site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायल–हमास युद्धविरामले शताब्दी पुरानो विवाद समाधान होला ?

काठमाडौं । इजरायल र हमास युद्धविरामका लागि सहमत भएका छन् । कतार र इजिप्टका मध्यस्थकर्ताले तयार पारेको युद्धविराम सम्झौतालाई दुवैले स्वीकार गरेका हुन् । अमेरिकाले पनि यसमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

युद्धविराम आइतबारबाट लागु हुने जनाइएको छ । यस सहमतिले सन् २०२३ अक्टोबर ७ बाट सुरु भएको इजरायल र हमासबीचको युद्ध रोकिनेछ ।

गत वर्षको मे महिनादेखि यस सम्झौताका विभिन्न मस्यौदामा छलफल हुँदै आएको थियो । सम्झौतामा ढिलाइ हुनुमा हमास र इजरायलले एकअर्कालाई दोष लगाएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अक्टोबर ७, २०२३ मा हमासको आक्रमणपछि इजरायलले लिएको बदलाले गाजालाई तहसनहस पारेको छ ।
हमासको आक्रमणमा लगभग एक हजार २०० जना मारिएका थिए, जसमध्ये धेरैजसो इजरायली नागरिक थिए । यसैबीच, गाजामा अहिलेसम्म २० लाखभन्दा बढी मानिसहरू विस्थापित भइसकेका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणमा करिब ५० हजार मानिस मारिएका छन् । यसमा हमासका लडाकु र सर्वसाधारण दुवै समावेश छन् ।

हालै ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनले यो संख्या अझ धेरै बढी हुन सक्ने जनाएको छ ।

सम्झौताका चुनौतीहरू

सम्झौतापछिको पहिलो ठूलो चुनौती भनेको युद्धविराम अक्षुण्ण रहेको सुनिश्चित गर्नु हो । पश्चिमी देशका धेरै वरिष्ठ कूटनीतिज्ञहरूले ४२ दिनको पहिलो चरण समाप्त हुने बित्तिकै युद्ध फेरि सुरु हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

गाजामा भएको युद्धले मध्यपूर्वमा गहिरो असर पारेको छ । यसैकारण धेरैलाई यो युद्ध सम्पूर्ण क्षेत्रमा फैलिने डर थियो । तर, त्यो भएन । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले यसको श्रेय लियो । तर, गाजामा भएको युद्धले सबै क्षेत्रमा अशान्त वातावरण सिर्जना गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनका पूर्व रक्षामन्त्रीमाथि अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्ध अपराधको आरोप लगाएको छ । अन्तर्राष्ट्रिय अदालत (आईसीजे)ले इजरायलविरुद्ध दक्षिण अफ्रिकाले लगाएको नरसंहारको आरोपको पनि अनुसन्धान गरिरहेको छ ।

लेबनानको हिजबुल्लाहले यस युद्धमा हस्तक्षेप गर्ने बित्तिकै इजरायल उनीहरूमाथि पनि जाइलाग्यो । इजरायलले हिजबुल्लाका अखडा ध्वस्तमात्र पारेन, हिजबुल्लाका प्रमुख नेताको पनि हत्या गर्‍यो । यही कारणले सिरियामा बसर अल–असदको शासन पतन भयो ।

इरान र इजरायलले एकअर्कामाथि सिधै आक्रमण गरे, जसले इरानलाई कमजोर बनायो । इरानको ‘एक्सिस अफ रेजिस्टेन्स’ भनेर चिनिने सहयोगी र प्रक्सी नेटवर्क पनि इजरायलले ध्वस्त पारिदिएको छ ।

यमनका हुथी विद्रोहीहरूले युरोप र एसियाबीचको लाल सागर पार गर्ने अधिकांश मालवाहक जहाजहरूमा अवरोध पुर्‍याउँदै आएका छन् । गाजामा युद्धविराम भएपछि हुथी विद्रोहीहरूले आक्रमण रोक्ने आफ्नो वाचा पूरा गर्छन् कि गर्दैनन्, त्यो हेर्न बाँकी छ ।

इजरायल र प्यालेस्टिनीबीचको लामो समयदेखि चलिरहेको द्वन्द्वको कुरा गर्ने हो भने अहिलेको अवस्था पहिलेभन्दा अझ बढी जटिल र अफ्ठेरो छ ।

यस युद्धविरामले हत्या रोक्न सक्छ र इजरायली बन्धक, प्यालेस्टिनी कैदी र बन्दीहरूलाई उनीहरूको परिवारमा फर्काउन सक्छ । तर, एक शताब्दीभन्दा पुरानो द्वन्द्वको अन्त्य गर्ने छैन ।

नेतान्याहूले बाइडेनभन्दा अगाडि ट्रम्पलाई धन्यवाद दिए
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले यस सम्झौताको औपचारिक घोषणा प्रधानमन्त्रीले गर्ने बताएको छ । यद्यपि, यो घोषणा सम्झौतालाई अन्तिमरूप दिएपछि गरिनेछ, जसमा हाल काम भइरहेको छ ।

इजरायली प्रधानमन्त्रीको यो बयानअघि नै नेतान्याहूले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति जो बाइडेन दुवैलाई फोनमा सम्झौता सम्पन्न गरेकामा धन्यवाद दिएका छन् ।

रोचक के छ भने नेतान्याहूले जनवरी २० मा राष्ट्रपति पद सम्हाल्ने ट्रम्पलाई वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भन्दा पहिले फोन गरेका थिए ।

“प्रधानमन्त्रीले ट्रम्पलाई र बन्धकहरूको रिहाइका लागि जोड दिन सहयोग गरेकोमा धन्यवाद दिनुभयो,” नेतान्याहूको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

नेतान्याहूले ट्रम्पलाई उनको अभिव्यक्तिका लागि पनि धन्यवाद दिए । धन्यावाद पाउने ट्रम्पको अभिव्यक्ति थियो, “गाजा अब कहिल्यै पनि आतंकवादका लागि सुरक्षित आश्रयस्थल नबनोस् । यो सुनिश्चित गर्न अमेरिका इजरायलसँग मिलेर काम गर्नेछ ।”

विज्ञप्ति अनुसार, ट्रम्प र नेतान्याहूले छिट्टै अमेरिकामा भेटवार्ता गर्ने सहमति गरेका छन् । वक्तव्यको अन्तिम पंक्तिमा लेखिएको छ, “त्यसपछि प्रधानमन्त्री नेतान्याहूले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गर्नुभयो र बन्धकहरूलाई रिहा गर्ने सम्झौताका लागि धन्यवाद दिनुभयो ।”

यो युद्धविराम सम्झौता आगामी आइतबारदेखि लागु हुनेछ, जुन राष्ट्रपतिको रूपमा बाइडेनको अन्तिम दिन हुनेछ । भोलिपल्ट, डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिको रूपमा शपथ लिनेछन् ।

ह्वाइट हाउसको एक ब्रिफिङमा हमासमाथि सैन्य दबाब बढाइएको कारण वार्तामा सहमति भएको जनाइएको छ ।

अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार, डोनाल्ड ट्रम्पका मध्यपूर्व राजदूत स्टिभ विटकफले पनि यो सम्झौतामा भूमिका खेलेका थिए । ती अधिकारीका अनुसार, विटकफ वार्तामा सक्रिय थिए र मध्य पूर्वमा जो बाइडेनका शीर्ष सल्लाहकार ब्रेट म्याकगर्कसँग मिलेर काम गरेका थिए ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro