site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एचपीभी खोप क्यान्सर रोकथाममा कति प्रभावकारी ? (भिडियोवार्ता)

(नेपालमा पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर)का कारण प्रत्येक दिन औसत चारजनाको मृत्यु भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । पाठेघरको मुखको क्यान्सर गराउने २०० प्रजातिका भाइरसमध्ये १६ र १८ प्रमुख कारक भएको विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ । नेपालमा पनि सर्भाइकल क्यान्सर गराउने ८० प्रतिशत कारक यिनै दुई प्रजाति भएको पाइएको छ । सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म पाठेघरको क्यान्सर गराउने सोही जीवाणु ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी)विरुद्धको खोप दिँदै छ । पाठेघरको मुखको क्यान्सर, बच्ने उपाय र एचपीभी खोपको प्रभावकारिताका विषयमा स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेसँग बाह्रखरीकर्मीअस्मिता रिजालले गरेको कुराकानीको सम्पादित अंश ।)

पाठेघरको मुखको क्यान्सर के हो, कसरी हुन्छ ?
मानिसको नङ र कपालबाहेक जुनसुकै अंगमा क्यान्सर हुनसक्छ । कुनै पनि अंगमा कोषिकाहरूको अनियन्त्रित वृद्धि नै क्यान्सर हो । पाठेघरका विभिन्न तहमध्ये सबैभन्दा धेरै यसको मुखमा क्यान्सर देखिने गर्छ । ह्युमन प्यापिलोमा भाइरस नामक जीवाणुका कारण पाठेघरको मुखमा देखिने संक्रमण नै क्यान्सर (सर्भाइकल क्यान्सर) हो ।

नेपालमा यसको अहिले र तपाईंले क्यान्सर रोग विशेषज्ञका रूपमा काम सुरु गर्दाको अवस्थामा कति फरक पाउनुभएको छ ?  
सबैखाले क्यान्सरमध्ये नेपाली महिलाको मृत्युको पहिलो कारण हो, पाठेघरको मुखको क्यान्सर । सचेतनाको स्तर बढेको छ । सरकारको नीति र कार्यक्रम पनि सचेतना र नियन्त्रणमा नै केन्द्रित छन् ।

Dabur Nepal
NIC Asia

तर, व्यावहारिक तहमा हेर्ने हो भने अहिले पनि महिलालाई आफ्ना प्रजनन अंग देखाउन र परीक्षण गराउन हिच्किचाहट हुन्छ, चाहे त्यो सहरमा होस् या ग्रामीण भेगमा । सरकारले निःशुल्क पठेघरको मुखको स्क्रिनिङ गर्ने व्यवस्था गरेको छ । तर, पहिलो र दोस्रोपटक स्क्रिनिङमा आउने महिला तेस्रोपटक आउँदैनन् ।

मेरो २१ वर्षको उपचार अनुभवमा परीक्षण गराउने दर उल्लेख्य रूपमा सुधार भएको छैन । त्यसैले बचाउन सक्ने महिलाको पनि यो क्यान्सरबाट मृत्यु भइरहेको छ ।

सामान्यतः महिला परीक्षणका निम्ति कुन अवस्थामा आइपुग्छन् ? 
पाठेघरको मुखको क्यान्सर गराउने बेलैमा परीक्षण गरे पहिचान हुन्छ र रोकथाम मात्रै होइन, निर्मूल नै गर्न सकिन्छ । यसको सकारात्मक पक्ष के भने, १० वर्षअगाडि परीक्षण गरेर पनि भाइरसको असर छ वा छैन भनी पत्ता लगाउन सकिन्छ । यदि, संक्रमण भइहाले पनि फैलिन धेरै समय लाग्छ । वरिपरिका अंगहरूमा नफैलिएको भए बचाउन सकिन्छ । तर, फेरि पनि कुरा आउँछ सामाजिक अभ्यासको, जसमा अघि भनिएजस्तै परीक्षण कम गराउने ट्रेन्ड छ ।

अधिकांश महिला पाठेघरसहित अन्य अंगमा पनि संक्रमण फैलिएपछि आइपुग्छन्, यसले मृत्युदर बढाएको छ ।

sarita-ghimireeeeeeeee-1737940739.jpg
त्यसो भए कुन उमेरका महिलाले कहिले र कस्तो परीक्षण गराउने ?
सर्भाइकल क्यान्सरको जोखिममा सबैभन्दा धेरै ३० वर्षमाथिका महिला हुन्छन् । तर, एचपीभी जीवाणु भने शारीरिक सम्पर्कमा रहेका सबै (महिला र पुरुष)मा रहन्छ । यत्ति हो, कसको रोगप्रतिरोधी क्षमताले कति दबाएर राख्छ भन्ने कुराले अर्थ राख्छ ।

एकपटक मात्रै शारीरिक सम्पर्क भएको भए पनि ३० वर्षमाथिका सबै महिलाले सर्भाइकल क्यान्सरको परीक्षण नियमित गर्नुपर्छ । विश्वका कुनै पनि विधिबाट गरिने परीक्षणमा नेपाल पछाडि छैन । सरकारले पनि अहिले विभिन्न अस्पताबाट निःशुल्क परीक्षण सेवा दिँदै आएको छ ।

सर्भाइकल क्यान्सरको परीक्षण प्याप स्मेयर, भीआइए र एचपीभी डीएनएमार्फत गरिँदै आएको छ  । जीवाणुको अवस्था र कोषिकामा परिवर्तन भए/नभएबारे पहिचान गर्न यी विधिहरू प्रयोग हुन्छन् । ३० वर्ष कटेका र शारीरिक सम्पर्कमा रहेका महिलाले मुख्यतः प्रत्येक पाँच वर्षको अन्तरालमा एचपीभी डीएनए र प्रत्येक तीन वर्षमा भीआइएमार्फत परीक्षण गर्न म सल्लाह दिन्छु ।

सरकारले दिन लागेएको एचपीभी खोपले सर्भाइकल क्यान्सर रोकथाममा कसरी काम गर्छ, कति प्रभावकारी छ ? 
ढिलै भए पनि सर्भाइकल क्यान्सर रोकथामका निम्ति खोप आएको छ । यो नेपालजस्तो क्यान्सरको मृत्युदर उच्च भएको मुलुकका लागि एकदमै सकारात्मक पहल हो । यो खोपको प्रयोग विश्वमा सन् २००६ देखि नै सुरु भएको हो र अहिले १४५ देशमा नियमित खोप तालिकामा नै राखेर दिइन्छ । एचपीभीविरुद्धको खोपले सर्भाइकल क्यान्सर गराउने जीवाणुविरुद्ध पाठेघरको मुखको भित्री तहसम्म पुगेर प्रतिरोधको काम गर्छ । 

यसअघि यो खोप दुई डोजमा उपलब्ध थियो । विश्व स्वास्थ्य संगठनबाट एक डोज पनि दुई डोजजतिकै प्रभावकारी भएको प्रमाणित भएपछि नेपालमा एक डोजवाला दिन लागिएको हो ।

शारीरिक सम्पर्क नभएकै अवस्थामा यो खोप दिँदा बढीभन्दा बढी प्रभावकारी हुने विभिन्न अध्ययनले पुष्टि गरे पनि अहिले १० देखि १४ वर्षसम्मका बालिकालाई दिन लागिएको हो । अर्को वर्षदेखि १० वर्षकै उमेरमा दिन सरकारले यो खोपलाई नियमित खोप तालिकामा राखिसकेको छ ।

ज्वरो, दुखाइजस्ता सामान्य असरबाहेक एचपीभीविरुद्धको खोपले कुनै दीर्घकालीन समस्या निम्त्याउँदैन । र, छोरीहरूलाई सर्भाइकल क्यान्सरबाट बचाउन नछुटाई र ढुक्क भएर यो खोप लगाउन म अनुरोध पनि गर्दछु । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ०७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro