site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विश्वप्रकाशले भने– बिनाछलफल ०८७ मा संविधान संशोधन गर्छौँ भन्ने हक कसैलाई छैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिनाछलफल ०८७ मा संविधान संशोधन गर्छौं भन्ने हक कसैलाई नभएकाे बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा मंगलबार संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका थिए ।

बुधबार झापाको कचनकवलमा आयोजित नेपाली कांग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भन्ने भनाइप्रति विमति राखेका हुन् ।

"सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको मैले सुनेँ यदि उहाँले नेकपा एमालेको बैठक हुँदैगर्दा भन्नुभएको संविधान संशोधन त २०८७ मा हुन्छ भनेर भन्ने हो भने त्यसमा म विनम्रतापूर्वक उहाँकै जिल्लाबाट गम्भीरतापूर्वक विमति राख्न चाहन्छु," उनले भने, "संविधान संशोधनको ढोका खोल्ने परामर्श भएको छ । सातबुँदे समझदारीमा त्यो लेखिएको छ । संविधान संशोधन गरिरहँदा के हो त, नागरिकको अपेक्षा ? के हो त पार्टीका साथीहरूको अपेक्षा ? गाउँगाउँको अपेक्षा के हो ? भन्ने विषयलाई अध्ययन गरेर ल्याउनुपर्छ । चर्चामा रहेको जस्तो १६५ को संख्यालाई सय, सवा सयमा सीमित गरौँला त्यो ठूलो कुरा होइन । तर, हामीले संविधान संशोधन गर्दैगर्दा यि विषयहरूको संशोधन गर्नु नै छ ।"

उनले सातबुँदे समझदारीताका संविधान संशोधन आजको आवश्यकता भएकाले यही जगमा पुनःमूल्यांकन गरेर संशोधन गर्ने उल्लेख गरे । संविधान संशोधन गर्न राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)को सहभागिता आवश्यक रहेको भन्दै माओवादीबिना दुईतिहाइको गणित नपुग्ने बताए । संविधान संशोधन गर्नका निम्ति गणितीय रूपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा नरहेको पनि स्पष्ट पारे ।

उनले भने, "संविधान संशोधन गर्न निश्चय नै राष्ट्रियसभामा माओवादी पार्टीको सहभागिता भएन भने दुईतिहाइको गणित पुग्दैन । हामीले संविधान संशोधन गर्नका निम्ति गणितीय रूपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा हामी छैनौँ प्रधानमन्त्रीज्यू । प्रधानमन्त्रीज्यूले, हाम्रो पार्टीको सभापतिज्यूले हामी दुई मुख्य दलले सरकारमा रहेको बेला हामी मात्रै संविधान संशोधन गरेर जान्छौँ भनेर हामीले घोषणा गरेको होइन ।"

सरकारमा रहेका दुई राजनीतिक दलले सहमति र छलफल नगरी कसैलाई पनि संविधान संशोधनको मिति तोक्ने अधिकार नरहेको स्पष्ट पारे । महामन्त्री शर्माले सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर संविधान संशोधन गर्न जरुरी रहेको बताए । ०८७ मै संविधान संशोधन गर्ने भए पनि कांग्रेस र एमालेको छलफलपछि मात्रै भन्न पाउने बताए ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro