काठमाडौं । प्रहरीले घरजग्गा व्यवसायी विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने समूहका मूख्य नाइके अजय लामालाई ठिक तीन महिनापछि पक्राउ गर्न सफल भएको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट–७ का दीपक बरामुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई कार्यालयबाट खटिएको टोलीले भारतको हरियाणाबाट पक्राउ गरेर शुक्रबार नेपाल ल्याएको छ । अनुसन्धान कार्यालयको टोलीले प्राविधिक विश्लेषण र विशेष सूचनाको आधारमा हरियाणा पुगेको सूचना पाएपछि पक्राउ गर्न डीएसपी अनिल घिमिरेको टोली हरियाणा पुगेको थियो ।
सोही टोलीले अजय र दिपकलाई पक्राउ गरेर नेपाल ल्याउन सफल भएको हो । यसअघि अनुसन्धान कार्यालयको टोलीले ने विक्रममाथि आक्रमण गर्ने समूहका अर्का आरोपी गोरखा आरूघाट गाउँपालिका–८ का सिजन अधिकारीलाई समेत भारतको दिल्लीबाट पक्राउ गरेर नेपाल ल्याएको थियो ।
त्यस्तै गोरखा गण्डकी गाउँपालिका–४ का २८ वर्षीय निश्चल सुनारलाई झापाबाट पक्राउ गरेको थियो । घटनामा संलग्न नुवाकोट बेलकोटगढी नगरपालिकाका मार्सल भन्ने शैलेन्द्र तामाङ भने घटनालगत्तै पक्राउ परेका थिए ।
उनलाई भने जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो ।
विक्रममाथि चार जनाको समूहले आक्रमण गरेका थिए । पक्राउ परेका शैलेन्द्र तामाङ र निश्चललाई भने जिल्ला अदालत काठमाडौंले माघ ३ मा पुर्पक्षका लागि जेल चलान गरेको थियो । सिजन अधिकारीलाई भने ५० हजार रुपैयाँ धरौटी लिएर छाडेको थियो ।
विक्रममाथि नै आक्रमण गर्ने योजनाकारका रुपमा पक्राउ परेका गण्डकी प्रदेशका तत्कालीन सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) का सहयोगी टीका भण्डारी र पदम राईमाथि भने जिल्ला सरकारी वकिल कार्यालय मुद्दा नचल्ने निर्णय गरेका थिए ।
विक्रममाथि कात्तिक ११ गते उनको कार्यालय नजिकै लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा अन्धाधुन्ध रड प्रहार गरिएको थियो । उनी घटनाबाट भाग्यबस बाचेका थिए । उनी अपचारका लागि एक महिना अस्पताल भर्ना हुनुपरेको थियो ।
यसरी परे अजय प्रहरीको फन्दामा
प्रहरीले विक्रममाथि आक्रमण लगत्तै अजयको खोजी तीव्र पारेको थियो । तर, अजयसहित विक्रममाथि आक्रमण गर्ने शैलेन्द्र तामाङबाहेक अजय, दिपक र निश्चल तीन जनाले काठमाडौं छोडे ।
प्रहरी उनीहरुले प्रयोग गर्ने मोबाईल र सामाजिक सञ्जालमार्फत उनीहरुको खोजीमा थियो । तर, प्रविधिको प्रयोगले आफूहरु पक्राउ पर्नेसक्ने भयले उनीहरुले मोबाइल फोनसमेत परिवर्तन गरेर चलाउने गर्थे । उनीहरु आफन्तसित समेत सम्पर्कमा थिएनन् । प्रहरीले उनीहरुको आफन्तले चलाउने नम्बरमा कुनै नयाँ नम्बरको फोन आउँदा उनीहरुमाथि निगरानी बढाउँथ्यो ।
त्यही प्राविधिक विश्लेषणको आधारमा प्रहरी उनीहरुको खोजीमा थियो । घटनालगत्तै उनीहरु गोरखा पुगेको खुल्यो । प्रहरी उनीको पिछा गर्दै गोरखा नै पुुग्यो । तर, प्रहरी नै गोरखा पुगेको चाल पाएपछि उनीहरु गोरखा छोडेर हिँडेरै चितवन पुगे । प्र्रहरीले उनीहरुको पिछा छाडेको थिएन ।
उनीहरु तीनजना नै चितवन हुँदै झापा हानिए । प्रहरीले घटनाको एक महिनासम्मको प्रयासपछि निश्चललाई झापाबाट पक्राउ गर्न सफल भयो । त्यो बेला आक्रमणका नाइके अजय र दिपक समेत सँगै थिए । तर, निश्चल पक्राउ पर्नासाथ प्रहरी पुगेको सुइँको पाएका अजय र दिपक प्रहरीको पञ्जाबाट उम्किन सफल भए ।
प्रहरीको अनुसन्धानका क्रममा त्यो बेला दिपक भागेर चितवन पुगे । अजय धरान हानिए । निश्चल पक्राउ परेपछि भने अजय र दिपकसमेत छुट्टिइसकेका थिए । अजय धरान हुँदै भारत हानिए । दिपक चितवनमै थिए । प्रहरीको अनुसन्धानका क्रममा अजय आफ्ना भारतीय साथी पप्पुमार्फत लखनउ पुगे ।
त्यो बीचमा भारतीय साथीसित अजय बुटबलसमेत पुगे । बुटवल हुँदै उनीहरु पुनः लखनउ पुगे । लखनउ पुगेपछि भने अजयले चितवनमा रहेका दिपकलाई समेत भारत बोलाए । दिपकसमेत भारत पुगेको केही दिनमा भने उपत्यका अनुसन्धान कार्यालयको टोलीसमेत भारत पुगेको हो ।
अजय र दिपक लखनउ हुँदै हरियाणा पुगेको खुलेपछि भने अजय र दिपक दुवै प्रहरीको फन्दामा परेका हुन् । उनीहरु पक्राउबाट जोगिन एक एक दिनमा होटलसमेत फेर्दै बस्ने गरेको खुलेको छ । त्यो बाहेक दिपकले आफू जोगिन आफ्ना दाइको कार्ड र विराट शाहको नामबाट भारतीय आधार कार्डसमेत लिएको फेला परेको छ ।
अजयको बयान सुपारी पाएपछि आक्रमण गरे
शुक्रबार पक्राउ परेका मूख्य नाइके अजय लामाले विक्रममाथि आक्रमण गर्न ‘सुपारी’ पाएपछि मात्रै योजना बनाएको खुलाएका छन् । उनले भनेका छन्,‘‘अजयसित मेरो व्यक्तिगत दुस्मनी पनि हो । तर, आक्रमण गर्न चाहिँ पैसाको अफर आएपछि गरेको हुँ । त्यसका लागि मैले विभिन्न समयमा गरेर १०–१५ लाख रुपैयाँ बुझेको छु ।’’
अजयले ज्यान मार्ने उद्देश्यभन्दा पनि हातखुट्टा भाच्ने सुपारी लिएर विक्रममाथि आक्रमण गरेको स्वीकार गरेका छन् । हाल जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडेका गोरखाका सिजन अधिकारीले रकम दिएको खुलाएका छन् ।
सिजनलाई भने धरान उपमहानगरपालिका–१३ घर भई हाल बेलायत बस्ने ५० वर्षीया लक्ष्मी राई र धादिङको ज्वालामुखी गाउँपालिका–४ का रमेश सिलवालले रकम उपलब्ध गराएको उनको भनाई छ ।
अजय भन्छन्,‘‘ मेरो लक्ष्मी राई र रमेशसित सिधा सम्पर्क होइन । तर, सिजनमार्फत रमेश र लक्ष्मी जोडिएका हुन् । विक्रममाथि उनीहरुकै योजना पछि आक्रमण गरेको हुँ ।’’
विक्रममाथि आक्रमण गर्न सात महिना लागेको समेत अजयले खुलाएका छन् । आफू जेलबाट छुटे लगत्तै विक्रममाथि आक्रमणको योजना बनाएको र आक्रण गर्न थप पैसा समेत पाएपछि त्यो सफल पारेको उनको भनाई छ ।
विक्रममाथि आक्रमण गर्न पछिल्लो सात महिना पूरा रेकी गरेको अजयले खुलाएका छन् ।
आक्रमण गर्ने चार जना नै पक्राउ परे पनि मूख्य योजनाकार लक्ष्मी राई र रमेश सिलवाल भने भागेर बेलायत पुगेका छन् । लक्ष्मीले बेलायतमै न्यु लक्ष्मी ज्वेलर्स समेत सञ्चालन गरेको खुलेको छ । लक्ष्मीसित नेपाली र बेलायती राहदानी समेत रहेको खुलेको प्रहरीले जानकारी गराएको छ ।