site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
कसरी होस् संविधान संशोधन !

राजनीति अहिले जति ह्रासोन्मुख सायद पहिले कहिल्यै थिएन । नेपालमात्र होइन, संसारभर नै अहिले राजनीतिक दलका नेताहरूप्रति वितृष्णा बढ्दो छ । नेताहरूको व्यक्तित्वको स्तर निरन्तर खस्केको खस्केकै छ । दुर्भाग्य, नेपाल यसको अपवाद होइन उदाहरण बन्न पुगेको छ ।

साझा प्रवृत्ति : सत्ताको स्वाद
संसदीय अभ्यासमा सामान्यतः प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलले सरकार बनाउँछ भने दोस्रो ठूलो दल विपक्षमा बस्छ । यसपटक नेपालमा दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार बनाएका छन् र यसलाई उनीहरूले ‘अस्थिरता अन्त्य गर्ने उपाय’ भनेका छन् । संसदीय अभ्यासविपरीतको गठबन्धन बनाउनुको औचित्य पुष्टि अर्को कारण दिइएको थियो– संविधान संशोधन । केही समय सत्ता र विपक्षका नेताहरूको थेगो नै बनेको थियो यो संविधान संशोधन । विपक्षी विशेषगरी माओवादी नेताहरूले त एमाले र कांग्रेस मिलेर संविधानलाई ‘प्रतिगामी’ बनाउने भए भनेर निकै कोहोलो मच्चाए । सत्ता पक्षका नेता प्रतिवाद र प्रतरक्षामा लागे । 

यसबीच सरकार भने ‘औसत’ भन्दा फरक भएन । जसरी चल्दै आएको थियो उसरी नै चल्दै गयो । मन्त्रीहरूको अनुहार फेरियो अरू सरकारको काम गर्ने शैली र हाकिमहरूको संस्कार केही फेरिएन । यसबीच के चाहिँ स्थिर भयो र कुन अस्थिरता हट्यो कसैले केही दाबी गरेका छैनन् । यस्तै, सरकारको कुन कुन काम प्रतिगमनकारी भयो विपक्षले त्यो पनि भनेको छैन ।

Dabur Nepal
NIC Asia

यसो हुनु अनपेक्षित भने होइन । किनभने न यो गठबन्धनको प्राथमिकता संविधान संशोधन थियो न माओवादी नेताहरूलाई देश प्रतिगमनतर्फ जाला भन्ने चिन्ता नै छ । दुवैथरीको साझा प्रवृत्ति हो सत्ताको स्वाद ।

एकलौटीको सपना जपना
राजनीतिक दलका नेताहरू सधैँ नै एकलौटी शासन गर्न नपाएर देशको विकास नभएको भन्छन् । ‘बहुमत’ माग्नु र खोज्नुको अर्थ यही न हो । तर, एकलौटी शासनका लागि संघीयता र समानुपातिक प्रतिनिधित्वको व्यवस्था तगारो बनेको छ । संघीयता हुँदासम्म प्रदेश सरकारमा विपक्षीको सरकार बन्ने सम्भावना कायमै रहन्छ ।

यस्तै, समानुपातिक प्रतिनिधित्वको अहिलेको व्यवस्थामा प्रतिनिधि सभामा बहुमत ल्याउन ठूलै चुनावी लहर ल्याउन सकेमात्र सम्भव देखिन्छ । राजनीतिक क्षितिजमा अहिले त्यसरी देशभर चुनावी लहर ल्याउन र समर्थन पाउन सक्ने कुनै ‘माइका लाल’ देखापरेको छैन । यसैले समानुपातिक प्रतितिधित्व रहुन्जेल एकलौटी शासनको मौका पाउन गाह्रै छ ।

संसदीय पद्धतिमा असंसदीय भाँजो
नेताहरूलाई संविधानमा संशोधन गर्न परेको यिनै विषयका कारणले न हो । संसदीय अभ्यास र मर्मविपरीत दुई वर्षसम्म सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्न नपाइने प्रावधान हटाउने विषय त कसैले उठाएका छैनन् । अविश्वासको प्रस्तावलाई निकै अप्ठेरो बनाइएको छ । तर, यसबीच सरकार परिवर्तनको दरमा भने खासै कमी त भएन । 

यथार्थमा संविधानको धारा १०० को उपधारा (४)को ‘तर प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वासको प्रस्ताव पेस गर्न सकिने छैन ।’ प्रतिबन्धात्मक वाक्यांश संसद्लाई अनुचित बन्धनमा राख्ने नियतबाट गरिएको जुगाड हो । यसैले यसले काम गरेन । 

यसैगरी धारा १०० कै उपधारा (५) पनि यस्तै भाँजो हो । अविश्वासको प्रस्ताव पेस गर्दा नै प्रधानमन्त्रीका लागि प्रस्तावित सदस्यको नामसमेत उल्लेख गर्नुपर्ने प्रावधान पनि संसद्लाई नै कमजोर बनाउने कुनियतको उपज हो । कुनै सांसदले नेताहरूविरुद्ध टाउको उठाउन नसकोस् भन्ने यसको मनसाय हो । 

अविश्वासको प्रस्तावको बाटो यसरी नथुनिएको भए विपक्षीहरूले अमूर्त विशेष अधिवेशनको माग गरिरहनै पर्ने थिएन । सरकारका पक्षविपक्षमा सदनमा बहस हुन्थ्यो भने सरकारको शक्ति परीक्षण पनि हुन्थ्यो । प्रस्तावको निर्णयपछि बहस टुंगिन्थ्यो । तर, संविधान बनाउन बसेका चंखेहरूले कथित स्थिरताका नाममा अधिनायकवादी अस्थिरता बढाउने उपाय अपनाए ।

पञ्चायतमा जस्तै !
संविधानका यी प्रावधानले पञ्चायती संविधानमा २०३७ मा गरिएको संशोधनपछि राखिएको महाभियोग व्यवस्था सम्झाउँछ । राष्ट्रिय पञ्चायतको दुईतिहाइ सदस्यले पारित गरेको महाभियोगबाट प्रधानमन्त्री हट्ने भएपछि राजाबाट मनोनीतहरूलाई लाइन आयो र सूर्यबहादुर थापा हटाइए । लोकेन्द्रका पालामा दरबारबाट आएको ‘मन्त्र’ सुनाइयो र प्रस्तावै खारेज भयो । राष्ट्रिय पञ्चायत त संसदै होइन भनेर उतिबेलै सर्वोच्च अदालतले निर्णय गरेको थियो । प्रतिनिधि सभा त संसद् हो नि । संसदीय अभ्यासमा यसरी छेकथुन लगाएपछि जम्ने त विकृतिकै दह न हो ।   

संसद्को आदर्श स्वरूप
आदर्श संसद्को आकार जनसङ्ख्याको संरचनाजस्तै हुनुपर्छ । जनसङ्ख्यामा समूहको अनुपातअनुसार संसद्मा प्रतिनिधित्व हुनुपर्छ । यसका लागि पूर्ण समानुपातिक प्रतिनिधित्व अपनाउनुपर्छ । अस्थिरताको दुहाइ दिएर संसद्मा अविश्वासको प्रस्ताव त राख्न रोक्नेहरूले कसरी पचाउलान् र यस्तो लोकतान्त्रिक अभ्यास ?

प्रतिगमन प्रत्युत्पादक !
कांग्रेस एमालेको संस्थापनलाई पनि चित्त नबुझेको संघीयता र समानुपातिक प्रतिनिधित्वको प्रावधान हो । संघीयतालाई कमजोर हुनेगरी चलाउन खोजियो भने देशले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ । अब एकात्मक र एकलौटी शासन नेपालमा चल्ने सम्भावना बिरलै देखिन्छ । यसैले संविधान संशोधन गर्ने हो भने संघीयतालाई थप बलियो बनाउनुपर्छ । संघीयताको विकल्प खोज्नु राष्ट्रियताकै लागि प्रत्युत्पादक हुनसक्छ ।

यस्तै समानुपातिक प्रतिनिधित्व त नेताहरूको नियतले न बिग्रेको हो । संसद्को संरचना जनसङ्ख्याको आकारसँग मिल्ने गरी समानुपातिक प्रतिनिधित्व हुनुपर्छ । अन्य सार्वजनिक पदमा समानुपातिक सिद्धान्तबमोजिम योग्यताका आधारमा नियुक्त गरिनुपर्छ । अनिमात्र न्यायोचित र पूर्णलोकतान्त्रिक हुन्छ । 

अहिलेसम्मको उलपब्धि मेटेर उल्टो दिशामा जान जनताले दिँदैनन् । पार्टीहरूभित्रै पनि विद्रोह हुनसक्छ । अर्कातिर झन् अगाडि बढ्न नेताहरूको मन मान्दैन । अनि के गरेर होस् संविधान संशोधन ! 

र, अन्त्यमा

राष्ट्रपति बाइडेनको बिदाइ भाषण
पदावधि सकिने बेलामा बिदाइ भाषण दिँदै अमेरिकाका ४६औँ राष्ट्रपति जोसेफ बाइडेन (जुनियर)ले अमेरिकामा भ्रष्टतन्त्रले शक्तिशाली हुँदै गएको भन्दै चेतावनी दिएका छन् । गत बुधबार दिइएको भाषणमा उनले भनेका छन्– ‘आज अमेरिकामा असीमित सम्पत्ति, पद र प्रभावका कारण जन्मन लागेको ‘अल्पतन्त्र’का कारण लोकतन्त्र, हाम्रो आधारभूत अधिकारहरू र स्वतन्त्रता सङ्कटमा परेका छन् ।’

सम्पति, शक्ति र उन्नत प्रविधिमा सीमित व्यक्तिको नियन्त्रणले अमेरिकीहरूमाथि अनियन्त्रित शक्ति प्रयोग गरिन सक्छ । भाषणमा उनले जलवायु परिवर्तन तथा समाजिक सञ्जालबाट भइरहेको दुष्प्रचारको पनि उल्लेख गरेका छन् ।

रिपब्लिकन पार्टीमा उमेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसारकै सबैभन्दा धनी एलन मस्कले चुनावमा तन, मन, धनले सहयोग गरेका थिए । चरम दक्षिणपन्थी विचारका मस्कलाई ट्रम्पले आगामी प्रशासनमा सरकारी खर्च कटौती गर्ने विभागको जिम्मा दिएका छन् । तर, जर्मनीको चुनावदेखि बेलायतको राजनीतिसम्म मस्कले गरेको टिप्पणीहरूले ट्रम्पको शासनको संकेत दिएको छ । 

बाइडेनको बिदाइ भाषण सत्य सावित हुने सङ्केत देखिएको छ । अदालतले यौन अपराधमा कसुरदार ठहर गरिसकेको र निर्वाचन परिणामसमेत स्वीकार नगरी उपद्रो मच्चाएको मुद्दा चलिरहेको व्यक्तिलाई राष्ट्रपति पदमा जिताउने अमेरिकीहरूले त भोग्ने नै छन् । आशा गरौँ, संसारभरका मानिसहरूले अमेरिकी अल्पतन्त्रको परिणाम भोग्नु नपरोस् !

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro