काठमाडौं । ‘डिपेन्डेन्ट’ भिसामा विदेश जाने नेपालीमा पुरुषको तुलनामा महिलाको संख्या झन्डै दुई गुणा बढी रहेको पाइएको छ ।
अध्यागमन विभागका अनुसार, सन् २०२४ मा ३३ हजार ९०९ नेपाली डिपेन्डेन्ट भिसामा विदेश गएका थिए । उनीहरूमध्ये महिलाको संख्या २१ हजार ७९४ र पुरुषको संख्या १२ हजार ११४ छ ।
अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा डिपेन्डेन्ट भिसामा विदेश जाने नेपालीको संख्या बढेको छ । अघिल्लो वर्ष सन् २०२३ मा २० हजार ६१३ जना नेपाली डिपेन्डेन्ट भिसामा विदेश गएका थिए । सन् २०२३ को तुलनामा २०२४ मा १३ हजार २९६ जना बढी संख्यामा नेपाली डिपेन्डेन्ट भिसामा विदेश गएको देखिन्छ ।
सन् २०२३ मा आठहजार ८६ जना पुरुष र १२ हजार ५२७ जना महिला डिपेन्डेन्ट भिसामा विदेश गएका थिए ।
सन् २०२४ मा परिवारका सदस्यसँग भेटघाट गर्ने उद्देश्यले विदेश जाने नेपालीमा पनि पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । यसरी विदेश जाने धेरै छोरा–बुहारी तथा छोरी–ज्वाइँ भेट्न जानेहरू छन् ।
सन् २०२४ परिवारका सदस्य भेट्न जाने उद्देश्यले एक लाख ३१ हजार ७९६ नेपाली विदेश गएका थिए । यसरी विदेश जानेमा महिलाको संख्या ७७ हजार २५६ जना र पुरुषको संख्या ५४ हजार ५३१ रहेको विभागको तथ्यांकले देखाउँछ ।
अघिल्लो वर्ष २०२३ मा परिवारका सदस्यसँग भेटघाट गर्ने उद्देश्यले ९६ हजार ६७३ महिला र ७० हजार ८०८ पुरुष गरी कुल एक लाख ६७ हजार ४८५ नेपाली विदेश गएका थिए ।