site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रविको ‘सक्रियताविना’को रास्वपा के गर्दैछ ? मौलाउँदैछन् गुट !
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभाको चौथो ठूलो दल हो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । २१ सांसदसहित चौथो ठूलो दल रास्वपाका सभापति एवं संसदीय दलका नेता रवि लामिछाने अभियुक्तमा परिणत भएका छन् ।

अभियुक्त भएसँगै लामिछानेले कार्यबाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई सुम्पे । अब हिउँदे अविधेशनसँगै प्रतिनिधिसभामा संसदीय दल नेता पनि चाहिन्छ । 

‘को बन्लान् त संसदीय नेता ?’ रास्वपाका सांसदहरु स्वयं अन्यौलमा छन् । रास्वपाका एक सांसद भन्छन्, "सदनमा संसदीय दलको नेताबेगर उपस्थित हुन सकिँदैन । तर, दलमा यसबारे कुनै छलफल भएको छैन ।" आउँदो माघ १८ गते संसद् अधिवेशन चल्दैछ ।

Dabur Nepal
NIC Asia

रास्वपा सभापति लामिछाने सम्पत्ति शुद्धीकरण र ठगी आरोपमा धरौटीमा रिहा भएपछि डीपी अर्याललाई कार्यवाहक सभापति तोकिएको छ । तर, संसदीय दलको नेता अझै तोकिएन ।

उता सभापति लामिछाने कात्तिक २ गतेदेखि ८४ दिन कास्की हिरासतमा रहे । त्यसपछि तीन दिन काठमाडौं प्रहरीका हिरासतमा रहे । हाल उनीविरुद्ध रूपन्देही जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ ।

राज्यले लामिछानेविरुद्ध आर्थिक अपराध जोडिएका तीनवटा गम्भीर प्रकारका आरोप लगाएको छ । उनी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा झेल्दै छन् । कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटीमा रिहा भएका उनी यतिखेर बुटवलमा छन् ।

पार्टी काममा सक्रिय र एकछत्र नेता लामिछाने यतिका दिनसम्म मुद्दा मामिलामा रहँदा पार्टी कसरी चलिरहेको छ ? आसन्न प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुँदैछ ? 

रास्वपाका एक सांसद भन्छन्, “सभापति नहुँदा पार्टीका कुनै पनि काम बाँकी रोकिएको छैन । तर अब संसद्मा चाहिँ कसरी अघि बढ्ने अन्यौल छ ।”

दलकै नेताका निम्ति पार्टीभित्र गुट भने निकै मौलाउँदो छ । विशेषगरी लामिछानेको सचिवालय, डीपी अर्याल र स्वर्णिम वाग्ले छुट्टाछुट्टै गुट बनाउन सक्रिय देखिएको ती सांसदको बुझाइ छ । तर, तल्लो तहसम्म गुटको असर पुगिसकेको छैन । प्रदेशतहसम्म गुटको असर देखिइसकेको छ । उनका अनुसार, त्यसको असर हो, ‘केही नेतालाई गरिएको कारबाही ।’

तर, क्षमता तथा बौद्धिक व्यक्तित्वका हिसाबले कार्यवाहक सभापति वाग्लेले पाउनुपर्ने केही सांसदहरूको तर्क थियो । तर, लामिछानेको निर्णयविपरीत कोही पनि उभिन नसक्ने हुँदा विवाद सतहमा आएन । 

तर, अब संसदीय दलको नेता चयनमा भने रास्वपामा केही समस्या देखिने बुझाइ ती सांसदको छ । “रास्वपामा दलको नेता चयन गर्ने सन्दर्भमा केही जटिल विषय देखापरेका छन्,” ती सांसदले भने, “हाम्रो दलको विधानमै त्यस्तो समस्या छन् ।”

विधानमा देखिएको समस्याका कारण दलको नेता चयनमा समस्या परेको उनको बुझाइ छ । रास्वपाभित्र लामिछानेको राजनीतिक भविष्यबारे अडकलबाजी चलिरहेका छन् । अधिकांश केन्द्रीय सदस्य तथा सांसदहरू लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध लिएको निष्कर्ष निकाल्दै राज्यले कुनै न कुनै रूपमा अल्झाइरहने निष्कर्षमा पुगेका छन् ।

यस्तो अवस्थामा पार्टी कसरी क्रियाशील बनाउने भन्नेबारेमा आफूहरुको ध्यान केन्द्रित भएको अर्का एक नेताको टिप्पणी छ । “मतदाता तथा नागरिक वैकल्पिक शक्तिको खोजमा छन्,” ती नेताले भने, “सभापतिज्यू हिरासतमा रहँदा पनि हामीले प्रदेशहरुमा सभा सम्मेलन गर्‍यौँ । नागरिकको उत्साहजनक सहभागिता छ । हामीले ती नागरिक जोगाउन सकेनौँ भने पुरानै दलतर्फ आकर्षित हुन सक्छन् या गलत तत्वले प्रयोगमा ल्याउन सक्छन् । हाम्रो ध्यान त्यसैमा केन्द्रित छ ।”

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उक्त पार्टीका कार्यवाह सभापति डीपी अर्यालले पनि सभापतिमाथि सरकारले प्रतिशोध साधेको कुरा स्पष्ट र यो स्थापित भइसकेको बताएका छन् ।

उनले भनेका छन्, “यसमा मैले धेरै टिप्पणी गरिरहनु भएन । जहाँसम्म रास्वपाको कुरा छ, पार्टी स्थापना हुँदा हाम्रो पार्टी सभापतिको फेस नै हाम्रा लागि महत्वपूर्ण कुरा थियो । यसमा दुई मत नै रहेन । हामी निरन्तर जनताको काममा नै छौं ।”

उनले पार्टीका गतिविधि पनि फैलिँदो अवस्थामा रहेको टिप्पणी गरेका छन् । “अब रास्वपा इन्स्ट्यिुसन बनिसकेको छ । यो पार्टी आफैँमा संस्था बनिसकेको छ । त्यसकारण पार्टी सभापति आफ्नो कानुनी लडाईं लड्दै गर्दा पनि पार्टी आफ्नो ठाउँमा चलिरहेको छ । रास्वपा सभापति पक्राउ पर्नुभन्दा अगाडिकै अवस्थामा छ । कमजोर छैन,” अर्यालको भनाइ छ ।

रास्वपाले आगामी संसद् अधिवेशनमा पनि बलियो उपस्थिति जनाउने तयारी गरेको छ । सरकारले भर्खरै ल्याएका अध्यादेशमा पार्टीको धारणा बनाउने काममा अहिले लागिरहेको सांसदहरु बताउँछन् ।

रास्वपाका अर्का एक सांसदले बाह्रखरीसँगको अनौपचारिक कुरा गर्दै संसदीय दलको नेताका लागि तीन जनाले आकांक्षा राखेका छन् ।

ती हुन् अर्याल, वाग्ले र सुमना श्रेष्ठ । उनीहरूले तीव्र इच्छा राखेको भए पनि लामिछानेले चाहेको व्यक्ति नै दलको नेता हुने हुँदा त्यसले पार्टीमा झनै गुट मौलाउन सक्ने चिन्ता ती सांसदको छ । लामिछानेको सक्रियता पार्टीमा नहुँदा यसअघिजस्तै कुनै पनि विषयमा एउटै स्वर नभएको उनी बताउँछन् ।
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro