काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देहीको सियारी गाउँपालिका–४ स्थित श्री पब्लिक सेकेन्डरी स्कुलमा नयाँ पुस्तकालय भवनको उद्घाटन गरेको छ । विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउन र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकको सहयोगमा पुस्तकालय निर्माण गरिएको हो ।
एक समारोहमा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, एनआईसी एसिया बैंक लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्की र अन्य विद्यालय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उक्त पुस्तकालय भवनले विद्यालयका झन्डै दुई हजार ७०० विद्यार्थी र शिक्षक–शिक्षिकालाई प्रत्यक्ष लाभ मिल्ने जनाइएको छ ।
यसअघि, बैंकले नेपालका विभिन्न स्थानहरूमा पुस्तकालय भवनहरूको निर्माण कार्य सम्पन्न गरिसकेको छ । बैंकले मधेस, गण्डकी, सुदूरपश्चिम र कोसी प्रदेशका विभिन्न विद्यालयहरूमा पनि पुस्तकालय भवनहरूको निर्माण गरेर हस्तान्तरण गरिएको थियो ।
बैंकले कुल दुई करोड पाँच लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गर्दै पुस्तकालय भवनहरू निर्माण गरेको हो । यस पहलमार्फत् ११ हजारभन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष लाभ लिनेछन् र शैक्षिकस्तरमा सुधार ल्याउन ठूलो योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।