site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हेल्प नेपाल नेटवर्क यूकेले मनायो २५औँ वार्षिकोत्सव

काठमाडौं । हेल्प नेपाल नेटवर्क यूके (युनाइटेड किङडम)ले स्थापनाको २५औँ वार्षिकोत्सव मनाएको छ । हेल्प नेपालले आइतबार लन्डनको फार्नबरोस्थित गोर्खा प्यालेसमा एक समारोहबीच वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपीन दुवाडीले शुभकामना दिँदै हेल्प नेपालले नेपालका लागि गरेको योगदानको प्रशंसा गरे ।

"देश दुख्दा विदेशमा झन् बढी दुख्छ, तपाईंहरूले नेपाल अप्ठेरोमा पर्दा सहयोग गरिरहनु भएको कार्य प्रशंसनीय छ," उनले भने ।

Argakhachi Cement Island Ad

उनले अरूको अस्तित्व स्वीकार्न सक्नु नै मानवता भएको बताउँदै हेल्प नेपालले त्यो मानवता प्रदर्शन गरेको उल्लेख गरे । प्रशासनिक खर्च नगरी चन्दा रकम सबै च्यारिटीमा लगाउनु निकै सरहानीय भएको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै हेल्प नेपालका उपाध्यक्ष प्रसिद्ध प्रधानले परोपकारमार्फत् नेपाली डायस्पोरालाई नेपालसँग जोड्ने उद्देश्यकासाथ स्थापित हेल्प नेपाल अहिले करिब एक दर्जन देशमा फैलिएको बताए ।

अध्यक्ष सचिन श्रेष्ठले संस्थाले गरेका कार्यक्रमबारे जानकारी दिँदै हेल्प नेपाल नेटवर्कले विशेष गरी शिक्षा, स्वास्थ्य र प्राकृतिक विपत्तिमा सहयोग गरिरहेको बताएको हेल्प नेपालका ग्लोबल मिडिया संयोजक भगीरथ योगीले जानकारी दिए ।

श्रेष्ठले हेल्प नेपालले १७ हेल्थ क्याम्पसहित २१ स्वास्थ्यसम्बन्धी परियोजनामा काम गरेको, ४० लाइब्रेरी र ५० बढी इ–लाइब्रेरीको स्थापना गरेको, गोर्खा, दोलखा र सिन्धुपाल्चोकमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माण, विभिन्न स्कुलहरूमा ६८ वटा कक्षा कोठाको निर्माणकासाथै तीनवटा  हेल्थ पोष्टको सञ्चालनमा सहयोग गरिरहेको जानकारी गराएका थिए ।

कार्यक्रममा शिव कल्चर मन्दिर अध्यक्ष विक्रम भट्टराई, पासा पुचः गुथि यूके अध्यक्ष सुशील प्रजापति, नेपाल पत्रकार महासंघ बेलायतका निवर्तमान अध्यक्ष ध्रुवराज अर्याल, समाजसेवी शिवजी श्रेष्ठ, बुद्ध फाउण्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ, आरजीएनएसका महासचिव ह्यारी गुरुङ, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा. कपिल रिजाल, अधिवक्ता सुरेन्द्र श्रेष्ठ, समाजसेवी एकिन्द्र गुरुङ, युवा उद्यमी किशोर सापकोटा, तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा हेल्प नेपालको सहयोगार्थ ल्हासादेखि माउण्ट एभरेष्ट हुँदै काठमाडौं साइकल यात्रा गरेका दिनेश पाल तथा मुगुको हेल्थ पोस्टको भ्रमण गरेका चन्द्र देवकोटाले आफ्नो अनुभव सुनाएका थिए  ।

संस्थाको कार्यसमिति सदस्य तथा ब्रिटिस आर्मीका मेजर डा. सुदर्शन गुरुङले ‘ब्लड फर नेपाल’ प्रोजेक्ट अन्तर्गत आफुले नेपालका स्वास्थ्यकर्मीहरूलाई तालिम दिने पनि बताए योगीले जानकारी दिए ।

उक्त अवसरमा हेल्प नेपाल नेटवर्कको २५औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली साइकिलिङ क्लब यूके टिमले आगामी मे महिनामा पोर्चुगलदेखि स्पेनसम्मको च्यारिटी साइकल यात्रा गर्ने घोषणा गरिएको जनाइएको छ । यस साइकलयात्राबाट संकलित कोष डा. सुदर्शन गुरुङले मुगुमा सञ्चालन गर्ने हेल्थ प्रोजेक्टमा खर्च गरिने जानकारी गराइयो ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्