
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले निजामती सेवा विधेयकमा प्रस्तावित ‘कुलिङ पिरियड’को प्रावधान हटाउन सचिवहरूले धम्की दिएपछि सरकारले 'खुट्टा कमाएको' आरोप लगाएका छन् । तर, सरकार पछि हट्न नहुने उनको भनाइ छ ।
"केही कर्मचारीहरूले संघीय निजामती विधेयकमा प्रस्ताव गरिएको कुलिङ पिरियड खारेज गराउन संयुक्त राजीनामा दिन्छौँ भनेर धम्कीपूर्ण व्यवहार गर्दै यो विधेयक ल्याउनका लागि रोकावट भइरहेको कुरा मैले सुनेको छु । सभामुख महोदय, सरकारले खुट्टा नकमाओस्, तुरुन्त ल्याओस्," उनले बिहीबार प्रतिनिधिसभा बैठकमा भने ।
उनले २५ जना सचिवले राजीनामा दिए नयाँ सहसचिवले काम पाउने पनि बताए । "धम्कीको भरमा यस्ता नीति निर्माण गर्न दिनुहुन्न," उनले भने ।
निजामती सेवा विधेयकमा सरकारी कर्मचारीको हकमा अवकाशपछि दुई वर्षको ‘कुलिङ पिरियड’ लागु हुने प्रावधान राखिएको छ । जसअनुसार राजीनामा वा अवकाशपछि सरकारी कर्मचारीले दुई वर्षसम्म संवैधानिक वा अन्य नियुक्त पाउँदैनन् ।