काठमाडौं । सन् १९९० को दशकमा भुटानबाट विस्थापित हुन बाध्य भुटनिज शरणार्थीको कथामा ‘ल्हो–छाम्पा’ चलचित्र बन्ने भएको छ । चलचित्रले भुटानबाट नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरको पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्वन्द्वलाई प्रस्तुत गर्नेछ । ‘ल्हो–छाम्पा’ भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द हो ।
चलचित्रलाई नक्षत्र लाइभ म्युजिकका लागि अर्जुन सुवेदीले निर्माण गर्नेछन् । निर्माता सुवेदीले आफूले भोगेको समयलाई आउँदो पुस्तालाई दस्तावेजीकरण गर्ने उद्देश्य साथ चलचित्र निर्माणमा अग्रसर भएको बताएका छन् ।
चलचित्रलाई नरेशकुमार केसीले निर्देशन गर्नेछन् । उनको यो तेस्रो निर्देशकीय चलचित्र हुनेछ । नरेशले यसअघि ‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ निर्देशन गरेका छन् । उनले चलचित्रले मान्छेको स्मृतिदंश र पहिचानबिनाको अवस्थालाई प्रस्तुत गर्ने बताए ।
“मानिस जहाँ गए पनि उसको स्मृतिले पछ्याइरहन्छ । यो चलचित्रले पनि स्मृति र मान्छेको भूगोलसँग जोडिएको पहिचानको कथा भन्छ । सँगसँगै कथाले आप्रवासनका आयामलाई पनि समेट्ने छ”, नरेशले बताए ।
चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा र अर्जुनको पोखरेलको संगीत रहनेछ । संगीतकार पोखरेलले चलचित्रमा कथासँग जोडिएर आउने गरी गीत तयार गरिने जानकारी दिएको निर्माणपक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
चलचित्रका लागि कलाकारको टुंगो लाग्न बाँकी छ । निर्माता सुवेदीले केही दिनमै कलाकार र प्राविधिकको नाम सार्वजनिक गर्ने जानकारी गराए । उनले चलचित्रको सुटिङ वैशाखको दोस्रो हप्तादेखि गर्ने योजना रहेको जनाएका छन् ।