स, दुई अर्ब २६ करोडको धागो र दुई अर्ब २१ करोड रुपैयाँ भन्दा बढीको जुसजन्य वस्तुको निर्यात भएको छ ।
सबैभन्दा धेरै निर्यात हुने सोया बिन तेल भने १८ अर्ब ९१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यस्तै, सनफ्लावरको बीउ तथा तेल चार अर्ब ९८ करोड रुपैयाँको निर्यात भएको छ ।