काठमाडौं । शिवम् सिमेन्टको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सेयरधनीलाई नौ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।
कम्पनीको सोमबार काठमाडौंमा भएको साधारणसभाले कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगदसहित नौ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । अब कम्पनीका सेयरधनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर पाउनेछन् ।
कम्पनीको चुक्ता पुँजी यसअघि पाँच अर्ब दुई करोड ७० लाख रहेकामा अब त्यसमा ४२ करोड ९८ लाख आठ हजार रुपैयाँ थपिएको छ ।
कम्पनीका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा भएको साधारणसभाले वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका विवरण पारित गरेको छ । साधारणसभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षक पनि नियुक्त गरेको छ ।