काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–५, वसन्तपुरकी ७२ वर्षीया कान्छीमाया रुम्बाको बाघको आक्रमणबाट ज्यान गयो । घरनजिकै खोल्सामा घाँस काट्न गएको बेला उनी बाघको आक्रमणमा परेकी थिइन् ।
गएको पुस १४ गते दिउँसोको समयमा डोको र नाम्लो बोकेर घाँस काट्न गएकी कान्छीमाया घर फर्किइनन् । घरमा बाँसको चोया निकाल्दै गरेका श्रीमान् धनबहादुर रुम्बालाई श्रीमती घाँस काट्न गएको समेत पत्तो थिएन ।
साँझ अबेरसम्म श्रीमतीलाई घरमा नदेखेपछि वरपर सोधीखोजी गरे । नजिकैको छिमेकीले डोको र नाम्लो बोकेर घाँस काट्न गएको आफूले देखेको धनबहादुरलाई सुनाए । त्यसपछि गाउँलेले खोजीका लागि नजिकैको बारी, खोल्सा धाए ।
गाउँलेले सुरुमा घाँस काटेर राखिएको डोको र नाम्लो भेट्टाए । अलि पर दौडिएको जस्तो देखिने पाइला भेटियो/देखियो । त्यसपछि अलि पर मोबाइल भेटियो । बारीको कुनामा कान्छीमायालाई देखियो तर, विभत्स अवस्थामा ।
“पेटको आधा भाग नै बाघले खाइसकेको रहेछ । टाउकोमा रहेको कपालको भाग तानिएको रहेछ । बाघले बारीको कुनामा लगेर विभत्स बनाएको रहेछ,” धनबहादुर भन्छन् ।
धनबहादुरका अनुसार, बारीको एकछेउमा मारिएको अवस्थामा दुईवटा स्याल थिए । स्याललाई पनि बाघले नै आक्रमण गरेको हुनसक्ने उनले बताए । खोरमा रहेका सातवटा बाख्रालाई समेत बाघले आक्रमण गर्यो, एउटा चाहिँ खोरभित्र मारेर त्यही छाडेको अवस्थामा ।
चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षको ‘बफरजोन’ भित्रको बसन्तपुर बस्ती, यसअघि बाघ गाउँमा आएको भन्ने आफूहरूले थाहा नपाएको स्थानीयहरू बताउँछन् ।
“यसअघि बाघ गाउँमा आएको भन्ने सुनेकै थिएनौँ । बस्तीभित्रको पनि बस्तीमा यसपटक बाघ आएको थाहा पायौँ । हामी त्रसित भएका छौँ,” स्थानीय दिलबहादुर रुम्बाले भने ।
यता, बर्दियामा पनि बाघको आक्रमणबाट एक महिलाको मृत्यु भयो । गएको पुस २८ मा ठाकुरबाबा नगरपालिका–७ की ५० वर्षीया पदमकला थापाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पनि गएको कात्तिक २ मा वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गर्दा विनयी त्रिवेणी गाउँपालिका–१, लक्ष्मीटाँडी बस्ने ६३ वर्षीय जीवबहादुर थिङको मृत्यु भयो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार, तीनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो ।
यी पछिल्ला घटनाहरू हुन् । पछिल्लोसमय बस्तीसम्मै पुरेर बाघले आक्रमण गरेको घटना बढ्न थालेको पाइन्छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनाश थापामगरका अनुसार बाघले छेउछाउका झाँडी, खोल्साखोल्सीमा मानिसमाथि आक्रमण गरेको घटना बढ्दो छ ।
“बाघले वन क्षेत्र, खोलानाला, खोल्सीखोल्सी, झाडी भएको क्षेत्र, घाँस काट्न, दाउरा लिन जाँदा तथा निउरो टिप्न जाँदा बढी आक्रमण गरेको पाइन्छ । वन्यजन्तु झाँडी, वनजंगल क्षेत्रमा लुकेर बस्ने गरेको पाइन्छ, आहारा खोज्दै जाँदा मानिससम्मै पुगेर आक्रमण गरेको घटना छ,” सूचना अधिकारी मगरले भने ।
बाघको संख्या बढे पनि निकुञ्जको क्षेत्रफल बढ्न नसक्दा बाघ मानववस्ती वरपरसम्म पुग्ने गरेको उनले बताए ।
बस्तीमा किन छिर्न थाले बाघ ?
पछिल्लो समय रोजगारीका सिलसिलामा धेरै युवाहरू विदेशिएका छन् । गाउँ युवाविहीन हुन थालेको छ । वृद्धावृद्धा र बालबालिकाले गाउँलाई धानेका छन् । गाउँसम्मै मोटरबाटो पुगेको छ । मानिसका आवश्यकता अब गाउँबाट भन्दा सहर बजारबाट बढी हुन थालेको छ । हरेक सामान सहर बजारबाट आउन थालेको छ । गाउँका खेतबारी बाँझो हुन थालेको छ ।
मानिसहरूले वस्तुभाउ पाल्न विस्तारै कम गर्न थाले, वनजंगल बाक्लिदै गए । झाँडी बढ्दै गयो । अनि बाघलाई वासस्थान खोज्दै बस्तीसम्म पुग्न सहज बन्न थाल्यो ।
“पहिले एउटै घरमा १०/१२ वटा वस्तुभाउ पाल्ने गथ्यो । घाँस काटिन्थ्यो, झाँडी हुँदैनथ्यो । अब वस्तुभाउ पाल्न छाडियो, वन समितिहरूले जंगल जान रोक लगाए, जंगल झाडी हुन थाल्यो,” रुम्बाले भने, “गाउँमा युवा बस्न छाडे । अन्नबाली लगाउन छाडे, बारी झाडीमा परिणत हुन थाल्यो । खोल्सामा झाडी बाक्लिदै गयो । जंगल बाक्लिदै गयो । अनि बाघ ठाउँ खोज्दै बस्तीसम्म आइपुग्न थाल्यो ।”
बुढो, अशक्त र घाइते खालका बाघ मानवबस्तीको छेउछाउको जंगलमा जाने र सिकार खोज्दै बस्तीसम्म पुग्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मगरले बताए ।
“जब दुई भाले बाघको द्वन्द्व हुन्छ । जसले जित्छ त्यो उसैको क्षेत्र (एरिया) हुन्छ । नजित्ने (हरूवा) बाघले अर्को विकल्पमा आहारा खोज्दै बस्तीसम्म पुगेको घटना छ,” उनले भने ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता एवम् उपमहानिर्देशक वेदकुमार ढकालका अनुसार, धेरैजसो घटना वन क्षेत्रमा गएको बेलामा हुने गरेको बताए ।
उनले भने, “धेरैजसो घटना वनमा निउरो टिप्न, घाँस काट्न गएको बेलामा भएको पाइन्छ । मानिसले पनि बाघलाई नदेख्ने र बाघले पनि यो आहारा प्रजाति ठान्छ । बाघले आफ्नो आत्मरक्षाका लागि पनि मानिसलाई मारेको अवस्था छ ।”
सामुदायिक वनलाई समुदायको प्रयोग गर्ने, समूहमा जाने, दिउँसोमा जाने, झाँडी सरसफाइ गर्न सके घटना कम गर्न सकिने उनले बताए । विभागले पनि स्थानीयलाई बाघको आनीबानीबारे जनचेतनामूलक जानकारी दिने गरेको उनले बताए ।
बाघ बुढो, कमजोर र घाइते भएपछि आफ्नो क्षेत्रका लागि झगडा गर्छन् । झगडाका क्रममा कमजोर बाघ सामुदायिक वनतिर जान्छन् । त्यस्ता बाघले गाईवस्तु, मानिसमाथि आक्रमण गर्ने उनले बताए ।
कस्तो छ वन्यजन्तुको वासस्थान व्यवस्थापन अवस्था ?
सूचना अधिकारी मगरका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा बाघको व्यवस्थापनमा समस्या छ । बजेट, स्रोत जुटाउन समस्या छ ।
“बाघको आहारा प्रायः मृग र बदेल हुन्छन् । तिनीहरू घाँसमा निर्भर हुन्छ । त्यहीअनुसार निकुञ्जले व्यवस्थापन गर्न सकिरहेको छैन,” उनले भने, “...अनि आहारा नपाएपछि खोजी गर्दै बस्तीसम्म पुग्छन् ।”
निकुञ्जको मध्यवर्ती क्षेत्रमा धेरै सामुदायिक वनहरू छन् । मानिसहरू घाँस दाउरा गर्न छाडे, वस्तुभाउ चराउन जान छाडे अनि वनहरू झाँडी हुन थाले । जहाँ झाँडी बढी हुन्छ, त्यही बाघले आफ्नो वासस्थान बनाउन थाले ।
“हाल बेलाबखतमा घाँस काट्न, दाउरा लिन र माछा मार्न त्यही झाँडीमा पुग्दा मानिसमाथि वन्यजन्तुले आक्रमण गर्न थाले,” उनले भने । त्यसरी आक्रमण गर्नेमा बुढो, असक्त र घाइते बाघ छन् ।
बाघका लागि घना वन क्षेत्र हुनु जरुरी छ । वासस्थान राम्रो (घाँसे मैदान, तालतलैया, पानीको उपलब्धता) हुनुपर्छ । निकुञ्जले त्यसको व्यवस्थापनमा योजना बनाए पनि बजेट अभावका कारण समस्या समाधान हुन नसकेको उनले बताए ।
बाघलगायत वन्यजन्तु वृद्धिसँगै यिनीहरूको वासस्थान, समुदायमा चेतना, मानव–वन्यजन्तुबीच द्वन्द्व रोक्न विद्युतीय तारबार, कंक्रिट पर्खाललगायत पूर्वाधारसँगै व्यवस्थापनमा जोड दिइएको उनले बताए ।
बाघको संख्या अनुसार, आहारा पर्याप्त छ तर, क्षेत्रफलका हिसाबले कम छ । निकुञ्जले धान्ने माग चाहिँ अलि कम हो कि भन्ने आँकलन गरिएको उनले बताए ।
राहतको व्यवस्था कस्तो छ ?
बाघको आक्रमणमा परिहाले निकुञ्जले वन्यजन्तुवाट भएको क्षतिको राहत निर्देशिकाअनुसार राहत दिने गरेको छ । वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएको अवस्थामा १० लाख रुपैयाँसम्म दिइन्छ । गम्भीर घाइते भएको अवस्थामा दुई लाख, अंगभंग भएमा पाँच लाखसम्म उपचार खर्च दिइने सूचना अधिकारी मगरले बताए ।
वन्यजन्तुबाट भएको क्षतिस्वरुप निकुञ्जले आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि मंसिरसम्म २७ लाख ८८ हजार ९९२ रुपैयाँ चितवन राष्ट्रिय निकुञ्जले प्रभावित स्थानीयलाई उपलब्ध गराइसकेको छ ।
राष्ट्रिय बाघ गणना (सन् २०२२) अनुसार देशभर ३५५ वटा बाघ छन् । त्यसमध्ये १२८ बाघ चितवन राष्ट्रिय निकुञ्जमा छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा, पर्सामा ४१, शुल्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका थिए । ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने धारणा राखेका थिए ।
नेपालको वनको क्षमताअनुसार १५० भन्दा बढी बाघ पाल्न नसकिने भए पनि हाल नेपालमा ३०० भन्दा बढी बाघ रहेको बताएका थिए । नेपालले मित्र राष्ट्रहरूलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताएका थिए ।