site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणबाट आर्जित कसको कति सम्पत्ति जफत गर्दै छ गृह मन्त्रालय ?

काठमाडौं । सर्वाेच्च अदालतबाट २०६८ भदौ २१ गते नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चर्तुवेदीलाई भ्रष्टाचारी ठहर गर्दै सम्पत्ति जफतको फैसला सुनाएको थियो । उनीसँग भएको सम्पत्तिमध्ये स्रोत नखुलेको एक करोड ३९ लाख २४ हजार रुपैयाँ भ्रष्टाचारबाटै आर्जित भएको ठहर गरी बिगो बराबर जरिवानासहित जफत गर्नू भन्ने फैसला थियो ।

तर, सर्वाेच्च अदालतको फैसला १३ वर्षसम्म कार्यान्वयन नहुँदा सम्पत्ति जफत भएन । चर्तुवेदीको पनि २०७८ असोजमै निधन भइसकेको छ ।

यतिखेर गृह मन्त्रालय फैसलाअनुरूप भ्रष्टाचार आर्जित सम्पत्ति जफत गर्न अघि बढ्दै छ । चर्तुवेदीसहित सिचाइँ विभागका पूर्वमहानिर्देशक आमोदानन्द मिश्रको पनि स्रोत नखुलेको सम्पत्ति जफत हुने भएको छ । मिश्रको पनि निधन भइसकेको छ ।

भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्ति जफतको फैसला भएको लामो समयपछि जफतको प्रक्रिया अघि बढाएको हो ।

भ्रष्टाचार, अवैध र आतंकवाद गतिविधिबाट आर्जित सम्पत्ति जफतका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद्‌मा फाइल पठाएको जानकारी गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले दिए ।

यसरी हाल सम्पत्ति जफतको प्रक्रिया अघि बढाएकामा पाँच जना पूर्वप्रशासक र एकजना आपराधिक गतिविधिमा संलग्न भारतीय नागरिक छन् ।

भ्रष्टाचारी ठहरिएका मुरारीबहादुर कार्की, केशरजंग खड्का, सरस्वती ढुंगाना, सरिता गिरी राई तथा उनका परिवारको नाममा रहेका काठमाडौंका ठाउँको सम्पत्ति जफत गर्न लागिएको हो ।

मुरारीबहादुर कार्की आन्तरिक राजस्व विभागका पूर्वनिर्देशक हुन् । उनी २०६९ जेठमा भ्रष्टाचारी ठहरिएका थिए । सर्वाेच्च अदालतले कार्कीसँग भएको सम्पत्तिमध्ये ३६ लाख १५ हजार स्रोत नखुलेको सम्पत्ति भएको हुँदा त्यसबाट बढे/बढाएको जफत गर्नू भनेको थियो ।

महानिर्देशक पन्थीका अनुसार, आमोनन्द मिश्रले छोरा अजितकुमार मिश्रको नाममा रहेको लाजिम्पाटको आठ आना दुई पैसा एक दाममा बनेको घरसहित जग्गा जफत गर्ने प्रक्रिया सुरु भएको छ । त्यस्तै, सरस्वती ढुंगानाको ललितपुर थसिखेलको एक रोपनी जग्गा जफत हुनेछ ।

यसैगरी, मुरारी कार्कीकी आफन्त शकुन्तला कार्कीको नाममा रहेको एक रोपनी जग्गा र त्यसमा बनेको साढे तीनतले घर, केशरजंग खड्काको कोटेश्वरमा रहेको दुई आना तीन दाम जग्गा, रामाज्ञा चतुर्वेदीको पेप्सिकोलाको दुई आना जग्गा जफतको प्रक्रिया अघि बढेको हो ।

उनीहरूले सरकारी सेवामा रहेका बखत भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्ति हो । यसरी नै सरिता गिरी राईको जोरपाटीको ९० वर्गमिटर जग्गा र जोरपाटीकै ३७९.८० वर्गमिटरमा बनेको घर र जग्गा जफतको प्रक्रिया अघि बढेको हो । सरिता राई भने कुनै सार्वजनिक पद धारण गरेकी व्यक्ति होइनन् ।

उनी भारतीय नागरिक निरञ्जन होजाईकी श्रीमती हुन् । भारत आसमका होजाईले सिन्धुपाल्चोककी सरितासँग विवाह गरेका थिए । होजाईले निर्मल राईको नाममा किर्ते नागरिकतासमेत लिएको खुलेको थियो ।

होजाईले अवैध तरिकाले आर्जन गरेको सम्पत्ति सरिता गिरीका नाममा राखेका थिए । निरञ्जन होजाई लागुऔषध कारोबारीदेखि विभिन्न आपराधिक गतिविधिमा संलग्न थिए । सर्वोच्च अदालतले उनको अवैध कारोबारबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको ठहरसहित जफत गर्न २०७२ माघ सालमै फैसला गरेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro