site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
के राष्ट्रपति भण्डारी एमाले राजनीतिमा फर्कने तयारीमा छन् ? 

काठमाडौं । नेकपा एकता होस् या विभाजन, नेकपा एमाले पार्टीको गुटको बैठक होस् वा एमालेको सिफारिसमा हुने नियुक्ति हरेक प्रसंगमा भित्रिरूपमा सक्रिय रहेको आरोप लाग्छ राष्ट्रपति विद्यादेवी भण्डारीलाई ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ‘दुई पाइलट’ केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी विभाजनअघि द्वन्द्व चर्किएका बेला एउटा समूहको गुट भेला नै शीतलनिवासमा हुने आरोप लाग्दै आएको थियो ।

प्रचण्ड निकट नेताहरू भन्छन्– विभाजनअघि राष्ट्रपतिले बोलाएर प्रचण्डलाई जनताको बहुदलीय जनवाद स्वीकार गर्ने हो भने एकल अध्यक्ष बनाउन आफूले पहल गर्ने प्रतिवद्धता राष्ट्रपतिले खोजेकी थिइन् । तर प्रचण्डले अस्वीकार गरे ।

Dabur Nepal

दुईपल्टका संसद् विघटन होस् या नयाँ सरकारका बेला भएको सपथ ग्रहण विवाददेखि नागरिकता विधेयक रोकिँदासम्मका राष्ट्रपति भण्डारीका कदमलाई नजिकबाट नियाल्नेहरु भन्छन्– राष्ट्रपतिमा सक्रिय राजनीतिको मोह कायमै छ । 

आफ्नो पूर्ववर्ती पार्टी नेकपा एमालेका हरेक गतिविधिमा राष्ट्रपतिको चासो छ । पदाधिकारी बनाउँदा होस् या टिकट वितरण गर्दा उनको सल्लाहबिना हुँदैन भन्ने आरोप उनीमाथि छ । 

झन् संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक संविधानको दायित्व समेत नहेरी रोकेपछि त उनलाई संसद्मा एमालेले राखेको मत बोकेको गम्भीर आरोप लागेको छ । 

संविधानको ‘म्यान्डेटरी’ व्यवस्था नै लागु नगरी त्यसबारे कुनै धारणा समेत सार्वजनिक नगरी रोकिदिएकी राष्ट्रपति भण्डारी सक्रिय राजनीतिको आकांक्षामा रहेको नेकपा एमालेकै नेताहरु पनि बताउँछन् ।

नेकपा एमालेका नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भनेर कतै पनि नलेखिएको भन्दै उहाँ राजनीतिक नेतृत्वमा आए अति उत्तम हुने बताएका छन् । 

बिहीबार साँझ उनले सार्वजनिक गरेको धारणाले राष्ट्रपतिमाथिको आशंकामा बल पुगेको छ ।  यसबारे बाँस्कोटालाई बाह्रखरीले प्रश्न गर्दा उनले आफूले भनेको कुरा असम्भव नभएको बताए । 

उनले प्रथम राष्ट्रपतिले आफ्नो पूर्वमान्यता नछोडेको उदाहारण प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी एमाले फर्किए सके सर्वसम्मत नभए ७० प्रतिशत बढीको समर्थनसहित नेतृत्वमा पुग्ने बताए । 

“राष्ट्रपतिले राजनीति गर्नु हुँदैन भनेर कहिँ पनि लेखिएको छैन । अहिलेसम्मका राष्ट्रपति चाहे रामवरण यादव हुन् वा विद्या भण्डारी दुवै राजनीतिक पृष्ठभूमिबाटै राष्ट्रपति भएका हुन्,” बाँस्कोटाले बाह्रखरीसँग भने, “एकमात्र पूर्वराष्ट्रपतिले आफ्नो मान्यता नछोडेको कुरा तपाईँ हामीले देखिरहेकै छौँ । कांग्रेसले बीपीको विचार छोड्यो टिकट बेच्यो भन्नु पनि राजनीति नै हो । अब वर्तमान राष्ट्रपति आफ्नो कार्यकाल सकेर राजनीतिक नेतृत्वमा फर्कनु हुन्छ भने त्यो अति उत्तम हुन्छ भन्ने मलाई लाग्छ ।” 

उनले विद्या भण्डारी एउटा सक्षम र ‘बोल्ड लेडी’ भएको भन्दै राजनीतिक नेतृत्वमा हुने गुण पनि उनमा देखिएको बताए । 

“उहाँ मोरङबाट विद्यार्थी राजनीति गर्दै आउनुभएको हो । अनेमसंघको अध्यक्ष हुनुभयो । वातावरण मन्त्री र रक्षामन्त्री बन्नुभयो । रक्षामन्त्री हुँदा पनि सेनाका आठ जर्नेलका विषयमा अडान लिएर राजनीतिक हस्तक्षेप रोक्नुभएको हो,” बाँस्कोटाले भने, “उहाँ महिला राष्ट्रपति भएर इतिहास रच्नुभयो । एमालेको अध्यक्ष हुनुभयो भने देशको कार्यकारी पनि भएर तीनवटा रेकर्ड राख्न सक्नुहुन्छ ।” 

बाँस्कोटाले अहिले संसद्ले आफ्नो सन्देशमा ध्यान नदिएपछि चट्टानझैँ अडिएर विधेयक अस्वीकृत गरेको पनि बताए । 

“संसद्मा उहाँले पठाएका चासो पनि हेर्नुभयो भने कति सान्दर्भिक थिए भनेर थाहा पाउनुहुन्छ । एउटी आमालाई बाबुको जानकारी छैन भनेर घोषणा गराउने कुरा त स्वाभाविक थिएन नि त्यस विषयमा उहाँले स्पष्ट कुरा राख्नुभएको छ,” बाँस्कोटाले भने, “यत्रो राज्य शक्तिको अगाडि उहाँ डग्नुभएन । विधेयक रोक्नुभयो ।” 

उनले आफूले राखेको धारणा एमालेसँग वा राष्ट्रपतिसँग सोधेर नराखेको भन्दै व्यक्तिगत भएको बताए । 

राजनीतिक विश्लेषक डा. विष्णु दाहाल त राष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्कने तयारी एक वर्ष अघिदेखि नै गरेको बताउँछन् । डा. दाहालको बुझाईमा राष्ट्रपति भण्डारीले ओली, प्रचण्ड र माधव नेपालसहितका नेताको मुटु छामिसकेपछि आफ्नो योजनामुताविक राजनीति अघि बढाएकी छन् । 

“राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन चाहहनुहुन्छ । उहाँले त्यसको आधार एक वर्ष अघिदेखि नै तयार पारिरहनुभएको छ,” डा. दाहालले बाह्रखरीसँग भने, “मानिसहरु चाइना कार्डमार्फत् कम्युनिष्ट पार्टी एक बनाएको श्रेय उहाँलाई दिन्छन् । तर, त्यो सत्य होइन । उनले ओली, प्रचण्ड र माधव नेपालका बीचमा खाडल सिर्जना गरेर एमालेलाई अलग राख्न भूमिका खेलेकी छन् । त्यसका लागि विदेशी कार्डको प्रयोग पनि भएको छ ।” 

राष्ट्रपतिले पूर्वराष्ट्रप्रमुख बन्नका लागि मात्र विवादित र जोखिमपूर्ण निर्णय नलिएको विश्लेषण गरे ।    

“सार्वभौम संसदले पारित गरेको विधेयक दुई–दुई पटक रोक्नु र सर्वोच्च संवैधानिक पदमा बसेका व्यक्ति विवादमा तानिन तयार हुँदा उहाँ विवादित पूर्वराष्ट्रप्रमुख मात्र बन्न चाहनुहुन्छ भन्ने अर्थ खोजियो भने त्यो अल्पबुझाई हुन्छ,” डा. दाहालले भने, “उहाँ राष्ट्रप्रमुख पदमा बसेर पनि त्यस्तो जोखिम किन उठाइरहनुभएको छ भने उहाँलाई सक्रिय राजनीतिको भोक मेटिएको छैन ।” 

दाहालको बुझाईमा राष्ट्रपति कार्यकाल सकेर वा बीचमै राजीनामा दिएर सक्रिय राजनीतिमा फर्कने सम्भावना बाँकी नै छ ।

एमाले नेता बाँस्कोटा भने राष्ट्रपति राजनीतिक नेतृत्वमा फर्कने विषयमा कुनै छलफल नभएको भन्दै फर्किएमा भने एमालेको सर्वसम्मत नेता हुन सक्ने बताउँछन् । 

उनले पार्टीमा पनि यसबारे छलफल नभएको भन्दै आफ्नो बुझाईमा ओलीपछि सर्वस्वीकार्य व्यक्ति नै भण्डारी भएको बताए ।

“केपी ओली हुँदा ओली नहुँदा उहाँजत्तिको सर्वसम्मत नेतृत्व एमालेमा अर्को छैन,” बाँस्कोटाले भने, “सतप्रतिशत त म भन्दिन कतिपयले विरोध जनाउँलान् । तर, उहाँ आउनुभयो भने ७५ प्रतिशत हाराहारी एमाले नेतालेले उहाँलाई नेतृत्वमा स्वीकार गर्छन् ।” 

उनले ओलीको दोस्रो कार्यकाल र उमेरका कारण पनि तेस्रो कार्यकाल नहुने भन्दै भण्डारी आए एमालेको नेतृत्व उनले नै गर्ने बताए । 

विश्लेषक दाहाल त भण्डारीसँग ओली पनि डराउने गरेको बताउँछन् । ०७४ सालको संघीय चुनावमा ५० प्रतिशत एमालेको टिकट भण्डारीकै सिफारिसअनुसार बाँडिएको भन्दै उनी एमालेमा अहिले पनि बलियो भएको बताउँछन् । 

“०७४ सालको संघीय चुनावमा एमालेले ५४ प्रतिशत सिट लिएको थियो । त्यसमध्ये २७ प्रतिशत सिट राष्ट्रपतिको सिफारिसअनुसार बाँडिएको थियो,” डा. दाहालले थपे, “राष्ट्रपति भण्डारी नागरिकता विधेयक रोकर राजीनामासहित सक्रिय राजनीतिमा फर्कने भन्दै हल्ला चलेको भोलिपल्ट ओलीले पार्टी बैठकबाट भावी प्रधानमन्त्रीका रुपमा आफ्नो नाममा निर्णय गराएर सार्वजनिक गरेका छन् ।” 

दाहालका अनुसार यो घटनाले ओली पनि भण्डारीसँग डराउँछन् भन्ने देखाउने बताए । 

विश्लेषक दाहालको भनाईसँग सोझै सहमत नभए पनि नेता बाँस्कोटा भण्डारीको धरातल एमालेमा बलियो भएको बताउँछन् । 

“पूर्वराष्ट्रपति यादवजस्तो बीपीको विचार बोक्ने होइन । अहिलेको एमालेले बोकेको विचार निर्माण गर्ने मदन भण्डारीको त उहाँ श्रीमती नै हो । उहाँमा परिवारको सदस्य भएको मात्र लिगेसी छैन । विद्यार्थी राजनीतिदेखि पार्टी राजनीतिको अनुभव छ । त्यो भन्दा ठूलो त राष्ट्रपति पनि सफल रुपमा चलाएको अनुभव छ,” बाँस्कोटाले भने, “उहाँ आफैँ राजनीतिमा आउँदिन भन्नुहुन्छ भने फरक कुरा यदि आउनुहुन्छ भने एमालेको नेतृत्व गर्न उहाँलाई कुनै कठिनाई छैन ।”

तर राष्ट्रपति नजिककाहरु भने यस विषयमा केही बोल्न चाहँदैनन् । उनी निकटका एक अधिकारीले आफूले त्यस्तो कुनै तयारीका सम्बन्धमा नसुनेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro