site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पम्प स्टोरेज आयोजना अघि बढाउँदै प्राधिकरण, ३३४ मेगावाट स्यार्पु दहको अध्ययन सुरु

काठमाडौं । सरकार स्वामित्वको नेपाल विद्युत  प्राधिकरणले बिजुलीको माग र आपूर्तिको व्यवस्थापन गर्न पम्प स्टोरेज आयोजना अघि बढाउन लागेको छ । अधिकाँश आयोजना नदी प्रवाही (रन अफ दी रिभर) प्रकृतिका भएकाले सुक्खायाममा विद्युत आपूर्ति व्यवस्थापन जटिल बनेका बेला विद्युत प्राधिकरण विभिन्न स्थानमा पम्प स्टोेरेज परियोजनाको प्रारम्भीक काम अघि बढाएको हो । 

विद्युत प्राधिकरणले रुकुम पश्चिमस्थित बाफिकोट गाउँपालिकामा रहेको स्यार्पु दहमा  ३३४ मेगावाटको पम्प स्टोरेज आयोजनाको संभाव्यता अध्ययन गरिरहेको छ । संभाव्यता अध्ययनसँगै विद्युत प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम अघि बढाएको छ । इआइएका लागि क्षेत्र निर्धारण गर्न लागेको छ । 

स्यार्पु दहमा जम्मा भएको पानी उपयोग गरी ऊर्जाको उच्च माग भएको समयमा दैनिक छ घण्टासम्म बिजुली उत्पादन गर्ने योजना प्राधिकरणको छ । स्यार्पुदहमा पानीको सतह थप सात मिटर बढाइ भौगोलिक अवस्थाअनुसार साढे आठ मिटरदेखि १५ मिटर अग्लो र पाँच सय मिटर लामो निर्माण गरिने भएको छ । बाँध बनेपछि स्यार्पु दहमा ३२ लाख घनमिटर पानी भण्डारण हुने प्राधिकरणले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसरी भण्डारण भएको पानीलाई १.१७ किलोमिटर लामो सुरुङमार्फत बाफिकोट गाउँपालिका वडा नम्बर चार डार्ने खोलाको दायाँ किनारमा प्रस्तावित भूमिगत विद्युतगृहमा खसालेर ३३४ मेगावाट बिजुली उत्पादन गर्ने जानकारी प्राधिकरणले दिएको छ । 

विद्युत उत्पादनपछि निस्किएको पानीलाई ३५० मिटर लामो टेलरेसमार्फत सोही गाउँपालिकाको वडा नम्बर ३ र ४ स्थित रिमानीमा ७३ मिटर अग्लो तथा ३५० मिटर लामो बाँध संरचना बनाएर ४९ लाख घनमिटर पानी भण्डारण गर्ने योजना रहेको छ । 

विद्युतको माग कम भएको समयमा भण्डारण गरिएको पानीलाई १.१७ किलोमिटर लामो सोही सु्रुङमार्फत पम्प गरी पुनः स्यार्पु दहमा तानिने भएको छ ।  प्रस्तावित पम्प स्टोरेज आयोजनामा दुईवटा टर्वाइन जडान गरिनेछ । आयोजनाको डिजाइन वहाव १४७.६ घनमिटर हुने प्राधिकरणले जानकारी दिएको छ । 

विद्युत प्राधिकरणको आयोजना विकास विभागले मुलुकभर १५६ पम्प स्टोरेज आयोजना पहिचान गरेको छ । स्यार्पु दहका साथै ६७० मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाले पनि २०० मेगावाटको पम्प स्टोरेजबाट बिजुली उत्पादन गर्न अहिले अध्ययन गरिरहेको छ । धादिङको बेनिघाट रोराङ र चितवनको इच्छाकामना गाउँपालिकाको हुग्दी र मोवा खोलामा करिब १५९६ मेगावाटको हुलिङटार–दुकिमपम्प स्टोरेज आयोजनाको सम्भाव्यता अध्ययन हुन लागेको छ  । हुग्दी माथिल्लो र मोवा तल्लो क्षेत्रमा ४५ र १०३ मिटर अग्लो बाँध बनाई दुई जलाशय निर्माण गर्ने योजना प्राधिकरणको छ । बिजुली उत्पादनपछि मोवाखोलामा पानी खसालिनेछ ।

तल्लो जलाशयमा जम्मा भएको पानीलाई पम्प गरी पुनः हुग्दी खोला माथिल्लो जलाशयमा खसालिने प्राधिकरणले जानकारी दिएको छ । आयोजनालाई ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने गरी डिजाइन प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ ।

पम्प स्टोरेजमा न्यून माग भएको समयमा पानीलाई पम्पले तानेर नदीको माथिल्लो भागमा बनाइएको जलाशयमा जम्मा गरिन्छ । पानीलाई सुक्खायाममा भएको बढी मूल्य भएको समयमा प्रयोग गरी बिजुली उत्पादन गरिन्छ । ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजनालाई महत्वपूर्ण मानिन्छ । 

प्राधिकरणले  कास्कीको पोखरा महानगरस्थित बेगनास तालमा पम्प स्टोरेज आयोजना बनाउन सम्भाब्यता अध्ययन गरिरहेको छ । अब कुलेखानी जलविद्युत आयोजनामा पनि एक सय मेगावाटको पम्प स्टोरेज आयोजना बनाउन प्राधिकरण लागका छ ।

प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनमा बेगनासको पानी रुपा तालमा खसालेर एक सयदेखि तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने देखिएको थियो ।

जापानी सहयोग नियोग (जाइका)ले गरेको अध्ययनले पिक आवरमा १५० मेगावाटसम्म बिजुली उत्पादन गर्न सकिने देखाएको छ । बेगनास र रुपा तालबीचको ५७ मिटर प्राकृतिक हेडलाई प्रयोग गरी विद्युत उत्पादन गर्ने योजना छ । रुपामा खसालिएको पानी पुनः बेगनासमा फर्काइने छ । आयोजनाको लागत १३ करोड डलर अनुमान गरिएको छ ।

कुलेखानीमा प्रस्तावित पम्प स्टोरेज आयोजनाबारे प्राधिकरणले एनईए इन्जिनियरिङ लिमिटेडले प्रारिम्भिक अध्ययन गरेको थियो ।

अहिले कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी कूल १०५ मेगावाट बिजुली उत्पादन क्षमता छ । कुलेखानी जलासयलाई नेपालको ऊर्जा प्रणालीको ब्याट्री भनिन्छ । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्