site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छविका वकिलको प्रश्न : हदम्याद सकिएपछि किन पूरक अभियोग ल्याइयो ?

पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका प्रतिवादीहरूमाथि जिल्ला अदालत कास्कीमा निरन्तर थुनछेक बहस भइरहेको छ ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी कसुरमा दायर भएको अभियोगपत्रमा प्रतिवादी बनाइएका सातजना कास्की प्रहरीको हिरासतमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, जीबी राईकी सहयोग लीला पछाई, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, सहकारीकी संस्थापक तदर्थ समिति अध्यक्ष एवं पूर्वप्रदेशसभा सदस्य मीना गुरुङ, उनका बुबा पूर्वउपाध्यक्ष कृष्णबहादुर गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ कास्की प्रहरीको हिरासतमा छन् ।

उनीहरूमध्ये शुक्रबार गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल र अधिवक्ता अपूर्व खतिवडाले बहस गरे । जोशीकै पक्षबाट आइतबार वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र रमण श्रेष्ठले बहस गर्नेछन् ।

Dabur Nepal
NIC Asia

बहसका क्रममा कानुन व्यवसायीले मूल अभियोग आएको लामो समयपछि पूरक अभियोग आएको र त्यसले हदम्याद नाघेको हुँदा दर्ता नै गर्न नमिल्ने बताए ।

एक अधिवक्ताका अनुसार जोशीका कानुन व्यवसायीले, “२०८० असोज १८ गते पहिलोपटक मूल अभियोगपत्र आयो, अनि यतिका समयपछि आएर अभियोगपत्र ल्याउनु हदम्यादले पनि मिल्दैन” भनेर बहस गरेका थिए ।

सहकारी ऐनअन्तर्गतको कसुरमा ९० दिनभित्र अदालतमा पूरक अभियोग पेस गरिसक्नु हदम्याद हुन्छ । त्यसकारण मुद्दा दायर नै नहुने तर्क कानुन व्यवसायीले गरे ।

त्यसबाहेक सहकारीबाट रकम गएको भनिएको गोर्खा मिडिया र नेचर हब्सलाई विपक्षी नबनाइएको विषय पनि उनीहरूले उठान गरे ।

न्यायाधीश नीतिज राईको इजलासमा भएको बहसमा उनीहरूले भने, “छविलाल जोशी सूर्यदर्शन सहकारीको सेयर सदस्य होइनन्, सञ्चालक होइनन्, बचतकर्ता पनि होइनन् । सूर्यदर्शनबाट गोर्खा मिडिया प्रा.लि. र नेचर हब्समा गएको छ भनिएको छ, यी कम्पनीलाई अभियोजन पक्षले प्रतिवादी बनाएको छैन । त्यसकारण छविलाई मागदाबी बमोजिम कसुर हुने होइन ।”

सहकारीबाट जुन कम्पनीमा रकम गएको हो, त्यसलाई अभियोजन पक्ष (सरकारी वकिलको कार्यालय)ले विपक्षी नबनाएको तर्क उनीहरूले गरे ।

सहकारी ठगी प्रकरणमा छविलाल जोशीले ऋण फारम पनि नभरेको, सहकारीको ऋण ल्याउने विषयमा कुनै निर्णय पनि नभएको हुँदा संलग्नता नदेखिने तर्क उनीहरूले राखे ।

शुक्रबार नै लीला पछाईंको तर्फबाट अधिवक्ता डा. गणेशबहादुर भट्टराइले बहस सुरु गरेका छन् । उनले पनि पछाईं सहकारीको कुनै पनि सेयर सदस्य, बचतकर्ता, सञ्चालक नभएको र संलग्नता नदेखिएको हुँदा मागदाबी बमोजिमको कसुर नहुने बताए ।

अधिवक्ता भट्टराईले पछाईं जीबी राईको सहयोगी मात्र रहेको दाबी गरे । राईले नै खातामा रकम जम्मा गरिदिएको र उक्त रकम कहाँबाट आयो भन्नेमा पछाईं अनभिज्ञ रहेको तर्क उनले गरे ।

“जीबी राईको सहयोगीको रूपमा भूमिका गरेको हो, जीबीले खातामा जम्मा गरिदिएको रकम सहकारीबाट आएको हो कि अन्यत्रबाट आएको हो, बोस भएको कारण रकम कताबाट आयो भनेर सोधिराख्ने विषय पनि होइन, थाहा हुने विषय पनि होइन,” उनले भने ।

शुक्रबार बहस नसकिएका कारण भट्टराईले आइतबार थप बहस गर्नेछन् ।

गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले ४४ जनाविरुद्ध अदालतमा अभियोगपत्र दर्ता गरेपछि ८ पुसबाट प्रतिवादीको बयान सुरु भएको थियो । एकसाताको बयान गत मंगलबार सकिएसँगै सोही दिनबाटै थुनछेक बहस जारी छ ।

अभियोगपत्रमा लामिछाने, जोशी र खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण, पछाईंलाई सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन ०५८ को अभियोग लगाइएको छ । अन्य तीन जनालाई सहकारीको रकम ठगीको अभियोग लगाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro