site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुखकै निष्कर्ष– संसद् कानुन बनाउन असफल भयो !

काठमाडौं । कानुन निर्माण गति सुस्त भएकामा सभामुख देवराज घिमिरेले असन्तुष्टि राख्न थालेका छन् । कानुन निर्माणको मूल थलोप्रति प्रश्न उठेकाले ध्यान दिन आग्रह समेत गरेका छन् ।

घिमिरेले दलका प्रमुख सचेतकहरूलाई पनि झक्झक्याएका छन् । सदनको हिउँदे अधिवेशनको मिति नजिकिएसँगै सभामुख देवराज घिमिरेले तदारुकता देखाएका हुन् । उनले आइतबार दिउँसो सत्तापक्षका नेकपा (एमाले) र नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल गरे । 

आइतबार नै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।  सोमबार बिहान ११ बजे प्रमुख पाँच दलका प्रमुख सचेतकसँग सिंहदबारमा छलफल गर्ने तय भएको छ । 

Dabur Nepal
NIC Asia

माघ १५ गतेका लागि कार्यव्यवस्था समितिको बैठक बस्ने तय भएको उनको सचिवालयले जनाएको छ । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेबाट सुरु हुँदैछ ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले सभामुख मसिनो ढंगले छलफलमा जुटेको बताउँछन् । “संसद्को अधिवेशन रचनात्मक होस् । सिर्जनात्मक होस्, बैठकअघि जाओस् भन्ने उहाँ (सभामुख) को अपेक्षा छ,” बर्तौला भन्छन्, “ अलग बैठक राखेर मसिनो छलफल गराउन खोज्नुभएको जस्तो महसुस भएको छ । यसले आगामी अधिवेशन प्रभावकारी, व्यवस्थित, मर्यादित हुनेछ ।”

बर्तौलाका अनुसार, भेटमा सभामुख घिमिरेले कानुन निर्माण गर्न नसकेको प्रश्न खेपिरहेको भन्दै त्यतातर्फ ध्यान दिन आग्रह गरेको बताए । 

“कानुन निर्माण गर्ने मुख्य थलो संसद् प्रभावकारी भएन । कानुन नै निर्माण गर्न सकेन भन्ने प्रश्न खेपिरहनुपर्ने भयो । यतातर्फ विशेष ख्याल पुगोस्,” सभामुख घिमिरेले भनेका छन् । 

समितिको बैठकमा ह्विप जारी गरी कोरम पुर्याउन सुझाएका छन् । संसद् सिर्जनात्मक, रचनात्मक हुनुपर्ने भन्दै ओजपूर्ण काम गर्न संयोजनकारी भूमिका खेल्न सत्तापक्षका प्रमुख सचेतकसँग उनको आग्रह छ । 

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार, सभामुखले संवैधानिक परिषद्सम्बन्धी विधेयकलगायतका विषयमा सभामुखले चासो राखेका थिए ।

प्रतिपक्षीसँगको छलफलमा के भयो ? 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले हिउँदे अधिवेशन कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल केन्द्रित भएको बताए ।   “यति धेरै विधेयक समितिमा छन् । प्रतिवेदन बनेका पनि छन् । नबनेका पनि छन् । कसरी प्रभावकारी बनाउने भन्नेमा जिज्ञासा राख्नुभएको थियो,” परियारले भने । 

प्रतिपक्षी दलहरूले सरकार गम्भीरताका साथ नलाग्दा कानुन निर्माण सुस्त हुने भन्दै झक्झक्याउन आग्रह गरेका छन् । 

“कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्ने कुरामा हाम्रो कुनै दुईमत छैन । तर, सरकार गम्भीर हुनुपर्छ । सरकारले गम्भीरताका साथ लिएन भने कानुन निर्माण सहज हुँदैन्,” परियारले भने । 

उनका अनुसार, सभामुखले कानुन जति बनाउनुपथ्र्यो नबनेको गुनासो गरेका थिए । 

यस्तो छ सत्तापक्षको तयारी 

हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी भएको छ । एमालेका मुख्य सचेतक बर्तौलाका अनुसार, यो अधिवेशनमा मिनी संसद्मा विचराधीन विधेयकहरू पारित गर्ने गरी तयारी भइरहेको छ । 

संसदीय समितिमा छन् यी विधेयक 

संसद्मा विधेयक विचराधीन छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचराधीन छन् । भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक भने समितिबाट पारित भएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक छन्  । 

अर्थ समितिमा धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक र भन्सार विधेयक छन् ।

पूर्वाधार विकास समितिमा जलस्रोत, विद्युत् विधेयक, कानुन, न्याय तथा मानवअधिकार समितिमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विद्युतीय व्यापार विधेयक छ । 

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक र मिडिया काउन्सिल विधेयक छन् ।

यीमध्ये केही विधेयकहरू समितिबाट पारितको चरणमा छन् । 

विधेयक होल्ड भएकामा प्रधानमन्त्रीको चासो 

प्रधानमन्त्री संसदीय समितिमा विधेयकहरू होल्ड हुँदा सरकारलाई काम गर्न असहजता भएको बताएका छन्  । मुख्य सचेतक बर्तौलाका अनुसार, आइतबार बिहानको भेटमा ओलीले संसदीय समितिमा भएका विधेयकहरू लामो समय होल्ड हुँदा सरकारलाई काम गर्न असहजता भएको बताएका थिए ।

प्रधानमन्त्रीले आरोप–प्रत्यारोपको श्रृङ्खला भन्दा पनि सुमधुर ढंगबाट हाउस अघि बढोस् भन्ने चाहना राखेको उनी बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro