site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भाइरल ‘ढोग दिया’ शब्द दुरुपयोगबाट 'दुःखाउँदै सुदूरपश्चिम'

काठमाडौं । भन्ने गरिन्छ, “शब्दहरू स्वतन्त्र हुन्छन् । तर, तिनको प्रयोग कसरी गरिन्छ भन्ने कुराले त्यसको अर्थ र त्यसले चुकाउने मूल्य निर्धारण गर्छ ।” यतिखेर एउटा शब्दको स्थिति ठिक यस्तै भएको छ, ‘ढोग दिया’ ।

कर्णाली र सुदूरपश्चिम क्षेत्रमा प्रचलित यो शब्द आजभोलि टिकटक, फेसबुक रिलमा ‘भाइरल’ बनेको छ । टिकटकबाट यही भाइरल शब्द टिपेर रमेश परियारले ‘नमस्ते ढोग दिया’ बोलको गीत लेखे, कविता खत्री र खेम सेञ्चुरीले गाए ।

यसरी भयो भाइरल
‘नमस्ते, ढोग दिया’ शब्द टिकटकको बाटो हुँदै भाइरल संसारमा छिर्‍यो । सुदूरपश्चिम र कर्णाली क्षेत्रका लागि ‘ढोग दिया’ शब्द परिचित हो । यसलाई टिकटकको संसारमा ल्याई पुर्‍याइन्, पवित्रा साकी अर्थात् ‘मिस पबी’ले । पबीले ‘ढोग दिया’ शब्द टिकटकको संसारमा भित्र्याइन्, तर भाइरल चाहिँ भइसकेको थिएन ।

Dabur Nepal
NIC Asia

‘ढोग दिया’ शब्दलाई भाइरल बनाइन्, नानुसिंह ठकुरीले । टिकटक ‘इन्फ्ल्युएन्सर’ आयुशसिंह ठकुरी र उनकी आमा नानुसिंहबीच पारिवारिक विषयमा कलह भयो । उनीहरूको पारिवारिक बेमल आइपुग्यो, टिकटकमा । यही पारिवारिक बेमल र विमतिको कहानी सुनाउँदै गर्दा नानुसिंह ठकुरीले ‘नमस्ते, ढोग दिया’ भन्न सुरु गरिन् । छरपष्ट पारिवारिक बेमेलको कहानीबीच टिकटक प्रयोगकर्ताले ‘नमस्ते, ढोग दिया’ शब्द टिप्दै टिकटक बनाउन सुरु गरे ।

टिकटकको दुनियाँ हुँदै यो शब्द आइपुग्यो, खेलको मैदानमा । कीर्तिपुरमा भएको नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस्बीचको खेलमा दुवै टोलीका समर्थकहरूले ‘नमस्ते, ढोग दिया’ शब्दको भरपूर प्रयोग गरे ।

टिकटक र फेसबुकतिर ‘नमस्ते, ढोग दिया’ शब्दको मार्केट देखेपछि रमेश परियारले गीत लेखे । कविता खत्री र खेम सेञ्चुरीले गाए । यो गीतको बोल ‘नमस्ते ढोग दिया’ शब्दमा गीत बनाउने लहर चलेको छ । ‘नमस्ते ढोग दिया’ शब्द ट्रेन्डिङमा छ ।

तर, सुदूरपश्चिम र कर्णाली क्षेत्रका बासिन्दा चाहिँ ‘आफ्नो क्षेत्र’मा बोलिने शब्दको अपमान भएको भन्दै आक्रोशित छन् । चिन्तित छन् ।

देउडा संस्कृति संरक्षण प्रतिष्ठानले त विज्ञप्ति निकाल्यो, ‘ढोग दिया’ शब्दको दुरुपयोग भएको भन्दै चिन्ता जाहेर गर्‍यो । सुदूरपश्चिम, कर्णाली क्षेत्रलाई होच्याउने गरी ‘ढोग दिया’ शब्दको प्रयोग गरिएको देउडा संस्कृति संरक्षणको विज्ञप्तिमा लेखिएको छ ।

सुदूरपश्चिम प्रदेशको भाषा संस्कृति र संस्कारलाई अपहेलित गर्नेगरी ‘ढोग दिया’ शब्दको प्रयोग भइरहेको भन्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले समेत विज्ञप्ति निकाल्यो । “सुदूरपश्चिम र कर्णालीको सेरोफेरोमा नजिकको मान्यजनलाई शिष्टाचार एवं आदरार्थी शब्दको रूपमा ढोग दिया शब्द प्रयोग हुने गर्छ,” प्रज्ञा प्रतिष्ठानको विज्ञप्तिमा लेखिएको छ ।

देउडा गायक नन्दकृष्ण जोशीको बुझाइमा ‘ढोग दिया’ शब्दको भाइरल प्रयोगले शब्दको अर्थमाथि प्रश्न उठाएको छ । “ढोग गर्नु आफैँमा मर्यादित शब्द हो । तर, यसको जसरी प्रयोग भइरहेको छ, त्यसले भाषामाथि आक्रमण भएको छ । यसको अर्थमाथि प्रश्न उठेको छ ।”

प्रज्ञा प्रतिष्ठानको शब्दकोष अनुसार, “शिरले देवता वा पूज्यजनका पाउमा छुनु, दण्डवत गर्नु, प्रणाम गर्नु, नमस्कार गर्नु, ढोगभेट गर्दा, देवता, पूज्यजनलाई चढाइने भेटी”लाई ढोगका रूपमा अथ्र्याएको छ ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशी पनि ‘ढोग दिया’ शब्दको भाइरल प्रयोगले सुदूरपश्चिमको संस्कृति, सभ्यतालाई होच्याए जस्तो महसुस भएको बताउँछन् । उनी भन्छन्, “हाम्रोमा विशेष आदरका साथ प्रयोग हुने शब्दको जथाभावी प्रयोगले शब्दसँगै त्यो शब्द प्रयोग गर्ने हामी काली–कर्णालीवासीलाई पनि अपहेलित गरेको महसुस भएको छ ।”

‘ढोग दिया’ शब्दको दुरुपयोग भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहोराले पनि फेसबुकमा भिडियो राखे । शब्दको सांस्कृतिक महत्त्व बुझ्न नसकेर मनोरञ्जन, भ्युजको लोभमा ढोग दिया शब्दको खिल्ली उडाएको बोहोराको बुझाइ छ ।

“भाइरल हुन मौलिक शब्दको दुरुपयोग गरिनु दुर्भाग्यपूर्ण हो । यसको गलत प्रयोगले क्षेत्रीय पहिचान र संस्कृतिमा मात्र नभई समुदायको आत्मसम्मानमा ढेस पुगेको छ । ढोग दिया शब्दले व्यक्त गर्ने शिष्टाचारलाई मजाक बनाइनु हुन्न,” बोहोराले फेसबुक भिडियोमार्फत भनेका छन् ।

त्यसो भए के ढोग दिया शब्द काली–कर्णालीको मात्र हो त ?
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति जोशी भन्छन्, “ढोग दिया शब्द काली–कर्णालीको मात्र होइन, यो सबैको शब्द हो । तर, यता (सुदूरपश्चिम, कर्णाली) यो शब्दको प्रयोग बढी हुन्छ र त्यो प्रयोगको मर्यादित अर्थ छ ।”

सुदूरपश्चिमका अध्येता तथा गीतकार हेमन्त विवश भने ढोग दिया शब्दको भाइरल प्रयोगलाई फरक तरिकाले अर्थ्याउँछन् । उनी भन्छन्, “पछिल्लो समय सुदूरपश्चिम क्षेत्रको भाषा, लवज प्रयोग गरेर फिल्म, गीत बनेका छन् । त्यस्तै यो (ढोग दिया) शब्द पनि टिकटकमा भाइरल भयो । त्यहीबाट मान्छेहरूले अनुकरण गरे ।”

विवशको बुझाइमा, शब्दको प्रयोग कसरी भयो भन्ने कुराले उक्त शब्दको अर्थ र महत्त्व दर्साउँछ । कुनै समय सुदूरपश्चिममा प्रचलित ‘जधौँ’ भन्ने शब्द आजको भाषामा भाइरल भएको थियो । त्यतिखेर विवाद भएन । त्यसैले शब्द कसरी प्रयोग गरियो भन्ने कुराले शब्दले दिने अर्थ बताउँछ ।

डिजिटल बजारमा माग भनेकै ‘ट्रेन्डिङ’ हो । यो मागले लाइक, भ्युजको बाटो हुँदै पैसा सिर्जना गर्छ । त्यसैले त विवश भन्छन्, “अहिलेको पुस्ताले कहाँ, कसरी भ्युज बढ्छ भनी जानेको छ र त्यहीअनुसार गर्छ पनि ।”

क्यानेडियन लेखक म्यानली हल भन्ने गर्छन्, “शब्दहरू राम्रो र नराम्रो दुवैका लागि शक्तिशाली हतियार हुन् ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro