site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विपीन जोशीलाई रिहा गर्न परराष्ट्रमन्त्री राणाको दौडधुप, एक सातामा के गरिन् ?

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली विद्यार्थी विपीन जोशीलाई रिहा गर्न पछिल्लो साता निकै दौडधुप गरिन् । प्यालेस्टिनी चरमपन्थी समूह हमासले बन्धक बनाएका विपीनको रिहाइका लागि उनले तीन राजदूत, एक विदेशमन्त्री र एक विदेश राज्यमन्त्रीसँग कुराकानी गरिन् ।

हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री राणाले भेटघाट र कुराकानीलाई तीव्रता दिएकी हुन् ।

“हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरूलाई विपीनको रिहाइका लागि थप पहल गरिदिन अपिल गर्ने काम गरिरहेकी छु,” परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनको सक्रियताको प्रतिफल छिट्टै देखिने विश्वास गरिएको छ । परराष्ट्रमन्त्री राणाले मंगलबारमात्र कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफी र इजरायलका विदेशमन्त्री गिडियन सारसँग फोनवार्ता गरेकी थिइन् । 

कतारले के भन्यो ?
कतारका विदेश राज्यमन्त्री अल–खुलाइफी तिनै व्यक्ति हुन्, जसले इजरायल र हमासबीच युद्धविराम गराउने वार्तामा प्रमुख वार्ताकार र मध्यस्तकर्ताको रूपमा काम गरिरहेका छन् । उनै अल–खुलाइफीसँग परराष्ट्रमन्त्री राणाले मंगलबार बिहान कुरा गरेकी थिइन् ।

इजरायल र हमासबीचको युद्धविराम वार्ता अन्तिम चरणमा पुगेको छ । छिट्टै युद्धविरामको घोषणा हुँदै छ । यसमा सबैभन्दा महत्त्वपूर्ण भूमिका कतारका विदेश राज्यमन्त्री अल–खुलाइफीले निर्वाह गरिरहेका छन् ।

सार्वजनिक भएको सम्झौताअनुसार, हमासले बन्धकहरूलाई चरणबद्धरूपमा रिहा गर्नेछ । इजरायलले पहिलो चरणमा ३४ जनाको नाम पठाएको छ, जसमा विपीनको नाम छैन । यही सूचना बाहिर आएपछि परराष्ट्रमन्त्री राणाले विपीनको रिहाइका लागि पछिल्लो साता सक्रियता बढाएकी हुन् ।

“कतारका मन्त्रीले इजरायल र हमासबीच छिट्टै युद्धविराम हुने सम्भावना रहेको बताउनुभयो,” परराष्ट्रमन्त्री राणा र कतारका विदेश राज्यमन्त्रीबीचको फोनवार्तामा सहभागी परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो, “हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीलाई सकेसम्म बन्धक रिहाइको पहिलो लटमा, त्यो नभए दोस्रो लटमा पर्ने गरी उच्च प्राथमिकतामा राखिएको जानकारी उहाँले दिनुभयो ।”

फोनवार्तामा मन्त्री राणाले कतारका राज्यमन्त्री अल–खुलाइफीसँग हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई रिहा गर्न लागेको समाचार आएकाले विपीनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी थिइन् ।

मन्त्री राणाले कतार नेपालको हितैषी मित्रराष्ट्र रहेको प्रसंग उल्लेख गरेकी थिइन् । कतारले हमाससँगको सम्पर्कमा रहेर शान्ति वार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकाले नेपाली विद्यार्थी विपीनको रिहाइका लागि पनि विशेष पहल गरिदिन उनले अपिल गरेकी थिइन् ।

“उहाँले हमास समूहलाई युद्धविराममा ल्याई बन्दीहरूलाई मुक्त गराउन कतार सरकारले पहल गरिरहेको जानकारी गराउँदै यस विषयमा छिट्टै नै सकारात्मक खबर आउने बताउनुभयो । यसबाट थप आशावादी भएका छौँ,” कतारका विदेश राज्यमन्त्रीसँगको फोन वार्तापछि परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् ।

फोनवार्तामा कतारका विदेश राज्यमन्त्री अल–खुलाइफीले नेपाल र कतार असल मित्रराष्ट्र भएको र गत वर्ष कतारका राजाले नेपाल भ्रमण गरेको स्मरण गरेका थिए । कतारले विपीनको रिहाइलाई उच्च प्राथमिकतामा राखेकामा कुनै शंका नगर्न उनले परराष्ट्रमन्त्री राणालाई आग्रह गरेका थिए ।

कसरी बने विपीन बन्धक ?
सन् २०२३ अक्टोबर ७ मा हमासले दक्षिण इजरायलमा अचानक आक्रमण गरेको थियो । आक्रमणमा १० नेपालीसहित एक हजार २०० जना मारिएका थिए ।

आक्रमणपछि हमासले इजरायलबाट नेपाली युवा विपीनसहित २५१ व्यक्तिलाई बन्धक बनाएको थियो । प्रतिक्रियास्वरूप इजरायलले गाजामा हमासविरुद्ध सैन्य आक्रमण थालेको थियो ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार, सन् २०२३ अक्टोबर ७ पछि इजरायली आक्रमणबाट ४६ हजार ५०० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् । 

अझै पनि ९४ जना हमासको नियन्त्रणमा रहेको दाबी इजरायलले गर्दै आएको छ । जसमध्ये ३४ जनाको मृत्यु भएको आशंका गरिएको छ । बन्धकको रिहाइका लागि अमेरिका र युरोपेली राष्ट्रहरूले इजरायलमाथि दबाब दिँदै आएका छन् । यसैक्रममा इजरायल र हमासबीच युद्धविराम वार्ता सकारात्मकरूपमा अघि बढिरहेको छ भने बन्धक रिहाइको पहल भइरहेको छ ।

यसैबीच, इजरायल र हमासबीचको युद्धविराम वार्ता निष्कर्षमा पुग्न लागेपछि नेपालले विपीनको रिहाइको पहललाई तीव्रता दिएको हो ।

इजरायल के भन्छ ?
परराष्ट्रमन्त्री राणाले मंगलबार साँझ इजरायलका विदेशमन्त्री गिडियन सारसँग फोनवार्ता गरेकी थिइन् । कुराकानीको केन्द्रविन्दुमा थिए, विपीन जोशी ।

“हामीले ७ अक्टोबर २०२३ देखि हमासद्वारा बन्धक बनाइएका विपीन जोशीको रिहाइ सुनिश्चित गर्ने प्रयासहरूबारे छलफल गर्‍यौँ । हामीलाई आशा छ, जोशी चाँडै रिहा हुनेछन्,” इजरायलका विदेशमन्त्रीसँग फोनवार्तापछि परराष्ट्रमन्त्री राणाले भनिन् ।

फोनवार्तामा मन्त्री राणाले इजरायल सरकारले विपीनसहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिएकी थिइन् । उनले नेपाली युवा विपीनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न विशेष आग्रह गरेकी थिइन् ।

त्यस अवसरमा इजरायलका विदेशमन्त्री सारले विपीनको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी मन्त्री राणालाई गराएका थिए । 

इजरायलका विदेशमन्त्री सारले मंगलबार बिहान परराष्ट्रमन्त्री राणाले कतारका विदेश राज्यमन्त्रीसँग कुराकानी गरेकामा खुसी व्यक्त गरेका थिए । कतारका मन्त्री हमाससँगको शान्ति वार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता भएकाले उनको भूमिका महत्त्वपूर्ण रहेको इजरायली विदेशमन्त्रीको भनाइ थियो ।

कस्तो छ विपीनको अवस्था ?
हमासले विपीनलाई बन्धक बनाएको १३ महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा विपीनलाई हमासले लगेको निश्चित भएको थियो । तर, उनी जीवितै छन् वा छैनन् भनेर यकिन हुन सकेको थिएन । 

परराष्ट्रमन्त्री राणाले ०८१ पुस २९ गते प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा विपीन जीवितै रहेको बताएकी छन् । 

“विपीन जोशी सकुशल हुनुहुन्छ,” परराष्ट्रमन्त्री राणाले समितिको बैठकमा भनेकी थिइन्, “हामी सबै आशावादी छौँ कि उहाँ रिहा भएर आउनुहुन्छ ।” 

हमासले बन्धक बनाएकाहरूको सूची सार्वजनिक गरेको छैन । बन्धकको अवस्थाबारे पनि हमासले कुनै जानकारी दिएको छैन । यसैकारण यसअघि विपीन जोशी जीविन छन् वा छैनन् भन्ने यकिन हुन सकेको थिएन ।

राजदूतहरूबाट पनि जानकारी लिइयो
गत साता नै परराष्ट्रमन्त्री राणाले इजिप्ट सरकारलाई पनि विपीनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी थिइन् । परराष्ट्रमन्त्री राणाले गत पुस २६ गते नेपालका लागि इजिप्टकी राजदूत नोहा हम्दी अहमद एलगेबालीलाई मन्त्रालयमा बोलाई विपीनको रिहाइका लागि आग्रह गरेकी थिइन् । इजिप्ट सरकारले पनि हमासको सम्पर्कमा रहेर युद्धविरामका लागि पहल गरिरहेको छ ।

“भेटमा नेपाल र इजिप्टबीचको द्विपक्षीय सम्बन्धका विभिन्न मुद्दाहरूमा छलफल भयो । मुख्यतया ७ अक्टोबर २०२३ देखि हमासद्वारा बन्धक बनाइएका विपीन जोशीको तत्काल रिहाइमा केन्द्रित थियो,” भेटवार्तापछि परराष्ट्रमन्त्री राणाले बताएकी थिइन् ।

सोही दिन अर्थात् पुस २६ गते नै परराष्ट्रमन्त्री राणाले नपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलनसारीसँग टेलिफोन वार्ता गरेकी थिइन् । राजदूत अन्सारी बिदामा दोहामा रहेका कारण फोनवार्ता गरिएको थियो । 

फोनमा परराष्ट्रमन्त्री राणाले विपीनको नाम रिहा गरिने बन्धकहरूको सूचीमा राख्न आग्रह गरेकी थिइन् । मन्त्रीको चासो तुरुन्तै कतार सरकारलाई जानकारी गराउने जवाफ राजदूतले दिएका थिए । त्यसपछि कतारका विदेश राज्यमन्त्री र परराष्ट्रमन्त्री राणाबीच फोनवार्ता सम्भव भएको थियो । 

गत साता नै परराष्ट्रमन्त्री राणाले नेपालका लागि इजरायलका राजदूत समुलिक एरी बासलाई मन्त्रालयमा बोलाएर छलफल गरेकी थिइन् । मन्त्री राणाले रिहाइका लागि इजरायलले पठाउने बन्धकको सूचीमा विपीनको नाम पनि राख्न आग्रह गरेकी थिइन् । 

जवाफमा राजदूत बासले हमास समूहले ३४ जनालाई रिहा गर्न लागेको र त्यसमा वृद्धवृद्धा, महिला, बालबालिका र नाजुक स्वास्थ्य अवस्थाका व्यक्ति रहेको जानकारी दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro