विराटनगर । उद्योग संगठन मोरङले विराट एक्स्पो २०२५ को अवलोकन गर्ने उद्योगी व्यवसायीहरूका उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरुप एक्स्पो स्थलमा विजनेस क्लिनिक पेभिलियन राख्ने तयारी गरेको छ । आठौँ संस्करणको एक्स्पो माघ ११ देखि २० गतेसम्म आयोजना हुँदै छ ।
एक्स्पोमा विजनेस क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रूपमा व्यवस्थित गरेर अवलोकनकर्ता उद्योगी व्यवसायीहरूका उद्योग विशेष समस्याहरू दर्ता गर्ने र दर्ता गरिएका समस्याहरूलाई वर्गीकरण गरिने संगठनले जनाएको छ । तिनको प्रशोधन गरी तथ्यमा आधारित रहेर एक्स्पो अवधिमा विजनेस क्लिनिकमा सरोकारवाला र सम्बन्धित निकायहरूको समेत उपस्थितिमा छलफल हुने बताइएको छ ।
संगठनले यो क्लिनिक विगत ती नवर्षदेखि सञ्चालन गर्दै आएको छ । त्यस अवधिमा सुनसरी मोरङ औधोगिक क्षेत्रका विभिन्न ७५ वटा उद्योगको स्थलगत भ्रमण गरेर सम्बन्धित उद्योगका १२२ वटा मुद्दा पहिचान गरेर समाधानका लागि आवश्यक पहल गरेको जनाएको छ ।
त्यही फिजिकल अवस्थालाई संगठनले एक्स्पोमार्फत भर्चुल प्लेटफर्ममा विकास गर्दै छ । यो प्लेटफर्म विकास भएपछि उद्योगीहरूले आफनो समस्या उद्योगमै बसेर दर्ता गरेर संगठनको डिजिटल प्लेटफर्ममार्फत समधान खोज्न सक्ने अवस्थाको सृजना हुने विश्वास लिइएको छ ।
संगठनले यो क्लिनिकलाई नियमित र व्यवस्थित बनाउन कार्यसमिति सदस्य पारस लुनियाको नेतृत्वमा समिति गठन गरेको छ । यही अवधारणालाई आधार मानेर चेम्बरहरूले गर्ने बहस पैरवीको क्षेत्रमा नयाँ आयाम थपेको संगठनले दाबी गरेको छ ।