काठमाडौं । बंगलादेशको ढाकास्थित नेपाली दूतावासले चित्रकला प्रतियोगिताको आयोजना गरेको छ । बंगलादेश–नेपालमैत्री समाजसँगको सहकार्यमा शुक्रबार बिहान ढाकास्थित केन्द्रीय सहिद मिनारमा स्कुलस्तरका विद्यार्थीहरूबीच चित्रकला प्रतियोगिता आयोजना गरिएको हो ।
विद्यार्थीलाई चित्रकलामार्फत नेपालबारे आफ्नो दृष्टिकोण व्यक्त गर्ने प्लेटफर्म प्रदान गर्ने उद्देश्यले ‘मेरो आँखाबाट नेपाल’ चित्रकला प्रतियोगिता आयोजना गरिएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।
प्रतियोगितामा ढाकाका ९१ विद्यालयका करिब ३५० विद्यार्थीले भाग लिएका थिए । सहभागीहरूलाई ६ देखि १० वर्ष र ११ देखि १६ वर्ष गरी दुई उमेर समूहमा विभाजन गरिएको थियो ।
प्रत्येक विधाबाट चार विजेता छानिएका थिए । साथै, १० उत्कृष्ट कलाकृति निर्णायक मण्डलले छनोट गरिएको दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले प्रतियोगिताको उद्घाटन समारोहमा विद्यार्थीहरूको सहभागिताको प्रशंसा गरेका थिए । विद्यार्थीलाई कलात्मक अभिव्यक्तिमार्फत नेपालबारे आफ्नो विचार क्यानभासमा उतार्न उनले प्रोत्साहित गरेका थिए ।
कलाले अन्तर–सांस्कृतिक समझदारी बढाउन र समाजलाई एकताबद्ध गर्न शक्तिशाली माध्यमको रूपमा काम गर्ने राजदूत भण्डारीले बताएका थिए ।