काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी एवान’ रेटिङ दिएको छ । दीर्घकालीन र अल्पकालीन ऋणका लागि गराइएको रेटिङमा २२ अर्ब ६० करोड रुपैयाँ ऋण लिन पाउने गरी इक्राले उक्त रेटिङ प्रदान गरेको हो ।
इक्राले गत डिसेम्बर ३१ मा यो रेटिङ सार्वजनिक गरेको छ । कम्पनीका लागि दीर्घकालीन रूपमा १० अर्ब ६० करोड रुपैयाँ तथा अल्पकालीन रूपमा १२ अर्ब रुपैयाँ ऋण लिनका लागि रेटिङ गराएको छ ।
यसअघि गत वर्ष कम्पनीले २७ अर्ब २२ करोड ५० लाख रुपैयाँ ऋण लिन सक्नेगरी रेटिङ पाएको थियो । यस वर्ष भने कम्पनीले न्यून ऋण लिने देखाएको छ ।
अल्पकालीन १२ अर्बमध्ये चार अर्ब कोषमा आधारित सीमायुक्त अर्थात् कार्यगत पुँजी ऋण तथा बाँकी आठ अर्ब गैर कोषमा आधारित सीमायुक्त अर्थात् प्रतीतपत्रका लागि छुट्याइएको छ।
इक्राका अनुसार कम्पनीको रेटिङ पुनः पुष्टि गर्नुको मुख्य कारण यसको बलियो वित्तीय प्रोफाइल हो । २०२४ को मध्य जुलाईसम्ममा ०.७ गुणा कम गियरिङ र कुल ऋणदेखि करलगायतका दायित्व कट्टा हुनुअघिको सञ्चालन मुनाफा (ओपीबीआईटीडीए) ०.७ गुणा रहनु हो ।
एनसेलले सन् २०२४ मा ५४ प्रतिशत सञ्चालन मुनाफा गरेको थियो । वित्तीय वर्ष २०२३ को पहिलो त्रैमासिकमा कम्पनीको राजस्व बजार हिस्सा ५३ प्रतिशत रहेको देखिएको छ ।
कम ऋणस्तर र स्थिर मार्जिनले आर्थिक वर्ष २०२४ मा ३.५ गुणा डीएससीआर कायम राख्न सहयोग पुर्याएको विवरणमा उल्लेख छ । यसैगरी तरलताका हिसाबले कम्पनीसँग अक्टोबर २०२४ सम्म १,९३५ मिलियन रुपैयाँ बराबर प्रयोग नगरिएको कोष छ ।
पुँजीगत खर्चमा ऋणदाताबाट मिल्ने दीर्घकालीन समर्थनले पनि सकारात्मक प्रभाव पारेको विवरणमा उल्लेख छ ।
यसबाहेक कम्पनीमा अनुभवी निर्देशक तथा व्यवस्थापक रहेकोले सकारात्मक रूपमा हेरिएको छ । अनुभवी बोर्ड सदस्यहरू र व्यवस्थापन टोलीले कम्पनीको वित्तीय र सञ्चालनलाई स्थिर राख्न सहयोग गरेको इक्राले जनाएको छ ।