काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सभापतिसहित २७ जना सदस्य छन् । समितिको सोमबार बैठक हुँदै गर्दा सभापतिसहित आठ जना मात्र उपस्थित थिए । बाँकी सदस्य बैठक चलिरहेको समयमा बैठक कक्षमा देखिएनन् ।
तर, बैठकमा उपस्थित भएको भनी हाजिर जनाउने समितिका सदस्यको संख्या भने १४ छ । “कसैले बैठक चल्नुअघि हाजिर गरेर जानुभयो, कसैले बैठक सकिएपछि आएर हाजिर गर्नुभयो,” अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सभापति राजकिशोर यादवले बाह्रखरीसँग भने ।
प्रतिनिधिसभा नियमावली, २०७९ मा समितिको गणपूरक सङ्ख्या समितिको तत्काल कायम रहेको सदस्य संख्याको एकाउन्न प्रतिशत हुने व्यवस्था छ । यही व्यवस्थाअनुरूप बैठक चल्न सोमबार समितिको बैठकमा १४ जना उपस्थित हुनुपथ्र्यो । तर यो संख्या हाजिरमा मात्र पुग्यो, बैठक कक्षमा पुगेन ।
समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेमा सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मका लागि बैठक स्थगित गर्न सक्ने व्यवस्था छ । तर, सभापति यादवले सोमबार बैठक स्थगित गरेनन् । कागजी हाजिरका आधारमा बैठक सञ्चालन गरे ।
सदस्यहरूले बैठकमा उपस्थित हुन किन अटेर गरेका होलान् ? भनी सोधिएको प्रश्नमा सभापति यादवले भने, “सांसदहरू, सबै बुझ्ने हुनुहुन्छ । हामीले अनुरोध गरेका छौं । पार्टीका प्रमुख सचेतकहरूलाई पनि भनेका छौं ।”
समितिका सदस्यहरूमा ‘हाटा प्रवृति’ (हाजिर गर्ने टाप कस्ने) बढेको छ । धेरै सदस्यहरू बैठकमा उपस्थित नहुँदा गम्भीर विषयहरूमाथिका छलफल ओझेलमा पर्ने गरेको छ ।
सात सांसदका पाँच चासो
बैठकमा सात सदस्यले जिज्ञासा राखेका थिए, जसमा मुख्यगरी पाँच विषयमा केन्द्रित थियो । ती पाँच विषय थिए– चीनसँग हालै भएको बीआरआई सम्झौता, सार्क सम्मेलन, हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाई, जलवायु परिवर्तन र गिर्दो नेपाली पासपोर्टको साख ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्ला विदेश भ्रमण र परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१÷८२ को हालसम्मको प्रगति सम्बन्धमा जानकारी लिने उद्देश्यले बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएको थियो । राणासँग उनीहरूले पाँच विषयमा जिज्ञासा राखेका हुन् ।
सार्क शिखर सम्मेलन
परराष्ट्रमन्त्री राणाले भारत र पाकिस्तानबीचका राजनीतिक तनावका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९औं शिखर सम्मेलन हुन नसकेको बताइन् । सार्क शिखर सम्मेलनका विषयमा भारतले कडा ‘स्ट्यान्ड’ लिएको उनले बताइन् ।
“गत सेप्टेम्बरमा भारत भ्रमण गर्दा भारतीय विदेशमन्त्री एस जयशंकरसँग मैले सार्क शिखर सम्मेलन गर्ने प्रस्ताव राखेको थिएँ,” मन्त्री राणाले समितको बैठकमा भनिन्, “मेरो प्रस्तावमा जयशंकरको जवाफ थियो– ‘‘तपाईँको देशमा आक्रमण र मान्छे मारेको भए सम्मेलन राख्नुहुन्थ्यो ।”
भारतीय विदेशमन्त्रीको जवाफले आफू नाजवाफ भएको उनले बताइन् । मन्त्री राणाले भनिन्, “त्यसपछि मैले त केही भन्नै सकिनँ । दुई देशबीचको कुरा थियो ।”
सार्कको १८औं शिखर सम्मेलन नोभेम्बर २६–२७, २०१४ मा काठमाडौंमा भएको थियो । त्यसपछि नेपाल सार्कको अध्यक्ष रहँदै आएको छ ।
सार्कको १९औं शिखर सम्मेलन गर्ने पालो पाकिस्तानको हो । पाकिस्तानले नोभेम्बर १५–१६, २०१६ मा सार्क शिखर सम्मेलन गर्ने मिति समेत घोषणा गरेको थियो । तर भारत र पाकिस्तानबीच तनाव बढेपछि सम्मेलनमा भारत सहभागी नहुने जनायो । त्यसपछि सार्क शिखर सम्मेलनको नयाँ मिति घोषणा हुन सकेको छैन ।
पाकिस्तानले सार्क शिखर सम्मेलन आयोजना गर्न नसक्दा नेपालले अध्यक्षता हस्तान्तरण समेत गर्न सकेको छैन । “सार्क वडापत्र अनुसार सार्क सदस्य राष्ट्रमध्ये एकको राष्ट्रध्यक्ष तथा सरकार प्रमुख मात्र सहभागी हुन नसके पनि सम्मेलन हुन नसक्ने व्यवस्था छ । यसैकारण सार्क शिखर सम्मेलन हुन सकेको छैन,” परराष्ट्रमन्त्री राणाले बताइन् ।
समितिको बैठकमा सदस्यहरूले सार्क निस्क्रिय भएको भन्दै प्रगति के छ ? भनी प्रश्न गरेपछि परराष्ट्रमन्त्री राणाले उक्त कुरा उल्लेख गरेकी थिइन् ।
सार्कको शिखर सम्मेलन नभए पनि अन्य प्राविधिक समितिका बैठक भने निरन्तर बस्दै आएको उनले बताइन् । यसैवर्ष संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा नेपालले सार्क परराष्ट्रमन्त्रीहरूको बैठक राख्ने खोजेको भए पनि भारतका कारण हुन नसकेको उनले बताइन् ।
“हामी अप्ठेरो अवस्थामा छौं । हामीले भनेर मात्र हुँदैन । हाम्रो नियन्त्रणमा छैन सार्क” परराष्ट्रमन्त्री राणाले भनिन् ।
बीआरआई सम्झौता
परराष्ट्रमन्त्री राणाले केही दिनअघि चीनसँग भएको ‘बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क’ सम्झौतामा कतै पनि ‘ऋण’ शब्द नभएको स्पष्ट पारिन् । उनले ऋण लिने गरी बीआरआई सम्झौता नभएको दाबी गरिन् ।
“२० हजार पटक अध्ययन गरेर तयार पारेको दस्तावेजमा ‘ऋण’ शब्द छैन,” परराष्ट्रमन्त्री राणाले भनिन्, “एक पटक पढ्नोस् ऋण शब्द भेटिँदैन ।”
सम्झौतामा ‘ग्रान्ट’ को ठाउँमा ‘एड’ शब्द राखिएको उनले बताइन् । अंग्रेजी शब्द ‘ग्रान्ट’ र ‘एड’को अर्थ एकै भएको भनाइ उनको थियो । ‘ग्रान्ट र एडमा फरक छैन । अर्थ एउटै हो,” परराष्ट्रमन्त्री राणाले भनिन् । पत्यार नलागे विभिन्न डिक्सनेरी हेर्न उनले समितिका सदस्यहरूलाई सुझाइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गरेका थिए । भ्रमणका बेला नेपाल र चीनबीच ‘बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क’लगायत १० वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
चीनले हालसम्म घोषणा गरेर उपलब्ध नगरेको अनुदानलाई बीआरआई सम्झौतामा उल्लेख गरिएका १० वटा परियोजनामा खर्च गरिने उनले जनाइन् । चिनियाँ पक्षसँग सम्झौतामा रहेका १० वटा परियोजना अनुदानमा निर्माण गर्न तयार रहेको भनाई उनको थियो ।
विपिन जोशीको रिहाइ पहल
परराष्ट्रमन्त्री राणाले कञ्चनपुरका विपीन जोशी रिहाइको पहल भइरहेको बताइन् । उनले विपीन रिहाइको पहलका निम्ति फेरि कतारलाई आग्रह गर्न लागिएको जानकारी गराइन् । “भोलि (मंगलबार) कतारका विदेशमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्ने कार्यक्रम छ, हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइको लागि,” उनले भनिन् ।
उनले विपीन रिहा हुने आशा व्यक्त गरिन् । “विपीन सकुशल हुनुहुन्छ भन्ने आशा छ,” उनले भनिन्, “उहाँ रिहा हुनुहुन्छ भन्ने विश्वास छ ।”
सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो । त्यसक्रममा १० नेपाली विद्यार्थीसहित करिब १२ सय जनाको मृत्यु भएको थियो । विपीनसहित करिब २५० जनालाई हमासले बन्धक बनाएको थियो ।
बन्धकको रिहाइ र गाजापट्टीमा युद्धविराम सम्झौताका निम्ति कतारले पहल गर्दै आएको छ । हमास र इजरायल दुवैसँग कतारको राम्रो सम्बन्ध छ । विपिनको रिहाइका लागि कतार, इजिप्ट र इजरायलका लागि नेपाली राजदूतहरूसँग गत साता कुराकानी गरेको उनले बताइन् ।
जलवायु परिवर्तन
परराष्ट्रमन्त्री राणाले नेपालका लागि जलवायु परिवर्तनको मुद्दा गम्भीर विषय भएको बताइन् । अन्तर्राष्ट्रिय सभा सम्मेलनहरूमा यस मुद्दामा नेपालीले बुलन्द रूपमा आवाज उठाउँदै आएको उनले बताइन् ।
जलवायु परिवर्तनका मुद्दामा विश्वको ध्यान आकर्षित गर्न छिट्टै ‘सगरमाथा संवाद’ आयोजना गर्न लागेको जानकारी उनले दिइन् । “सगरमाथा संवाद’ आयोजना गर्न प्रधानमन्त्री कार्यालय नै सक्रिय भएको छ । परराष्ट्र र वन मन्त्रालय पनि यसको आयोजक हौं,” उनले भनिन् । छिट्टै सगरमाथा संवादको मिति घोषणा गरिने उनले जनाइन् ।
नेपाली पासपोर्टको गिर्दो साख
बैठकमा नेपाली पासपोर्टको साख गिर्दै गएकामा सदस्यहरूले चिन्ता व्यक्त गरेका थिए । परराष्ट्रमन्त्री राणाले नेपाली पासपोर्ट साख गिर्नुमा अन्य देशका कारण नभई नेपालीकै कारण भएको बताइन् ।
“हाम्रै मान्छेहरू विदेश गएर भाग्ने, लुक्ने गरेका कारण नेपाली पासपोर्टको ¥यांकिङ घटेको हो,” परराष्ट्रमन्त्री राणाले भनिन्, “लुकेर बसेको मान्छेले अपराध गर्न सक्छ, अवैध कार्य गर्छ भन्ने हुन्छ । यसैकारण नेपालीलाई भिसामा कडाइ गरेका हुन्, विदेशीले ।”