site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिकित्सकको तलब साढे दुई लाखसम्म पुर्‍याउन सुझाव, अरू के के छन् सिफारिस ?

काठमाडौं । चिकित्सक स्वास्थ्यकर्मीको सेवा सुविधामा एकरूपता कायम गर्न र तत्काल गर्नुपर्ने सुधारबारे बनेको अध्ययन समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ । सोमबार बुझाइएको प्रतिवेदनमा इन्टर्न चिकित्सक, मेडिकल अधिकृत, अवासीय चिकित्सक तथा अन्य चिकित्सक र सबै स्वास्थ्यकर्मीको सेवा सुविधाबारे अध्ययन रिपोर्ट र सिफारिस समावेश छ ।

नेपाल चिकित्सक संघ, सुरक्षित कार्यस्थल संघर्ष समिति, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच ०८० असोज १३ मा भएको सहमति कार्यान्वयनका निम्ति समिति गठन गरिएको थियो । समितिमा स्वास्थ्यसहित शिक्षा, अर्थ, गृह, कानुन र श्रम मन्त्रालयका सचिव तथा उपसचिव सदस्य छन् । साथै, नियमनकारी निकायहरू चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिललगायत सरोकारवाला तथा विज्ञ गरी १३ सदस्य छन् ।

समितिले सर्वेक्षण गरेर एमबीबीएसपछि विदेश जाने चिकित्सकको दर पछिल्लो चार वर्षयता २.६७ गुणाले बढेको तथ्यांक निकालेको छ । चिकित्सकहरू नेपाल बस्न नचाहनुमा न्यून तलब–सुविधा पहिलो कारण रहेको समितिको निष्कर्ष छ । साथै, अर्थपूर्ण र सम्मानित काम, अध्ययन अनुसन्धान र वृत्ति विकासको अभाव, स्वास्थ्य संस्थामा भइरहने हिंसात्मक घटना, परिष्कृत स्वास्थ्य संस्थाको अभावलगायत पलायनको कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

समितिले चिकित्सक स्वास्थ्यकर्मीको सेवा सुविधाका सम्बन्धमा र विदेश पलायन रोक्न सरकारलाई ४९ बुँदे सुझाव दिएको छ । जसमा इन्टर्नसिप, अवासीय चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलको निर्देशिका र नेसनल बोर्ड अफ मेडिकल स्पेस्यालिटिज कार्यक्रम सञ्चालन कार्यविधिअनुसार हप्ताको दुई पटकमात्रै लगातार २४ घण्टे ड्युटी दिनुपर्ने उल्लेख छ ।

तलब, भत्ता, निर्वाह भत्ता तथा अन्य सुविधाको हकमा इन्टर्न चिकित्सकलाई आठौँ तहको मेडिकल अधिकृतको सुरुको स्केलको ५० प्रतिशत र एमडी/एमएस एमडीएसको आठौँ तह बराबर र डीएम/एमसीएचको नवौँ तह बराबरको १३ महिनाको निर्वाह भत्ता दिनुपर्ने उल्लेख छ । 

देशभरका चिकित्सकको तलबमा एकरूपता कायम गनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ । जसअनुसार, एमबीबीएस–बीडीएस चिकित्सकको न्यूनतम तलब एक लाखदेखि एकलाख २५ हजार, एमडी/एमएस/एमडीएसको एक लाख ५० हजारदेखि एक लाख ७५ हजार, डीएम/एमसीएच गरेका चिकित्सकलाई दुई लाख २५ हजारदेखि दुई लाख ५० हजारसम्म र सेवा र अनुभवका आधारमा आय वृद्धिको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

चिकित्सकलाई २५ देखि शत प्रतिशतसम्म शैक्षिक अनुसन्धान भत्ता उपलब्ध गराउन र हाल २५ प्रतिशतमात्रै रहेको केही समूहका चिकित्सक, नर्स तथा पारामेडिक्स स्वास्थ्यकर्मीको जोखिम भत्ता १०० प्रतिशत पुर्‍याउन समितिको सिफारिस छ ।

आवासीय तथा इन्टर्न चिकित्सकलाई हाल वार्षिक १४ दिनमात्रै बिदा दिइँदै आएकामा हप्ताको एक दिन अनिवार्य बिदा र लगातार २४ घण्टे ड्युटीपछिको दिन अनिवार्य बिदा दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकको हकमा छात्रवृत्ति करारमा सेवा गरिरहेका चिकित्सकलाई जुनसुकै बेला लोक सेवा आयोगको समान पदमा परीक्षा दिन पाउने गरी कार्यविधि शंसोधन गर्नुपर्ने समितिको सुझाव छ । हाल सेवामा खटिएको एक वर्षपछि मात्रै लोक सेवा भिड्न पाउने व्यवस्था छ । 

साथै, अस्पताल छनोट गरी तिनको लक्ष्यअनुसार छुट्याएर छात्रवृत्तिका चिकित्सक खटाउनुपर्ने समितिको सुझाव छ । सरकारी चिकित्सकको सेवामा हाल अध्ययन र वृत्ति विकासमा समस्या देखिएको प्रतिवेदनमा औँल्याइएको छ ।

यसको समाधानका निम्ति ओएन्ड एम सर्भे गरी सेवाग्राही र स्वास्थ्यकर्मीको अनुपात मिलाइनुपर्ने उल्लेख छ । संघीय संरचना र चिकित्सकको विज्ञताको तालमेल मिलाउनुपर्ने, स्थायी नियुक्ति लिएका चिकित्सकको पाँच वर्षमा स्वत: स्तरवृद्धि गर्नुपर्ने समितिको सुझाव छ ।

प्रतिवेदनले स्वास्थ्य मन्त्रालयको बजेट कुल बजेटको १० प्रतिशत हुनुपर्ने, अतिरिक्त शुल्क असुल्ने मेडिकल कलेजहरूलाई कानुनबमोजिम कारबाही हुनुपर्ने, शुल्करहित स्नातकोत्तर अध्ययन र स्नातकोत्तर अध्ययनका निम्ति शिक्षण संस्थाले निःशुल्क आवास उपलब्ध गराउनुपर्ने पनि सिफारिस गरेको छ ।

स्वास्थ्यकर्मीका निम्ति छुट्टै स्वास्थ्य श्रमिक ऐन निर्माण गर्नुपर्ने समितिको सुझाव छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro