काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केवलकार’ भन्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच भएको झडपका क्रममा घाइते भएका तीनजनाको अवस्था गम्भीर बनेको छ । प्रदर्शनको क्रममा चार जना घाइते भएका थिए । एक जना प्रहरी पनि घाइते भएको जनाइएको छ ।
प्रहरीले झडपका क्रममा गोली चलाएको पाइएको छ । गोली लागेका तीनजनाको अवस्था गम्भीर रहेको हो । केवलकार निर्माणाधीन क्षेत्रमा ‘नो केवलकार’ भन्दै आजदेखि संघर्षका कार्यक्रम जारी राख्ने तयारी स्थानीयले गरेका थिए । तर स्थानीय प्रशासनले शनिबारदेखि नै सशस्त्र र नेपाल प्रहरी खटाएको थियो ।
त्यसपछि त्यहाँ झडपको अवस्था आएको बनाइएको छ । प्रहरीका अनुसार झडपमा यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई गोली लागेको थियो । उनीहरुको अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगर ल्याइएको छ ।
प्रहरीतर्फ पनि १२ बढी घाइते भएका छन् । प्रहरीका अनुसार स्थानीयले ढुंगा र गुलेली हानेपछि गोली चलाउनुपरेको थियो । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो ।
अनुसार प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको राससले उल्लेख गरेको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो । हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केवलकार निर्माण योजना अघि बढाएको हो । गत मङ्गलबारदेखि जमिन सम्याउने काम सुरु भएको हो । अहिले अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ ।