site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एकै प्रकृतिको सहकारीको सदस्य अरुमा हुन नपाउने, नियमन प्राधिकरणले गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी गरिँदै ।

काठमाडौं । सहकारी नियमनका लागि अब राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेको अध्यादेश राजपत्रमा जारी भएसँगै अब सहकारी प्राधिकरण गठन गर्ने बाटो खुलेको हो । सहकारी नियमन प्राधिकरण स्वशासित, स्वायत्त र संगठित संस्था हुनेछ ।

प्राधिकरणमा अर्थशास्त्र वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तिमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी कम्तीमा राजपत्रांकित प्रथम श्रेणी वा सो सरहमा कार्य गरेको अध्यक्ष रहनेछ । सदस्यमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, सहकारी मन्त्रालयको सहकारी क्षेत्र हेर्नै सहसचिव, नेपाल सरकारले नियुक्त गर्ने १० वर्ष कार्य गरेको एकजना विज्ञ र चार्टर्ड एकाउन्टेन्ट रहनेछन् । सदस्य सचिव भने प्राधिकणको वरिष्ठ कर्मचारी हुने व्यवस्था गरिएको छ ।

Argakhachi Cement Island Ad

अध्यादेशमार्फत सहकारी ऐन, २०७४ मा संशोधन गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था प्राधिकरणले निर्धारण गरेको मापदण्ड बमोजिम स्थानीय तहमा मात्र दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई संघ, प्रदेश र स्थानीय गरी तीन तहमा वर्गीकरण गरिने भएको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी यो अध्यादेश जारी भएको एक वर्षभित्र प्राधिकरण वा तोकिएको निकायमा दर्ता हुनु पर्नेछ ।

एकै प्रकृतिको एकभन्दा बढी सहकारी संस्थामा सदस्य हुन नपाउने व्यवस्था गरिएको छ । एकै प्रकृतिको एकभन्दा बढी संस्थामा सदस्य भएकाहरूले एक वर्षभित्र कुनै एक संस्थाको सदस्यता कायम राख्नुपर्नेछ ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी अवधिको लागि निर्वाचित हुन र बहाल रहन नपाउने व्यवस्था गरिएको छ । अब व्यक्तिगत बचतमा पनि सीमा निर्धारण गरिएको छ । एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएको बचत तथा ऋण सहकारीमा ५० लाख रुपैयाँ, एक जिल्लाभन्दा बढी कार्यक्षेत्र रहेको सहकारीमा २५ लाख रुपैयाँ र बढीमा एक जिल्ला भित्र कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीमा १० लाख रुपैयाँ बचत गर्न पाइने भएको छ । हाल यो सीमाभन्दा बढी बचतभएकाहरुले दुई वर्षभित्र सीमाभित्र ल्याउनुपर्नेछ ।

त्यसैगरी सहकारीका बचत गर्ने सदस्यले १० लाख रुपैयाँभन्दा बढीको अनिवार्य स्रोत खुलाउनुपर्नेछ । बचत तथा ऋणको कारोबार गर्ने सहकारीले अब कर्जा सूचना केन्द्रको सदस्यता लिनुपर्नेछ । कर्ज सूचना केन्द्रको सदस्यता लिएर बचत तथा ऋण कारोबारको सूचना आदान प्रदान गर्नुपर्नेछ ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  २२:४५
प्रतिक्रिया दिनुहोस्