तिबु, कोलम्बिया । कोलम्बियामा नेशनल लिबरेसन आर्मी (इएलएन) विद्रोहीको आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ ।
कोलम्बियामा अहिले पनि सक्रिय सशस्त्र समूहमध्ये सबैभन्दा ठूलो बामपन्थी लडाकू समूह नेसनल लिबरेशन आर्मी (ईएलएन)का लडाकुहरू हालैका दिनहरूमा भएको भिडन्तमा कोलम्बियाको रिभोल्युसनरी आम्र्ड फोर्सेज अफ कोलम्बिया (फार्स)का विद्रोहीहरूविरुद्ध उत्रेका छन् ।
भेनेजुएलासँग सीमा जोडिएको अशान्त क्याटाटुम्बो क्षेत्रमा पछिल्लो आक्रमणपछि भएको भिडन्तमा मृत्यु हुनेको संख्या ६० पुगेको अधिकारीहरूले शनिबार बताएका छन् ।
प्रतिद्वन्द्वी समूहहरूले वर्षौंदेखि यस क्षेत्रमा कोकिनको व्यापारनियन्त्रणका लागि लडाइँ गर्दै आएका छन् ।
कोलम्बियामा सन् २०१६ मा फार्कसँग ५० वर्षभन्दा लामो युद्धपछि शान्ति सम्झौता भएको थियो ।
ईएलएनको दक्षिणपन्थी अर्धसैनिक बल क्लान डेल गोल्फोसँग पनि भिडन्त भएको थियो, जुन देशको सबैभन्दा ठूलो ‘कोकिनको कारोकार (ओसारपसार)’ गर्ने समूह हो ।
सैन्य कमाण्डर जनरल लुइस एमिलियो कार्डोजोले शनिबार भने, “देशको क्याटाटुम्बो क्षेत्रमा निकै नाजुक अवस्था छ ।”
उनले एक्समा सेनाद्वारा प्रकाशित एक भिडियोमा भनेका छन्, “ईएलएन र फार्क विद्रोहीबीचको युद्धविरामको ‘उल्लंघन’ले “सर्वसाधारणमा व्यापक असर छ ।”
उनले भने, “उनीहरूले स्थानीय निहत्था नागरिकलाई घरबाट निकालेर दयनीय तरिकाले हत्या गरेका छन्, सबै मानव अधिकारको उल्लंघन गरेका छन् । यो क्षेत्रलाई स्थिर बनाउने राष्ट्रिय सेनाको रूपमा हामीमा निर्भर छ,” कार्डोजोले यस क्षेत्रमा तैनाथ सयौं सैनिकहरूलाई सम्बोधन गर्दै भने ।
सन् २०२२ मा निर्वाचित भएपछि राष्ट्रपति गुस्ताभो पेट्रोले अझै पनि कोलम्बियाको केही भागहरूमा नियन्त्रण गरिरहेका इएलएन र अन्य सशस्त्र समूहहरूसँग वार्ता सुरु गरेका थिए । रासस/एएफपी