site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सहकारी ठगीका आरोपित : कहाँ छिन् लेखा समिति सभापतिकी पत्नी ? 

विराटनगर । संघीय सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमतीको समेत नाम जोडिएको उमागौरी सहकारी संस्थाको साइनबोर्ड उखेलेर फ्याँकिएको छ ।

सहकारी संस्थाको रकम अपचलन र ठगीमा जोडिएका सञ्चालक समितिका अध्यक्ष शम्भु रौनियार, लेखा समितिका सभापतिपत्नी अञ्जला कोइरालासहित पदाधिकारी र सदस्य गरी २५ जना फरार छन् । मोरङ जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।

मोरङको धनपालथान गाउँपालिका कर्सिया बजारस्थित उक्त सहकारीको कार्यालयबाट बोर्ड निकालिएको छ । अनुसन्धानमा सहयोग नगरेको भन्दै केही दिनअघि प्रहरीले कार्यालयबाट महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

Dabur Nepal
NIC Asia

सहकारीको बोर्ड हटाइएको पाएको स्थानीय नारायण खनालले जानकारी दिए । उनले भने, “मुद्दामामिला चल्न थालेपछि कार्यालय त बन्द नै थियो । त्यसअघि नै फरार भएका सञ्चालकहरूले बोर्ड समेत मिल्काएछन् ।”

खनालले आफ्नो रकम समेत उक्त सहकारीमा फसेको बताए । आफूजस्ता धेरै सर्वसाधारणको रकम डुबेको उनले सुनाए ।

उमागौरी सहकारीको कार्यालय कर्सिया बजारस्थित एउटा सर्टरमा राखिएको थियो । हाल सहकारीको कार्यालय बन्द छ । सञ्चालक ठगीमा जोडिएको तथ्य सार्वजनिक भएसँगै कर्मचारी कार्यालयमा ताला लगाएर हिँडेका थिए ।

सहकारी ठगी प्रकरणमा आरोपितविरुद्ध मोरङ जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।

कहाँ छिन् अञ्जला कोइराला ?
अञ्जला कोइराला प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी हुन् । अञ्जालसहितका आरोपितको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

नेकपा (एमाले)का नेता तथा संघीय सांसद पोखरेलले अञ्जला निर्दोष रहेको जिकिर गर्दै आएका थिए । उनले आफ्नी पत्नी विराटनगरस्थित घरमै रहेको केही दिनअघि एउटा सञ्चारमाध्यमलाई बताएका थिए । अञ्जलालाई सहकारीमा ऋण लगानी गरेको आरएसडीसी लघुवित्त संस्थाले कालोसूचीमा राखेको छ ।

अञ्जला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा पर्नसाथ उनले ०७८ माघ ५ गते पदबाट राजीनामा दिएकी थिइन् ।

उनी विराटनगरस्थित महेन्द्र रात्रि माध्यमिक विद्यालयकी शिक्षक पनि हुन् । पछिल्लोपटक उनले विद्यालयमा पाँच दिनका निम्ति बिदा लेखेकी थिइन् । त्यसपछि उनलाई बाहिर कतै सार्वजनिक रूपमा देखिएको छैन ।

अञ्जलाको बिदा थप गरिदिन भन्दै पोखरेलले केही दिनअघि प्रधानाध्यापकलाई टेलिफोन गरेका थिए । अञ्जलाले भइपरी आउने बिदा दिलाइदिन भन्दै केहीअघि विद्यालयसँग आग्रह गरेकी थिइन् ।

उनले शिक्षणबापत सरकारी विद्यालयबाट मासिक तलब बुझ्दै आएकी छन् । विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाको अभिलेखमा उनले तलब बुझेको विवरण देखिन्छ । ३५ दिने समय कटाएर अदालतमा उपस्थित हुने मनसायसाथ उनी लुकेर बसेको हुन सक्ने सहकारीपीडितको अनुमान छ ।

सांसद पोखरेलकै अगुवाइमा उमागौरी सहकारी खोलिएको थियो । त्यसमा उनले श्रीमतीलाई सञ्चालक बनाए । सहकारी ठगी प्रकरणपछि कोसी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले अनुसन्धान गरेको थियो । उक्त कार्यालयले अञ्जलाको नाम हटाएर प्रतिवेदन बनाएको थियो । तर, पछि प्राप्त कागजात र पीडितको उजुरीका आधारमा प्रहरी अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि मुद्दामा प्रतिवादी बनाइएको छ ।

महिला उद्यमशील कर्जाका नाममा सदस्यको कागजात संकलन गरी सहकारीका पदाधिकारी र सञ्चालकले नबिल बैंकबाट ऋण निकालेका देखिएको छ । थोरै सदस्यलाई मात्र त्यो ऋण प्रवाह गरी बाँकी रकम सञ्चालकले आफैँ प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ऋणीबाट सहकारीमा प्राप्त किस्ताबापतको रकम समेत बैंकमा दाखिला नगरेको देखिएको छ ।

उमागौरीमा २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको दाबीसहित अदालतमा अभियोगपत्र दायर गरिएको छ । प्रतिवादीलाई बिगो कायम गरी ६ देखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदाबी अभियोगपत्रमा छ ।

सहकारीसम्बद्ध २६ जनाविरुद्ध गएको मंसिर २७ गते मुद्दा दायर गरिएको थियो । मंसिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका एक सञ्चालक सदस्य रोशन राजवंशीलाई पुर्पक्षका निम्ति थुनामा पठाइसकेको छ । उनी धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष हुन् ।

यो प्रकरणमा सहकारी रजिस्ट्रार कार्यालयले प्रतिवेदन दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro