site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सदस्यले नै समितिको औचित्यमाथि प्रश्न उठाएपछि...

काठमाडौं । संघीय संसद्को समितिका सदस्यलै नै समितिको औचित्यमाथि प्रश्न उठाएका छन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) समितिका सदस्यले समितिको काम नै नभएको टिप्पणी गरेका हुन् ।

आइतबारको समिति बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले आवश्यकता नरहेको टिप्पणी गरे । उनको अभिव्यक्तिमाथि सांसदहरूले आलोचना गरे ।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संविधानमा व्यवस्था भएको नीतिअनुसार कामकारबाही भएको छ कि छैन भनेर प्रश्न गर्ने समितिको औचित्यमाथि प्रश्न गर्नु संविधान र नियमावलीविपरीत भएको बताए ।

“प्रत्येक मन्त्रालय, राज्यका प्रत्येक अंग, सिद्धान्त र संविधानमा व्यवस्थामा भएको नीतिअनुसार कामकारबाही भएको छ कि छैन भनेर प्रश्न गर्ने समितिको काम छैन भन्नु संविधानतः, नियमावली अनुसार मिलेन,” परियारले भने ।  

उनले समावेशी, संघीयता कार्यान्वयन, समानता, गरिबी, राज्य कस्तो बनाउने भन्नेमा संविधानले परिकल्पना गरेको कुरामा राज्यका निकायले काम गरेको छ कि छैन भनेर कसीमा राख्ने काम समितिको भएको बताए । परियारले शक्तिशाली समितिको काम भएन भन्ने कुरा जिम्मेवारपूर्ण नभएको बताए ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले मुलुकलाई आवश्यकता भएर नै संयुक्त समिति गठनको व्यवस्था गरिएको बताए । यसको औचित्यमाथि प्रश्न उठाउन नमिल्ने उनको भनाइ थियो ।

त्यस्तै, नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमलसेनाले पनि तामाङको टिप्पणीमा आपत्ति जनाए ।

“बुद्धिमानजीको पार्टी संविधानमा सरिक भएन । त्यसैले संविधानको व्याख्या थाहा नभएर मान्यज्यूले भन्नुभएको हो । यो जस्तो शक्तिशाली समिति नै छैन, स्मरण रहोस्,” तिमलसेनाले भने ।

बैठकको एजेन्डाप्रति सवाल–जवाफ
आइतबारको बैठकको एजेन्डा थियो– नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसद्‌मा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन (आ.व. २०७९/०८०) का सम्बन्धमा । अर्थात्, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले संसद्‌मा प्रस्तुत गरेको वार्षिक प्रतिवेदन कार्यान्वयको अवस्थाबारे छलफल ।

नेकपा (एमाले)का सांसद लालप्रसाद सावाँ लिम्बू र नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले पुराना प्रतिवेदनमाथि छलफल गर्नुको अर्थ नरहेको टिप्पणी गरे ।

“पहिलेको प्रतिवेदनमाथि छलफल गरेर के अर्थ ? मुख्यसचिवज्यूले नयाँ विधेयक ल्याउने विषयमा ब्रिफिङ गर्नुभयो । एजेन्डा र मुख्यसचिवकै कुरा मिलेन । दुई वर्षमा सरकारले के–के गर्‍यो, गर्‍यो,” उनले भने ।

उनले सरकारको प्रतिवेदन आउन कति महिना वा वर्षमा लाग्छ भनी प्रश्न समेत गरे । अब आउने वर्षको प्रतिवेदनबारे छलफल गर्नुपर्ने सांसद सावाँको भनाइ थियो ।

उनको कुरामा सहमति जनाउँदै कांग्रेस सांसद बडूले संसद्ले पास गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा रहेका समस्याको खोजी गर्नुपर्ने आवश्यकता औंल्याए ।

“अहिलेको नीति कार्यक्रमको अनुगमन पनि हाम्रो दायित्वभित्र पर्छ । हामीले पास गरेको नीति तथा कार्यक्रममा कहाँ छ त्रुटि, किन कार्यान्वयन हुन सकिरहेको छैन भन्ने विषयको पनि हामी समीक्षा गरौँला,” उनले भने ।

अघिल्लो वर्षको प्रतिवेदनमाथि छलफलको आवश्यकता नरहेको भन्ने अभिव्यक्तिप्रति पनि समितिका सदस्यहरू विभाजित भए ।

रास्वपाका प्रमुख सचेतक परियारले पुराना प्रतिवेदनअनुसार काम भएको नभएको हेर्नुपर्ने बताए । “अनि पुराना रिपोर्ट हेरेर घाटा हुन्छ जस्तो पनि मलाई लाग्दैन । हामीले पुराना रिपोर्ट हेरेर त्योअनुसार काम भए/नभएको संसद्‌मा प्रस्तुत गर्ने होला नि,” उनी भन्छन् ।

उनले पुराना प्रतिवेदन इमानदार भएर अध्ययन फगत नहुने र समितिलाई क्रियाशील बनाउनुपर्ने बताए ।

त्यस्तै, एमाले सांसद सरस्वती सुब्बाले संविधानअनुसार नै समिति बनेको बताइन् । उनले शक्तिशाली समितिले गर्ने कामलाई व्यवस्थित बनाउँदै लैजानुपर्नेमा जोड दिइन् ।

समिति सभापति ठाकुर गैरेले समिति बनेको धेरै नभएको भन्दै यसलाई व्यवस्थित रुपमा अघि बढाइने बताए ।

माओवादी सचेतकको प्रश्नमा कांग्रेस सांसदको जवाफ !
बैठकमा माओवादीका प्रमुख सचेतक पाण्डे र कांग्रेस सांसद तिमलसेनाबीच सवाल–जवाफ नै भयो ।

पाण्डे कतिपय विषय कागजमा लेखिए पनि व्यवहारमा लागु नभएको भन्दै आक्रोशित भएका थिए । उनले काुननी व्यवस्था गरिए पनि जनताका समस्याहरू समाधान गर्न नसकिएको बताए ।

“हामी नेपाली कागजमा चाहीँ विकास गरेको गर्‍यै गर्ने तर जनताको मनमा र फिल्डमा कागजमा लेखेको कुरा केही पनि नहुने,” उनले भने ।

उनले नेपालको पुँजीगत खर्च कति बेलासम्म कति हुनुपर्छ ? के कारणले रोकियो ? किन भएन ? भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बताए । उनले संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंगोमा पुर्‍याउन रोकिएकोमा आपत्ति जनाए ।

सरकारले अत्यावश्यक परेका विषयमा मात्रै अध्यादेश ल्याउन पाउने भन्दै समिति स्वार्थका लागि ल्याइएको हो कि भन्ने प्रश्न गरेका थिए ।

कांग्रेस सांसद तिमलसेनाले आफू पदमा हुँदा केही नगर्ने र बाहिर निस्किँदा यस्तो गर्थे भनि फेहरिस्त सुनाउने प्रवृति रहेको भन्दै पाण्डेमाथि व्यंङ्ग्य गरे ।

“पदमा हुँदा कार्यान्वयन हुँदैन । पद सकिएपछि यस्तो गरेको भए राम्रो हुन्थ्यो, यस्तो गर्थे भन्ने आउँछ । पदमा हुँदा पनि गरेको भए हुन्थ्यो नि ? आफ्नो पालामा काम गरेर देखाएर परिणाम ल्याइदिएको भए उत्तम हुन्थ्यो,” उनको भनाइ थियो ।

उनले संक्रमणकालीन न्यायको विषयमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहेका बेला नै सकेको भए हुन्थ्यो नि भन्दै जवाफ दिए ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro